आत्मसमर्पण गर्न न्यूयोर्क पुगे ट्रम्प, फौजदारी मुद्दालाई चुनावी अभियानमा परिणत गर्ने प्रयास – Nepal Press

आत्मसमर्पण गर्न न्यूयोर्क पुगे ट्रम्प, फौजदारी मुद्दालाई चुनावी अभियानमा परिणत गर्ने प्रयास

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प न्यूयोर्क पुगेका छन् । पोर्नस्टार स्टर्मी डेनियलसँगको अफेयर र त्यसपछि उनलाई मौन बसाउन पैसा दिएको भन्ने मुद्दामा अदालतमा पेश हुन उनी न्यूयोर्क पुगेका हुन् ।

ट्रम्प मध्याह्न १२ः२० मा फ्लोरिडास्थित आफ्नो मार-ए-लागो घरबाट निस्किएर निजी जेटमार्फत न्यूयोर्कको ट्रम्प टावरमा पुगेको जनाइएको छ । मुद्दाको कारण फेरि चर्चामा आएका ट्रम्पले आफूविरुद्दको मुद्दालाई चुनावी अभियानको रुपमा प्रयोग गर्ने प्रयास गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

न्यूयोर्क निस्किनु अघि ट्रम्पले आफ्नो सामाजिक संजालमा आफ्ना समर्थकहरुलाई अमेरिका पूर्ण फिर्ता लिई यसलाई फेरि महान बनाउन पर्ने बताउँदै राष्ट्रपतिको चुनावी अभियानमा पैसा दान गर्नसमेत आग्रह गरेका थिए । ट्रम्पको फ्लोरिडास्थित घरदेखि न्यूयोर्क सम्मको यात्रालाई अमेरिकाका धेरै संचारमाध्यमहरु प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।

जसका कारण पनि यस मुद्दाले ट्रम्पको चुनावी अभियानमा सहयोग पुग्न सक्ने आकँलन गरिएको छ । संचार माध्यम बीबीसीका अनुसार उनले चुनावलाई मध्यनजर गर्दै अदालती प्रक्रियामा मुस्कुराउने, उदास देखिने वा गम्भीर, कस्तो देखिने भनेर समेत आफ्ना सल्लाहकारहरूसँग छलफल गरेको सम्भावना रहेको छ । म्यानहट्टन अदालतमा सुनुवाइको क्रममा भने भिडिओग्राफीमा प्रतिबन्ध लगाइएको छ ।

स्टिल फोटोग्राफरहरूको पाँच समूहलाई कार्यवाही सुरु हुनु अघि केही मिनेटको लागि फोटो खिच्न अनुमति दिइने रिपोर्टमा उल्लेख छ । अमेरिकाकी इतिहासमा कोही पूर्वराष्ट्रपतिलाइ अपराधिक मुद्दामा सुनुवाई हुन लागेको यो पहिलो पटक हो ।

उनीविरुद्द लाग्ने वास्तविक आरोपको जानकारी सार्वजनिक नभईसकेतापनि उनलाई सन् २०१६ को राष्ट्रपतीय चुनावअघि पोर्न स्टारसँगको अफेयर र यसबारे चुप बस्न पोर्न स्टार स्ट्रोमी डेनियल्सलाई एक लाख ३० हजार डलर दिएको विषयमा केन्द्रित रहेर आरोप लाग्ने जनाइएको छ । ट्रम्पले भने आफूमाथि लगाइएका आरोपलाई खण्डन गर्दै आफूविरुद्धको मुद्दालाई ‘राजनीतिक अभियोजन’को संज्ञा दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *