सरकारबारे गगनको गुनासो- तीन महिनाजति प्रधानमन्त्री र मन्त्रीहरूको अनुहार नै देख्न नपरे हुन्थ्यो (भिडिओ) – Nepal Press

सरकारबारे गगनको गुनासो- तीन महिनाजति प्रधानमन्त्री र मन्त्रीहरूको अनुहार नै देख्न नपरे हुन्थ्यो (भिडिओ)

अर्थतन्त्रबारे एमालेसँग छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई देशको अर्थतन्त्र विषयमा एमालेसँग पनि छलफल गर्न आग्रह गरेका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अप्ठ्यारो परेको बेलामा सबै मिलेर काम गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीलाई आग्रह गर्दै भने, ‘कांग्रेस, माओवादी समाजवादी गठबन्धनमा रहेका दलमात्रै होइन । यहाँ प्रमुख प्रतिपक्षी दलसँग पनि अप्ठ्यारो बेलामा यसरी जाऔं भनेर छलफल गरौं । स्थानीय सरकार त एमालेको पनि छ नि । कतिपय प्रदेशमा हामी सँगै मिलेर काम गर्नुपर्नेछ । त्यसैले प्रमुख प्रतिपक्ष दलसँग पनि बसेर छलफल गर्नुपर्छ ।’

सरकारले सबै पार्टीसँग समन्वय गर्नुपर्ने बेलामा सरकार र राष्ट्र बैंकको सम्बन्ध पनि एकअर्काको परिपूरक हुनुपर्ने उनले बताए ।

गगनले अहिले प्रधानमन्त्री र मन्त्रीहरूको फोटो समाचारमा आउँदा पनि नरमाइलो लाग्ने बताए । तीन महिना सरकारमा रहेकाले आर्थिक अवस्था सुधारमा गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरूको समाचार आयो भने नराम्रो नरमाइलो लाग्छ । फुर्सद कसरी पाउनुभयो । प्रधानमन्त्री र मन्त्रीले त यो बेलामा फोटो खिच्नु पनि पर्दैन । तीन महिनाजति प्रधानमन्त्री र मन्त्रीहरूको कहीँ टेलिभिजन र अनलाइनमा अनुहारै देख्न नपाए हुन्थ्यो । त्यो भनेको नराम्रो सेन्समा होइन ।’

उनले अब देशको पाँच वर्ष कांग्रेसको काँधमा रहेको सबैलाई एकजुट भएर गम्भीर रूपमा लाग्नुपर्ने बताए ।

थापाले भने, ‘सबैतिर अहिले हाम्रो सरकार छ । त्यसैले दोष देखाउन मिल्दैन । अहिले हामीसँग भएको सोच र योजनालाई अगाडि बढाउन सक्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर