मिटरब्याज पीडितलाई घर फर्किन सरकारको आग्रह – Nepal Press

मिटरब्याज पीडितलाई घर फर्किन सरकारको आग्रह

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा निर्मलपोखरी-९ कास्कीका लीलानाथ भण्डारी नियुक्त भएका छन् । चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

सिंहदरबारमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री शर्माले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.सेनेन्द्रराज उप्रेतीले दिएको राजीनामासमेत बैठकले स्वीकृत गरेको बताइन् ।

चैत १० गतेकै बैठकले देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा देवघाट गाउँपालिका-३ तनहुँका भीमबहादुर रानालाई तोक्ने निर्णय गरेको छ । समितिको सदस्यमा निननाथ न्यौपाने, सानबहादुर दमै, रत्नलाल शर्मा, मोतीराम ढुंगाना, हरिप्रसाद पौडेल, प्रेमराज सापकोटालाई मनोनयन गर्ने चैत १४ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

सोही बैठकले नेपाल दूरसञ्चार प्राधिकरणका कानून सदस्यमा कृष्णप्रसाद पोख्रेललाई नियुक्त गर्ने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी गराइन् ।

उक्त अवसरमा उनले सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन भइसकेकाले अब घर फर्किन मिटरब्याज पीडितलाई आग्रह गरिन् । गत शनिबार मिटरब्याज पीडितको एक समूहसँग पाँच बुँदे सम्झौता भएको दुई दिनपछि नै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं आएर आन्दोलनमा रहेका बेला उनले यस्तो आग्रह गरेकी हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज पीडितको समस्या समाधान गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर