एउटा क्षेत्रबाट हारेर अर्कोमा ‘बसाइँ सरेका’ उम्मेदवार- उपेन्द्र, सर्वेन्द्र र रमेशलाई मतदाताले स्वीकार्लान् ? – Nepal Press

एउटा क्षेत्रबाट हारेर अर्कोमा ‘बसाइँ सरेका’ उम्मेदवार- उपेन्द्र, सर्वेन्द्र र रमेशलाई मतदाताले स्वीकार्लान् ?

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनको लागि उम्मेदवारी मनोनयन भएसँगै देशमा चुनावी माहोल तातेको छ । उपचुनावले गर्दा एकै पार्टीमा रहेका नेपाली कांग्रेस महामन्त्री गगन थापा र अर्थशास्त्री डाक्टर स्वर्णिम वाग्ले फरकफरक कित्तामा देखिएका छन् ।

रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त तनहुँ १ मा अहिले वाग्ले र थापा फरकफरक कित्तामा छन् । वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको नवप्रवेशी नेताको रुपमा चुनावमा उठ्दैछन् भने थापा वाग्लेलगायतका गैरकांग्रेस उम्मेदवार हराउने मोर्चाका कमाण्डर बनेर तनहुँ पुगेका छन् । चुनावी माहोल तताउँदै थापाले सोमबार वाग्लेलाई प्रहार गरिहाले । वाग्लेलाई उनले ‘टुरिष्ट’ उपमा दिए ।

उनले भने, ‘यहाँ घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई यो पटक तपाईंहरुले भन्नुपर्छ, तनहुँको निर्वाचन क्षेत्र अरु ठाउँ जस्तो होइन । यहाँका कांग्रेस भनेको चोकमा राखेको मादल जस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँड्ने । यहाँको कांग्रेसका साथीहरुले बताउनुपर्छ ।’

उसो त टुरिष्ट उम्मेदवार नै हुन् वाग्ले । तर, उनीमात्रै टुरिष्ट उम्मेदवार छैनन् उपचुनावमा । हालसालैको चुनाव हारेर निर्वाचन क्षेत्र नै फेरेर टुरिष्ट बनेका उम्मेदवारहरु पनि छन् । अघिल्लो चुनाव हारेका र निर्वाचन क्षेत्र परिवर्तन गरेर फेरि चुनाव लड्न लम्सिएका यी नै नेतालाई लक्षित गर्दै पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सोमबार बिहानै एक ट्विट गरे । उनले भने, ‘चुनाव केही वर्ष/महिनामा अमूक पार्टी/नेतालाई सत्तामा पुर्‍याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड होइन । यो जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि/अवसर हो । हाम्रो लोकतन्त्रमा चुनाव/उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दैछ । रोकौं ।’

पछिल्लो चुनावमा हारेर अर्को क्षेत्रमा गई जसरी पनि संसद छिर्न आतुर उम्मेदवारहरुलाई रोकौं भनेर बाबुराम भट्टराईले आग्रह गरे जस्तै मतदाताले रोक्छन् वा रोक्दैनन्, त्यो हेर्न वैशाख १० को चुनावी गणितको अन्तिम नतिजा कुर्नुपर्ने हुन्छ । यहाँ चार महिना अगाडि एउटा निर्वाचन क्षेत्रमा हारेको तर उपचुनाव आएपछि अर्को क्षेत्रमा उम्मेदवार बन्न गएका तीन ‘टुरिष्ट’ उम्मेदवारको चर्चा गरौं ।

उपेन्द्र यादव : सप्तरीको शर्मनाक हारपछि बारामा जित्लान् चुनाव ?

मधेस आन्दोलनपछि मधेसको ब्राण्ड बनेर उदाएका उपेन्द्र यादवलाई गत प्रतिधिनिसभाको चुनावमा पहिलोपटक सीके राउतले दह्रो चुनावी चेक दिए । दोब्बरभन्दा बढी मतान्तरले यादवलाई पराजित गर्दै राउतले आफ्नो पहिलो संसदीय यात्रामा बलियो जनमत प्रस्तुत गरे ।

सप्तरी क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा चुनावमा राउतले ३५ हजार ४२ मत ल्याँउदा यादव भने १६ हजार ९७९ मतमा रोकिएका थिए । सप्तरीमा चुनाव हारेपछि सांसद र संसदमा दलको नेता हुँदै सरकारमा जाने उपेन्द्रको आकांक्षा पूरा भएन । अहिले उपचुनावमा मधेस प्रदेशको सुदूर पूर्व सप्तरीबाट सुदूर पश्चिम बारामा सरेका छन् यादव ।

रमेश खरेल : १६ महिनाभित्रै रोजे अर्को दल

मंसिरमा भएको निर्वाचनमा प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर १ मा पाँचाैं स्थानमा आएका रमेश खरेल अहिले बारा पुगेका छन् । प्रकाशमान सिंह (७ हजार १४३ मत), रवीन्द्र मिश्र (७ हजार १८ मत), पुकार बम (४ हजार ११५ मत), किरण पौडेल (३ हजार ५३२ मत) पछि मात्रै ३ हजार १२४ मत ल्याएर पाँचौं भएका थिए खरेल ।

उनी बच्चा लिएकी आमा चुनाव चिन्ह भएको नेपाल सुशासन पार्टीबाट उम्मेदवार बनेका थिए । सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेल पहिले ‘बच्चा बोकेकी आमा’ बाट संघीय राजधानीको चुनावी अभियानमा खटेका खरेल अहिले घण्टी बजाउँदै मधेसको बारा क्षेत्र नम्बर २ मा पुगेका छन् ।

प्रहरी सेवाबाट २०७४ चैत २८ मा राजीनामा दिएका उनी त्यसपछि राजनीतिक मोर्चामा आएका हुन् । राजनीतिमा आएका उनले दुई वर्ष नपुग्दै दुई दलमात्रै फेरेनन्, निर्वाचन क्षेत्र पनि फेरेका छन् । तीन दशकको प्रहरी सेवाबाट डीआईजीसम्म भएका खरेल सक्रिय राजनीतिमा आएको एकै वर्षमा दुई दल फेरेका छन् ।

२०७८ पुस २२ मा उनले ४७ सदस्यीय केन्द्रीय समिति भएको नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए । पार्टी गठन भने उनले २०७८ मंसिर २४ मा गरेका थिए । अझ रोचक कुरा चैं खरेलले आफूले डीआईजीबाट राजीनामा दिएपछि मिडियामा ठूले राई आईजीपी भएको भए राजीनामा नदिने भावुक र समावेशी तर्क गरेका थिए । अहिले उनी आबद्ध दल राष्ट्रिय स्वतन्त्र पार्टीले तीनवटै निर्वाचन क्षेत्रको उपचुनावमा खस-आर्यलाई उम्मेदवार बनाएको छ । यो मुद्दामा खरेल चुप छन् । ठूले राई प्रकरणमा आएको उनको समावेशी चेत अहिले उपचुनावको टिकट मामिलामा मौन छ ।

सर्वेन्द्र खनाल : एमालेबाटै ठाउँ फेरिफेरि टिकट पाउन सफल

पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले प्रहरी सेवा छाडेर ‘कुलिङ पिरियड’ लिन नपाउँदै नेकपा एमालेबाट प्रतिनिधिसभाको चुनावी टिकट पाए । काठमाडौं क्षेत्र नम्बर ६ मा गएको चुनावमा खनाल दोस्रो भए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालसँग पाँच हजारभन्दा धेरै मतान्तरले पराजित भएका थिए उनी ।

शिशिरले १४ हजार २२१ मत ल्याँउदा सर्वेन्द्रले ८ हजार ९१७ मत ल्याएका थिए । २०७६ माघ २८ मा प्रहरी प्रमुख (आईजीपी)बाट अवकाश पाएका थिए । अवकाश पाएको तीन वर्ष नपुग्दै उनी २०७९ असोज ६ गते नेकपा एमाले प्रवेश गरेका थिए । एमाले प्रवेशलगत्तै उनले टिकट पाएर काठमाडौं क्षेत्र नम्बर ६ बाट चुनाव लडेका थिए ।

उनै खनालले अहिले तनहुँ क्षेत्र नम्बर १ को उपचुनावमा एमालेबाट उम्मेदवारी दिएका छन् । रोचक कुरा चाहिं खनालले काठमाडौं क्षेत्र नम्बर ६ मा जस्तै तनहुँ क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेस तथा रास्वपाकै नेतासँग प्रतिस्पर्धा गर्ने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर