गौशाला-२६ को जन्ममिति गञ्जागोल: उमेर घटाएर बनाइएको थियो नागरिकता (सप्रमाण) – Nepal Press
विशेष रिपाेर्ट

गौशाला-२६ को जन्ममिति गञ्जागोल: उमेर घटाएर बनाइएको थियो नागरिकता (सप्रमाण)

बुवा भन्छन्- छोरीले मसित सल्लाह नगरी मुद्दा हाली, जन्ममितिबारे कन्फ्युज्ड छु

काठमाडौं । सुरुमा यो प्रस्ट पारौं कि सन्दीप लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता ‘गौशाला-२६’ (प्रहरीले दिएको नाम) को उमेर पहिलो प्रश्न होइन । यदि गौशाला-२६को सहमतिविना जबरजस्ती यौन सम्बन्ध राखेको अर्थात् बलात्कार गरेको ठहरिए उमेरको प्रश्न गौण हुन्छ । र, यदि उनीहरुबीच यौन सम्बन्ध रहेको प्रमाणित नै भएन भने जाहेरीकर्ताको उमेर जति भए पनि सन्दीपले सफाइ पाउन सक्छन् ।

तर, यदि उनीहरुबीच सहमतिमा यौन सम्बन्ध रहेको देखियो भने चाहिँ मुद्दाको फैसलामा गौशाला-२६ को उमेर निर्णायक बन्नसक्छ । घटना हुँदा यदि उनी नाबालिग (१८ वर्षभन्दा कम) थिइन् भने सन्दीपमाथि बलात्कारको कसुरमा सजाय हुन्छ । यदि बालिग (१८ वर्षभन्दा माथि) थिइन् भने सन्दीप निर्दोष ठहरिन सक्छन् । उमेरमा एक वर्षमात्र होइन, एक दिनकै तलमाथिले पनि फैसलामा उलटफेर ल्याउनसक्छ । कानून यस्तै छ ।

सन्दीपको मुद्दामा यसअघि सर्वोच्च अदालतले गरेको फैसलाले केही संकेत गरेको छ । सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशमाथि दुवै पक्षले सर्वोच्चमा पुनरावेदन गरेका थिए । त्यसको फैसलामा अदालतले जेजस्ता तथ्यहरु प्रस्तुत गरेको छ, त्यसले उनीहरुबीच सबै कुरा आपसी सहमतिमा भएको इंगित गर्छ । त्यही भएर यो मुद्दामा जाहेरीकर्ताको उमेर प्रधान प्रश्न भएको हो ।

यो आलेखमा हामी गौशाला-२६ को उमेरसँग सम्बन्धित हामीलाई विभिन्न स्रोतबाट प्राप्त भएका केही सरकारी कागजातहरुको विश्लेषण गर्नेछौं । तर, अदालतमा मुद्दा विचाराधीन रहेकाले ती कागजातहरु जस्ताको तस्तै प्रकाशित गर्न हामी समर्थ छैनौं । समाचारको प्रमाणिकताका लागि केही अंशहरु मात्र राखिएको छ । साथै, घटनाको वास्तविकता यही नै हो भनेर हामी कुनै ठोकुवा पनि गर्न गइरहेका छैनौं । त्यो काम अदालत र न्यायाधीशहरुको हो ।

कुनै पनि व्यक्तिको उमेर जनाउने सरकारी कागजात भनेका उसको नागरिकताको प्रमाणपत्र, शैक्षिक संस्थाको प्रमाणपत्र, जन्मदर्ताको प्रमाणपत्र, अस्पतालको रेकर्ड इत्यादि हुन् । गौशाला-२६ को पक्षमा वकालत गरिरहेका सरकारी र निजी वकिलहरुले उनी नाबालिग रहेको दाबी गरेका छन् भने प्रतिवादीतर्फका वकिलहरुले उनी १८ वर्ष कटिसकेको जिकिर गरेका छन् । दुवै पक्षले आ-आफ्नो दलिललाई पुष्टि गर्ने फरक-फरक कागजातहरु अदालतमा पेश गरेका छन् । यी कागजातहरु हेर्दा गौशाला-२६ को उमेर विवादित देखिन्छ ।

वादी पक्षले गौशाला-२६ लाई नाबालिग देखाउने मुख्य आधार उनको नागरिकतालाई बनाएको छ । प्रहरीले पनि नागरिकताकै आधारमा उनलाई नाबालिग मानेर जाहेरीपत्र दर्ता गरेको थियो । नागरिकताको प्रमाणपत्रमा उनको जन्ममिति २०६२-०२-१८ उल्लेख छ, जसले उनी १८ वर्ष नकटेको पुष्टि गर्छ ।

वादी पक्षले गौशाला-२६ लाई नाबालिग देखाउने मुख्य आधार उनको नागरिकतालाई बनाएको छ । प्रहरीले पनि नागरिकताकै आधारमा उनलाई नाबालिग मानेर जाहेरीपत्र दर्ता गरेको थियो । नागरिकताको प्रमाणपत्रमा उनको जन्ममिति २०६२-०२-१८ उल्लेख छ, जसले उनी १८ वर्ष नकटेको पुष्टि गर्छ ।

यसैगरी वादी पक्षले पेश गरेको अर्को डकुमेन्ट जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि हो । गौशालाले यसै वर्षको असार १४ गते (सन्दीपसँग भेट्नुभन्दा २ महिना जति अगाडि) आफ्नो जन्मदर्ताको प्रतिलिपि निकालेकी थिइन् । यसमा पनि जन्ममिति २०६२-०२-१८ नै लेखिएको छ । साथै, गौशला-२६को एसईईको शैक्षिक प्रमाणपत्रमा पनि यही जन्ममिति उल्लेख छ ।

गाैशाला-२६ले पछि बनाएकाे जन्मदर्ता प्रमाणपत्रकाे प्रतिलिपि ।

यसरी नागरिकता, जन्मदर्ता प्रमाणपत्र र शैक्षिक प्रमाणपत्र सबैमा उही जन्ममिति भएपछि सबैलाई लाग्न सक्छ पीडित नाबालिग नै हुन् । तर, यो त्यति ‘स्ट्रेट फरवार्ड’ छैन ।

प्रतिवादीतर्फका वकिलहरुले पनि उत्तिकै बलिया प्रमाणहरु पेश गरेका छन्, जसले गौशाला-२६ १८ वर्ष काटिसकेको संकेत गर्छन् । पहिलो प्रमाण हो, जन्मदर्ता प्रमाणपत्रको मूल कपी । यसमा गौशाला २६ को जन्ममिति २०६१-०३-१८ उल्लेख छ । यसबाट उनी गत वर्षको असार १८ गतेबाट १८ वर्ष कटेर बालिग भएको देखिन्छ ।

गाैशाला-२६ काे पहिलाे जन्मदर्ता प्रमाणपत्र ।

यस्तै प्रतिवादी पक्षबाट गौशालाको परिवारको बसाइसराइको दर्ता प्रमाणपत्र पनि पेश भएको छ । उक्त प्रमाणपत्रअनुसार उनको परिवार काठमाडौंको शंखरापुर नगरपालिकाबाट नुवाकोटको एउटा गाउँपालिकामा बसाइ सरेको थियो । २०७३ सालको असोज ११ मा दर्ता गरिएको बसाइसराइको प्रमाणपत्रमा परिवारका सबै सदस्यहरुको विवरण राखिएको छ । यसमा पनि गौशालाको जन्ममिति २०६१-०३-१८ उल्लेख छ । बसाइसराइको दर्ता किताबमा पनि यही मिति लेखिएको छ ।

वडा कार्यालयमा गरिएकाे बसाइसराइकाे दर्ता किताब ।
वडा कार्यालयले दिएकाे बसाइसराइकाे प्रमाणपत्र ।

यसरी गौशाला-२६ को जन्मदर्ता र नागरिकतामा उमेर ११ महिना तलमाथि भएको छ । उनको पहिलोपटक जन्मदर्ता २०७५-०९-१८ मा गरिएको थियो भने फरक जन्ममिति बनाएर गत असार १४ गते प्रतिलिपि दिइएको छ । दर्ता मिति भने दुवै कागजमा एउटै छ । मूल जन्मदर्ता प्रमाणपत्रभन्दा प्रतिलिपिमा फरक जन्ममिति उल्लेख हुनुमा वडा कार्यालय जिम्मेवार देखिन्छ ।

प्रतिवादीतर्फका वकिलहरुले पनि उत्तिकै बलिया प्रमाणहरु पेश गरेका छन्, जसले गौशाला-२६ १८ वर्ष काटिसकेको संकेत गर्छन् । पहिलो प्रमाण हो, जन्मदर्ता प्रमाणपत्रको मूल कपी । यसमा गौशाला २६को जन्ममिति २०६१-०३-१८ उल्लेख छ ।

यस विषयमा हामीले सम्बन्धित वडा (नुवाकोटको एउटा गाउँपालिकाको वडा कार्यालय) का सचिव (गोपनियताका लागि नाम नखुलाइएको) लाई फोन सम्पर्क गरेर सोध्यौं । उनको भनाइअनुसार निज गौशाला-२६ को आफ्नो मार्कसीटअनुसार जन्मदर्ता सच्याउन निवेदन आएको थियो । वडाले पनि हचुवामा सच्याइदिएको उनको स्वीकारोक्ति छ ।

‘उहाँले एसईईको मार्कसीटअनुसार जन्मदर्तामा जन्ममिति सच्याउन हामीलाई निवेदन दिनुभएको थियो । हामीले पनि सच्याइदियौं । तर, त्यसरी सच्याउन नमिल्ने रहेछ । पछि यस्तो होला भन्ने अनुमानै गरिएन’, उनले भने ।

ती सचिवको भनाइमा पीडितको वास्तविक जन्ममिति २०६१-०३-१८ नै हो र वडा कार्यालयको रेकर्डमा पनि यही छ । जिल्ला अदालत काठमाडौंको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने क्रममा सो वडा कार्यालयसँग जन्मदर्तासम्बन्धी कागजात मागेको थियो, जुन वडाले उपलब्ध गराइसकेको छ । वडाले गत २९ कात्तिकमा अदालतलाई पठाएको पत्रमा वास्तविक जन्ममिति २०६१-०३-१८ (उमेर १८ वर्ष नाघेको) नै रहेको प्रमाणित गरिएको छ ।

पत्रमा उल्लेख गरिएअनुसार २०७५ साल पुस ९ गते गौशाला-२६ का पिताले २०६१-०३-१८ अनुसार जन्मदर्ताको प्रमाणपत्र माग गरेका थिए र कार्यालयले सोहीअनुसार जन्मदर्ता प्रमाणपत्र दिएको थियो । उक्त समयमा अनलाइनमार्फत काम भएकाले कार्यालयमा त्यसको अभिलेख नरहेको पत्रमा उल्लेख छ ।

वडा कार्यालयले जिल्ला अदालतलाई पठाएकाे पत्र ।

साथै २०७५-०९-१९ मा गौशाला- २६को एसईईको प्रमाणपत्रअनुसार जन्ममिति परिवर्तन गरी पाउँ भनेर निवेदन आएको र पुरानै दर्ता नम्बरअनुसार प्रतिलिपि दिइएको पत्रमा उल्लेख छ । जन्मदर्ताको लागि निवेदन आएको र सच्याउन निवेदन आएको मिति वडाको पत्रमा एउटै लेखिएको छ, जुन प्राविधिक त्रुटि हो । गौशालाले २०७७ सालमा एसईई दिएको हुँदा त्यसपछि मात्रै जन्ममिति सच्याउन निवेदन गएको थियो ।

वडा कार्यालयले त यतिसम्म हेलचेक्र्याइँ गरेको छ कि उसले राखेको बसाइसराइसम्बन्धी रेकर्डमा गौशला-२६की आमाको उमेरमात्र २६ वर्ष देखिन्छ । आमाको जन्ममिति २०३५ साल हुनुपर्नेमा भूलवस २०५३ साल लेखिएको छ । यसबाट आमा र छोरीको उमेरमा ६ वर्षमात्र अन्तर देखिन्छ । यही त्रुटिपूर्ण रेकर्ड सर्वोच्चलाई समेत पठाइएको छ । यद्यपि, बसाइसराइको प्रमाणपत्रमा भने आमाको सही जन्ममिति (२०३५ साल) नै उल्लेख छ ।

पत्रसाथ वडा कार्यालयले जन्मसूचीको सक्कल, बसाइसराइ अभिलेख किताब र पहिलो जन्मदर्ताको प्रमाणपत्र पठाएको थियो । परिवर्तित जन्ममिति भने वडा कार्यालयले लुकाएको छ ।

स्रोतका अनुसार गौशाला-२६को जन्म भएको अस्पतालले दिएको कागज पनि अदालतमा पेश भइसकेको छ । उक्त कागजमा भने जन्ममिति २०६१-०२-१८ गते उल्लेख रहेको स्रोतले बतायो । यो कागज यदि सक्कली र आधिकारिक देखियो भने गौशाला-२६ नाबालिग नरहेको ठहर्नेछ ।

वडाले जन्ममिति सच्याइसकेपछि त्यसैअनुसार नागरिकताका लागि सिफारिस गरिदिएको थियो । नयाँ जन्ममिति उल्लेख गरेर गत असारमा मात्रै वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको हो । त्यहीबमोजिम गौशाला-२६ ले नागरिकता निकाल्न सफल भइन्, जसले उनको उमेर १८ वर्षभन्दा कम देखाउँछ ।

जन्मदर्तासम्बन्धी ऐनमा दर्ता भएको ६ महिनाभित्र विवरण सच्याउन सकिने व्यवस्था छ । यसका लागि स्थानीय पञ्जिकाधिकारी (वडा सचिवलाई अख्तियारी दिइएको) मा तोकिएको ढाँचामा निवेदन दिनुपर्छ । स्थानीय पञ्जिकाधिकारीले उक्त निवेदनमा छानबिन गरी जायज देखिएमा सच्याउन सक्छन् । तर, यदि कसैले झूटो विवरण दर्ता गरेको पाइएमा कानूनी कारबाहीको समेत व्यवस्था छ । यस्तोमा निजलाई बढीमा एक हजार रुपैयाँ जरिवाना वा एक महिना कैद वा दुवै सजाय हुनसक्छ । त्यसले यदि गौशाला-२६ को जन्मदर्तामा उल्लेखित विवरणहरु झूटा ठहरिएको खण्डमा उनको बुवाले उपरोक्त दण्ड सजायको भागीदार हुनुपर्नेछ भने दर्ता पनि रद्द हुनेछ ।

गाैशाला-२६काे विद्यालयले पठाएकाे ८ कक्षाकाे भर्ना सूची ।

हामीलाई प्राप्त सबै कागजातहरुको विश्लेषण गर्दा वास्तविक जन्ममिति २०६१ साल रहेको, त्यसलाई सच्याएर एक वर्ष घटाउन निवेदन आएबमोजिम वडा कार्यालयले छानबिनविनै सच्याइदिएर २०६२ साल कायम गरेको, नयाँ जन्ममितिअनुसार नागरिकताका लागि वडाले सिफारिस गरेको र जिप्रकाले नागरिकता दिएको देखिन्छ । यद्यपि, यी कागजातहरुको सत्यता र आधिकारिकता अदालतले परीक्षण गर्ने विषय हो ।

सामान्यतया उमेरका सम्बन्धमा प्रहरी वा अदालतले उमेर हेर्ने पहिलो कागजात नागरिकता र जन्मदर्ता नै हुन् । यदि त्यसमा शंकास्पद वा विरोधाभासी विवरण पाइएमा निजको जन्म हुँदा अस्पतालले दिएको ‘बर्थ सर्टिफिकेट’लाई मुख्य आधार मानिन्छ । स्रोतका अनुसार गौशाला-२६को जन्म भएको अस्पतालले दिएको कागज पनि अदालतमा पेश भइसकेको छ । उक्त कागजमा भने जन्ममिति २०६१-०२-१८ गते उल्लेख रहेको स्रोतले बतायो । यो कागज यदि सक्कली र आधिकारिक देखियो भने गौशाला-२६ नाबालिग नरहेको ठहर्नेछ ।

बुवा भन्छन्- छोरीले मलाई नसोधिकन मुद्दा हाली, २२ दिनपछि थाहा पाएँ

लामो प्रयासपछि हामीले गौशाला-२६ का बुवालाई फोन सम्पर्क गर्न सफल भयौं । उनीसँगको कुराकानीका क्रममा थाहा भयो अहिलेसम्म कुनै पनि सरकारी निकायले उनलाई बोलाएर सामान्य सोधपुछसम्म गरेको रहेनछ । सरकारी वकिल वा प्रतिवादीका वकिल पनि आफूसमक्ष नआएको उनले बताए ।

हामीले उहाँलाई सोध्यौं, ‘तपाईंको छोरीको जन्म ६१ सालमा भएको हो कि ६२ सालमा ?’

उनी सुरुमा अक्मकिए । त्यसपछि प्रतिप्रश्न गरे, ‘जन्म यदि ६१ मा भएको हो भने ६२ को नागरिकता कसरी बन्यो ?’

सञ्चारमाध्यमहरुबाट छोरी माइती नेपालको संरक्षणमा रहेको थाहा पाएपछि उनी छोरीलाई भेट्न गएका थिए । तर, पहिलोपटक जाँदा उनलाई भेट्नसमेत दिइएन ।

त्यसो भए ६२ सालमै जन्मेको हो त भन्दा उनले स्पष्ट जवाफ दिएनन् । छोरीको जन्मदर्ता गराउन आफू नगएको उनले बताए ।

‘उसको जन्मदर्ता मैले गराएको होइन । त्यतिबेला म वीरगञ्ज थिएँ । मेरो काकाले दर्ता गराएको हो । उनले गराउँदा ६१ गराए कि ६२ गराए मलाई थाहा भएन । वडा कार्यालयको ढड्डामा सूचकको नाम पनि होला । ठ्याक्कै यही नै भन्न त मैले पनि सकिनँ’, उनले भने ।

उनले जन्ममिति सच्याउन वडा कार्यालयमा निवेदन दिएकोसमेत इन्कार गरे । बरु छोरीको तीनवटा जन्मदर्ता रहेको उनले दाबी गरे ।

‘उसको जन्मदर्ता तीनवटा छ । एउटामा जन्ममिति ६१ साल छ, अर्कोमा ६२ साल छ, तेस्रोमा ६३ साल छ । ६३ को चाहिँ झुक्किएर भयो । त्यसको मिडियामा हल्ला सुन्या छैन । असली कुरा वडाको ढड्डामा हुनुपर्छ । म पनि ठ्याक्कै अहिले कन्फ्युज भएँ । मेरो नानी र बाबुको उमेर दुई-अढाई वर्ष फरक हो । तर, अढाई वर्ष कि १८ महिना भन्नेमा म कन्फ्युज छु । बाबु त ५९ साल कात्तिकको हो । उसको सबै कागज मसितै छ अहिलेसम्म । छोरी चाहिँ कहिले आमाकहाँ जानुपर्‍यो भन्ने, कहिले बाबुकहाँ आउने । त्यसको जन्ममिति मलार्ई एकिन छैन । बरु उसको आमालाई थाहा हुनसक्छ ।’

श्रीमतीसँग आफू १० वर्षदेखि अलग भएको उनले जानकारी दिए । यद्यपि कानूनी रुपमा डिभोर्स भइनसकेको उनको भनाइ छ ।

‘कानूनीभन्दा पनि हामी व्यवहारिक रुपमा अलग भएका हौं । हामीलाई एक-अर्कासित चित्त बुझेन, उनी एउटा बाटो लागिन्, म अर्को बाटो लागें’, उनले भने ।

गौशाला-२६का बुवाका अनुसार छोरीसँग पनि उनको तीन महिनादेखि सम्पर्क छैन । छोरीले सन्दीपविरुद्ध मुद्दा हाल्दा आफूसँग कुनै सरसल्लाह नगरेको उनको गुनासो छ ।

‘मैले त मुद्दा हालेको २२ दिनपछि मात्रै थाहा पाएको हुँ’, उनले नेपाल प्रेससँग भने । आफू अहिले पनि यो मुद्दामा तटस्थ रहेको उनी बताउँछन् ।

‘उसले मसित सल्लाह मागेको भए यसो गर, त्यसो गर भन्थें होला । आफूखुशी गरेपछि मैले के भन्ने ? म यो मुद्दामा तटस्थ छु । मलाई अदालत, पुलिस कसैले बयान लिन बोलाएको पनि छैन’, उनले भने ।

सञ्चारमाध्यमहरुबाट छोरी माइती नेपालको संरक्षणमा रहेको थाहा पाएपछि उनी छोरीलाई भेट्न गएका थिए । तर, पहिलोपटक जाँदा उनलाई भेट्नसमेत दिइएन ।

‘आफ्नै छोरी हो भन्दा पनि पहिलोपटक भेट्न दिएनन् । दोस्रोपटक बल्लबल्ल भेट्न पाएँ’, उनले भने । पछि माइती नेपालले आफूलाई छोरी जिम्मा लिएर जान भनेको तर आफूले नमानेको उनको भनाइ छ ।

सन्दीपसँग शारीरिक सम्बन्ध रहेको पुष्टि हुने ठोस प्रमाण वादी पक्षले पेश गर्न नसकेको अदालती स्रोत बताउँछ । उनीहरु राति एउटै कोठामा प्रवेश गरेको र बिहान निस्किएको होटलको सीसीटीभी फुटेजमा देखिन्छ । तर, कोठाभित्रको क्रियाकलाप सीसीटीभीमा कैद नहुने भएकाले यौन सम्बन्ध रहेको यसबाट ठहर हुन सक्दैन ।

‘मैले पहिला तपाईंहरुलाई जिम्मा लगाएको भए अहिले जिम्मा लिने थिएँ । पहिले जसले तपाईंहरुलाई जिम्मा लगायो, उसैलाई भन्नुस भनेर आएँ’, उनले सुनाए । त्यसयता छोरीले पनि आफूलाई सम्पर्क नगरेको उनले बताए ।

‘अहिले छोरी कहाँ छ भन्ने पनि थाहा छैन । सम्पर्क नभएको ३-४ महिना भइसक्यो’, उनले भने ।

छोरीको मुद्दाको विषयमा उनी खासै बोल्न चाहेनन् ।

‘जति बेला सुरुवात थियो, त्यतिबेला मैले चासो पनि दिएँ, कोसिस पनि गरें । तर, नानीले मेरो केही कुराहरु खाइनन् । त्यसो भएपछि म तटस्थ छु । अहिले मलाई केही थाहा पनि छैन । गाउँघरतिर नेट पनि हुँदैन । नानी पनि मसित कन्ट्याक्टमा छैन । उसले मेरो खोजी गर्दिनन् भने म उसलाई कति खोज्नु ?’

छोरीले काठमाडौं बसेर पढ्दा नियमित फोन र बेलाबखत भेटघाट हुने गरेको तर आफूले खर्चबर्च नहेरेको उनले बताए ।

‘मैले त उसलाई पढ्न काठमाडौं पठाउन मानेकै थिइनँ । मकवानपुरमै पढाउन खोजेको थिएँ । तर, जिद्दी गरेपछि पठाएँ । पहिलो लटमा कलेज भर्ना हुन ५०-६० हजार रुपैयाँ दिएको हुँ । त्यसपछि पठाएको छैन र उसले मागेकी पनि छैन’, उनले भने, ‘१८-२० हजारको जागीर खान्छु, ल्यापटप किनेको छु भन्थी । खोइ कता हो, दुई ठाउँबाट डलर आउँछ, टेन्सन नलिनु पनि भन्थी । मैले त पढ्न भनेर पठाएको हो । पछि के गरी, कसो गरी मलाई केही थाहा छैन ।’

अदालतले निरुपण गर्नुपर्ने दुई विषय

सर्वोच्चले जिल्ला अदालतलाई फास्ट ट्रयाकबाट मुद्दा अघि बढाउन आदेश दिएको थियो । त्यसबमोजिम जिल्ला अदालतले छिट्टै नै मुद्दाको अन्तिम फैसला गर्नेछ ।

जिल्ला अदालतका न्यायाधीशहरुका निम्ति यो मुद्दामा धेरै जटिलता भने बाँकी छैन । मुद्दाको पुनरावेदनमा सर्वोच्चले गरेको फैसलाले नै धेरै मार्गदर्शन गरिसकेको छ । सर्वोच्चले सन्दीपलाई धरौटीमा छोड्ने फैसला सदर गर्नुको अर्थ उनले जबरजस्ती करणी गरेको नहुनसक्ने न्यायाधीशहरुको निर्क्योल बुझ्न सकिन्छ । घटनापछि गौशालाले लेखेका म्यासेज र सन्देशहरुले उनी सन्दीपसँगको भेटपछिका दिनहरुमा निकै खुशी थिइन् भन्ने न्यायाधीशद्वयको विश्लेषण छ ।

गौशाला-२६ले ‘आई हग्ड सन्दीप एस्टरडे’ (मैले हिजो सन्दीपलाई अंकमाल गरें) भनेर म्यासेज लेखेकी थिइन् भने सन्दीपसँग जीवनकै उत्कृष्ट दिन बिताएको कुरा साथीहरुसँग शेयर गरेकी थिइन् । साथै सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले सबै तथ्य-प्रमाण हेरेपछि जाहेरीकर्ता नाबालिग हुन् भन्नेमा पनि विश्वस्त हुन नसकेको बताइन्छ ।

जिल्ला अदालतले निरुपण गर्नुपर्ने दुई विषय भनेको उनीहरुबीच यौन सम्बन्ध भएको हो कि होइन भन्ने पहिलो र गौशाला-२६ नाबालिग हुन् कि होइनन् भन्ने दोस्रो हो । यदि यौन सम्बन्ध अरु खालका दुर्व्यवहार भएको पुष्टि हुन सकेन भने उमेरका विषयमा प्रवेश नै गरिरहनु परेन । तर, यदि राजीखुशीमा यौन सम्बन्ध भएको पुष्टि भएको अवस्थामा प्राप्त प्रमाणहरुका आधारमा अदालतले गौशाला-२६को उमेर निरुपण गर्नुपर्ने हुन्छ । अदालतसमक्ष यथेष्ट प्रमाणहरु पेश भइसकेको हुँदा यसमा सायद धेरै समय खर्चिनु नपर्ला ।

मेडिकल रिपोर्टमा गौशला-२६को भंगाकुरमा घाउ देखिएको थियो । तर, यसले मात्रै सन्दीपसँग उनको यौन सम्बन्ध रहेको पुष्टि भने हुन सक्दैन । त्यो अरुसँगको संसर्गका कारण (गौशला-२६को एकजना केटा साथी  (व्वाई फ्रेन्ड) पनि रहेको सर्वोच्चको फैसलामा उल्लेख छ) वा अन्य क्रियाकलापका कारणले पनि भएको हुनसक्छ । सन्दीपसँग शारीरिक सम्बन्ध रहेको पुष्टि हुने ठोस प्रमाण वादी पक्षले पेश गर्न नसकेको अदालती स्रोत बताउँछ । उनीहरु राति एउटै कोठामा प्रवेश गरेको र बिहान निस्किएको होटलको सीसीटीभी फुटेजमा देखिन्छ । तर, कोठाभित्रको क्रियाकलाप सीसीटीभीमा कैद नहुने भएकाले यौन सम्बन्ध रहेको यसबाट ठहर हुन सक्दैन । एउटै कोठामा रात बिताएपछि यौन सम्बन्ध भएकै हुनुपर्छ भन्ने अड्कल लगाएर अदालतले फैसला गर्न मिल्दैन ।


प्रतिक्रिया

2 thoughts on “गौशाला-२६ को जन्ममिति गञ्जागोल: उमेर घटाएर बनाइएको थियो नागरिकता (सप्रमाण)

  1. १८ बर्ष पनि नाघेको र हमतिमा भएको ले उनलाई केही क्षतिपूर्ति दिई मिलापत्र गरे राम्रो हो ।

  2. अदालतमा विचाराधीन रहेको मुद्दामा प्रेसले यसरी “प्रमाण सहित” भन्दै समाचार प्रकाशन गर्नु कत्तिको जायज हो? के यस्तो समाचारको उदेश्य अदालतलाई दिग्भ्रमित गर्नु/ फैसलामा प्रभाव पार्न खोजेको भन्न मिल्छ कि मिल्दैन?? यो समाचार पढ्दा त आरोपिलाई अदालतले भन्दा पहिले प्रेसले सफाइ दियो त!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर