हर्क साम्पाङले बालेनलाई लगाइ दिएको ‘सिलाम साक्मा’ के हो ? – Nepal Press

हर्क साम्पाङले बालेनलाई लगाइ दिएको ‘सिलाम साक्मा’ के हो ?

काठमाडौं । धरानको स्वतन्त्र मेयर भएपछि काठमाडौं पहिलोपटक आउँदा हर्क साम्पाङले काठमाडौंमा जताततै फोहोर भएको टिप्पणी गरेका थिए ।

२०७९ सावन २९ मा आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै हर्कले लेखेका थिए, ‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारमा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भएपनि धरानै सफा लागो । प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’

बालेनलाई स्वतन्त्र मेयर नै जिताएको काठमाडौंमा बालेन-हर्क भेट भएन । धरान पुगेर भदौ १ गते हर्कले बालेनलाई आलोचना गर्ने पोस्ट गरे । उनले लेखे, ‘जसले जो भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ । कमसे कम काम त सुरु गरे ।’

यो पोस्टमा चैँ बालेनले हर्कलाई व्यङ्ग्य गरेर प्रतिक्रिया दिए । उनले लेखे, ‘हो नि तपाईंकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि जितेको हो नि ।’
बालेनको टिप्पणीपछि हर्क ज्यादै जंगिए । उनले तारकातार आलोचना बालेनतर्फ सोझ्याउन थाले । एक युट्युब च्यानललाई त उनले ‘को हो बालेन चिन्दिनँ म त’ सम्म भन्न भ्याए ।

बालेनलाई आलोचना गरेका हर्क अहिले भने उनीसँग नजिकिएका छन् । मंगलबार उनले बालेनलाई ‘सिलाम साक्मा’ दिएका छन् । पूर्वी नेपालका लिम्बु जातिको मौलिक सांस्कृतिक बिम्ब सिलाम साक्मा बालेनलाई लाइदिएर हर्कले मित्रता मात्रै प्रस्तुत गरेनन्, पूर्वि नेपालको सांस्कृतिक ब्राण्ड सिलाम साक्माको महत्व पनि प्रस्तुत गरे ।

बालेनले सिलाम साक्माको तस्बिर राखेर सिलाम साक्माको बिम्ब जोडेर पोस्ट नै गरेका छन् । उनले लेखेका छन्, ‘सिलाम साक्माले मृत्युको बाटो छेकेझैँ, नेपालको विकासको बाटो कसैले छेक्न नसकोस् ।’

सिलाम साक्मा एक आपसमा लाइदिएको तस्बिर सामाजिक संजालमा राखेका हर्कले भने सिलाम साक्मा बारेमा केही लेखेका छैनन् । तर, पहिलो भेट भएको भन्दै लेखेका छन्, ‘आज बालेन शाह ज्यूसँग पहिलो भेट भयो । रमाइलो भयो कुराकानी ।’

के हो ‘सिलाम साक्मा’ ?

सिलाम साक्मा लिम्बु समुदायको मौलिक सांस्कृतिक बिम्ब हो । ठूलो विपत्बाट जोगाएको एक मिथक र त्यो मिथकसँग जोडिएका विभिन्न कथाहरुसँग सिलाम साम्माको प्रयोगको सांस्कृतिक तथा ऐतिहासिक जरा जोडिन्छ ।

यो तीनवटा लिम्बु भाषाको शब्द मिलेर बनेको छ । सिलाम साक्मामा ‘सि’को अर्थ मृत्यु हुन्छ भने ‘लाम्’को अर्थ बाटो हुन्छ । ‘साक्मा’ भन्नुले छेक्नु, थुन्नु वा रोक्नुको अर्थ बुझाँउछ ।

यसरी समग्रमा मृत्यु छेक्ने बाटोको रुपमा सिलाम साक्मालाई लिम्बुहरुले प्रयोग गर्ने गर्छन् । लिम्बु समुदायको सांस्कृतिक अनुष्ठानहरुदेखि विभिन्न सामाजिक पर्वहरुमा सिलाम साक्मा प्रयोग हुन्छ ।

पछिल्लो समयमा विभिन्न गैरलिम्बुका औपचारिक कार्यक्रमहरुमा समेत सिलाम साक्मा प्रयोग गर्ने गरिएको छ । टिसर्ट छापेर, छातीमा ब्याचको रुपमा वा घरमा तस्बिरको रुपमा फ्रेममा राखेर पनि सिलाम साक्मा प्रयोग हुने गरेको छ । बाँसलाई खिपेर मौलिक सिलाम साक्मा बनाउने गरिन्छ । धागोेको सिलाम साक्मा पनि प्रयोग हुन्छ ।

सिलाम साक्मा बनाउने तेह्रथुमकी ढाका तथा फेसन डिजाइनर मनिषा लिम्बु सिलाम साक्मा बनाउन सात वा नौ वटा बिजोर रंग प्रयोग हुने बताउँछिन् । कालो रंग भने प्रयोगको प्रचलन नभएको उनी बताउँछिन् । सिलाम साक्मा हातले नै बनाउने गरिन्छ ।

मसिनबाट बनाउने चलन सुरु नभएको वा सिलाम साक्मा बनाउने मसिन अहिलेसम्म नभएको मनिषाको अनुभव छ । लिम्बु संस्कृतिका जानकारहरु पहिला पहिला सिलाम साक्माहरु बन्दा धातु र छालाको बन्ने बताउँछन् ।

सिलाम साक्मालाई गैर लिम्बुले पनि प्रयोग बढाएको बताउँछिन् गीतकार मीना सिंघक । कमेडी च्याम्पियनका समुन कोइरालादेखि भरतमणी पौडेल लगायतले समेत सार्वजनिक कार्यक्रममा सिलाम साक्मा लाएका थिए ।

गायक प्रमोद खरेलदेखि महानायक राजेश हमाल समेत सिलाम साक्मामा सजिएर विभिन्न समारोहरुमा ढाँटिएका तस्बिरहरु यत्रतत्र छन् । केही समय अगाडि भारतका चर्चित सद्गुरुलाई नायिका माल्भिका सुब्बाले सिलाम साक्माको बारेमा चर्चा गरेकी थिइन् । कतिपय भारतीय रियालिटी सोहरुमा पनि सिलाम साक्मा प्रयोग भएका छन् ।

लिम्बु समुदाय देखी गैर लिम्बु समुदाय सबैले मान्दै आएको र लाउँदै आएको सिलाम साक्मालाई पछिल्लो समयमा युनेस्कोको ‘इन्टेन्जिबल कल्चरल हेरिटेज’मा सूचिकृत गर्ने मुद्धा पनि सतहमा आएको छ । मानवशास्त्री तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डम्बर चेम्जोङले सिलाम साक्मालाई युनेस्कोको सूचीमा लान आवस्यक रहेको बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *