बागमती : दलहरू भएनन् टसमस, भागबन्डा मिलाउन सकस – Nepal Press

बागमती : दलहरू भएनन् टसमस, भागबन्डा मिलाउन सकस

आज मुख्यमन्त्री र प्रदेशका शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने

हेटौँडा । गठबन्धन दलको आ-आफ्नो अडानले बागमती सरकार विस्तारमा विलम्ब भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिमण्डल विस्तार नहुँदा प्रदेशको कामले गति लिन नसकेको भन्दै आफूलाई विश्वासको मत दिएका दललाई सहमतिमा आउन फोन र भेटघाटमार्फत पटक-पटक अनुरोध गरिरहेका छन् ।

गठबन्धन कार्यदलको बैठक आज साँझ फेरि काठमाडौंमा बोलाइएको छ । यसअघिका चार बैठक विनानिष्कर्ष टुंगिएपछि आजको बैठकमा मुख्यमन्त्रीसहित कार्यदलका नेताहरू छलफलमा जुट्ने भएका हुन् ।

कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको नेतृत्वमा भागबन्डा मिलाउन कार्यदल बनाइएको छ । यसअघिका बैठकमा कार्यदल सदस्यले मात्र निष्कर्ष निकाल्न नसकेपछि आजको बैठक मुख्यमन्त्री जम्कट्टेल, साझेदार दलहरू कांग्रेस, नेकपा एस र हाम्रो नेपाली पार्टीका नेताहरू पनि छलफलमा जुट्ने बताइएको छ ।

कसको कति दाबी ?

बागमती प्रदेशमा कांग्रेसका ३७, माओवादी केन्द्रका २१, नेकपा एसका ७ र हाम्रो नेपाली पार्टी (लौरो अभियान) का २ सांसदले माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थिए । हालसरकारमा मुख्यमन्त्रीसहित माओवादीका चारजना मन्त्रीमात्र छन् ।

बागमतीमा ११ वटा मन्त्रालय छन् । अहिले माओवादीबाट ४ मन्त्री भइसकेकाले बाँकी ७ वटामा गठबन्धन दललाई भाग मिलाउन मुख्यमन्त्रीलाई सकस परेको छ । उनी मन्त्रालय नबढाउने पक्षमा छन् । यसअघि १४ मन्त्रालय रहेको यस प्रदेशमा ३ वटा कटौती गरिएको थियो ।

नेपाली कांग्रेसले ६ मन्त्रालयलाई आफ्नो बटमलाइन बनाएको छ ।

मुख्यमन्त्री जम्कट्टेल र कांग्रेसको चाहना पनि नेकपा एसलाई एक मन्त्रालय दिने र हाम्रो नेपाली पार्टीलाई एउटा संसदीय समितिको नेतृत्व दिने छ । नेकपा एसले ३ जना मन्त्रीको दाबीसहित सीटको आधारमा नभई विशेष अवस्थामा निर्माण भएको गठबन्धनको औचित्यको आधारमा मन्त्रालयको भागबन्डा हुनुपर्ने अडान राखेको छ । हाम्रो नेपाली पार्टीले पनि एक मन्त्रालय दाबी गरेको छ ।

कांग्रेस संसदीय दलका उपनेता एवं कार्यदलका संयोजक चित्रकार सहमतिमा आफ्नो पार्टी बाधक नबन्ने बताउँछन् । नेपाल प्रेससँग कुरा गर्दै चित्रकारले सांसद संख्याको आधारमा कांग्रेसले मन्त्रालय दाबी गर्ने बताए ।

आफूहरूको अडान वैज्ञानिक रहेको जिकिर गर्दै उनले भने, ‘कांग्रेस मन्त्रालय फुटाएर बढाउने पक्षमा छैन । हामीले माग गरेको मन्त्रालय दिन माओवादी तयार नै छ तर अन्य दलको कारण समस्या उत्पन्न भएको छ । ६ मन्त्रालय हाम्रो बटमलाइन हो । हाल प्रदेशसभामा हामी सबैभन्दा ठूलो पार्टी हौं, हामीले हाम्रो हैसियतअनुसारको मन्त्रालय दाबी गर्नु नौलो कुरा त हैन नी ?’, चित्रकारले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर