‘कांग्रेसले आफ्नो खुट्टामा उभिने हैसियत गुमाइसक्यो, रास्वपामा प्रवेश गर्नसक्छु’ – Nepal Press
नेपाल टक

‘कांग्रेसले आफ्नो खुट्टामा उभिने हैसियत गुमाइसक्यो, रास्वपामा प्रवेश गर्नसक्छु’

पूर्वकांग्रेस नेता पौडेल भन्छन्- अब कांग्रेसबाट देशले निकास पाउँदैन

काठमाडौं । चितवन कांग्रेसका पुराना नेता जगन्नाथ पौडेल गत वैशाखमा भएको स्थानीय तह निर्वाचनदेखि चर्चामा छन् । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेणु दाहालविरुद्ध बागी उम्मेदवारी दिएपछि उनी चर्चामा छाए ।

उनको उम्मेदवारी फिर्ता गराउन कांग्रेस सभापति शेरबहादुर देउवादेखि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्मका शीर्ष नेताहरुले सक्दो प्रयास गर्दा पनि सफल भएन । बागी उठेर पनि पौडेलले सम्मानजनक मत ल्याए । उनी मंसिरमा भएको निर्वाचनमा पनि स्वतन्त्र समूह बनाएर चुनावी मैदानमा उत्रिए ।

तर, अहिले वैशाख १० मा हुने चितवन २ को उपनिर्वाचन भने उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन जनाएको घोषणा गरेका छन् । आइतबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनको कारबाही फुकुुवा गरेको थियो । तर, रास्वपामा खुलेका उनी के पार्टी प्रवेश गर्ने तयारी लागेका हुन् ? नेता पौडेलसँग कांग्रेसप्रति किन यति धेरै असन्तुष्टि र चितवन २ को चुनावी माहोललगायतका विषयमा नेपालप्रेसले गरेको संक्षिप्त कुराकानीः

– चितवन फेरि चुनावी चर्चामा छ । तपाईंले अहिले किन रास्वपाका उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्नुभयो?

म अहिले स्वतन्त्र छु । कुनै पार्टीमा छैन । मेरो क्षेत्रको उम्मेदवारी छनोटको विषयमा मेरो रुचि पनि हुनुपर्‍यो । मेरो प्राथमिकता पनि हुनुप¥यो । आफू उम्मेदवार नहुने भएपछि यहाँ उठेका उम्मेदवारमध्येबाट छनोट गर्दा रवि लामिछानेजी उपयुक्त लागेर मैले समर्थन गरेको हुँ ।

म अहिले स्वतन्त्र छु । कुनै पार्टीमा छैन । मेरो क्षेत्रको उम्मेदवारी छनोटको विषयमा मेरो रुचि पनि हुनुपर्‍यो । मेरो प्राथमिकता पनि हुनुपर्‍यो । आफू उम्मेदवार नहुने भएपछि यहाँ उठेका उम्मेदवारमध्येबाट छनोट गर्दा रवि लामिछानेजी उपयुक्त लागेर मैले समर्थन गरेको हुँ ।

उहाँको पार्टी आजको दिनमा देशमा एउटा तरङ्ग उत्पन्न गराउन सक्ने सामर्थ्य भएको, नयाँ जोश र विज्ञ साथीहरु भएको पार्टीको रुपमा बुझेको छु । देशलाई त्यस्ता व्यक्तिहरु सम्मिलित पार्टी आवश्यक पनि छ । त्यसमा म पनि केही योगदान गर्न सक्छु कि भन्ने हिसाबले मैले समर्थन गरेको हुँ ।

– कांग्रेसले पनि कारबाही फुकुवाको निर्णय त गरिसकेको थियो । किन त्यता लाग्नुभएन ?

पहिलो कुरा अहिलेसम्म कांग्रेसले कारबाही फुकुवा गरेको छैन । त्यसैले अहिले मेरो कांग्रेससँग कुनै साइनो छैन । तर पनि म देशलाई अगाडि बढाउनुपर्छ भनेर राजनीतिमा लागेको व्यक्ति हुँ । आज हामी जहाँ छौं, त्यहीबाट उभिएर हेर्दा कांग्रेस आफैंभित्र अल्मलिएको छ । आफ्नै स्वार्थको गाँठोमा रुमलिएको छ । उसले निकास दिँदैन । आफ्नो खुट्टामा उभिएर पार्टी नेता कार्यकर्ताको सम्मान गर्न जान्दैन । योग्यता, क्षमता र ज्येष्ठताको आधारमा निर्णय गर्न छाड्यो । कांग्रेस पार्टीबाट देशले निकास नपाउने मलाई लाग्यो । त्यसैले आफूले सहयोग गर्न डेमोक्रेटिक पार्टी खोज्नुपर्‍यो । प्रजातान्त्रिक मूल्य र मान्यतामा विश्वास राख्ने पार्टी रोज्दा रवि लामिछानेजीको पार्टी रास्वपा हाम्रो समूहको रोजाइमा आयो ।

– अहिले समर्थनको घोषणा गर्नुभयो । के पार्टी नै प्रवेश गर्ने तयारी हो ?

अहिले केही सोचेको छैन । हेर्दै जाऔं । छलफल गरेर अगाडि बढ्दै जाऔं । के हुन्छ कसो हुन्छ अब ।

– त्यो सम्भावना कतिको नजिक छ ?

सम्भावना छ छैन भन्दिनँ । तर, अहिले त्यसको बारेमा केही सोचेको छैन ।

म कांग्रेसप्रति उत्साही छैन । कांग्रेस ठीक ढंगले नचलेकाले निकास दिन सक्दैन । अहिले आफू स्वतन्त्र रुपमा खडा हुने हैसियत गुमाइसक्यो । उसलाई माओवादीसहित अरुको सहयोग चाहिएको छ ।

– कांग्रेसको शीर्ष तहबाट पार्टीमा फेरि पार्टीमा फर्केर काम गर्न कुनै प्रस्ताव आएको छैन ?

शीर्ष तहबाट त अहिलेसम्म आएको छैन । तर, उम्मेदवार हुनेहरु आइरहेका छन् । कांग्रेसभित्र घात, प्रतिघात, षड्यन्त्र, मौकापरस्त छ । आफूलाई चाहिँदा जे पनि गर्ने तर, पछि बोली फेर्ने गर्छन् । आज एउटा कुरा गरेको व्यक्तिले भोलि अर्काे कुरा गर्न थालिहाल्छन् ।

आज एउटासँग फाइदा लिने, भोलि आफू अनुकूल भएर भने हिजो सहयोग लिएको मान्छेलाई खुट्टा तान्ने प्रवृत्ति छ । त्यही भएर मैले जे देखें, जे अनुभव गरें त्यसबाट म कांग्रेसप्रति उत्साही छैन । कांग्रेस ठीक ढंगले नचलेकाले निकास दिन सक्दैन । अहिले आफू स्वतन्त्र रुपमा खडा हुने हैसियत गुमाइसक्यो । उसलाई माओवादीसहित अरुको सहयोग चाहिएको छ । चुनावभन्दा अगाडि नै गठबन्धन गर्ने, आफ्ना नेता कार्यकर्तालाई लात हान्ने गरेको छ । त्यो हामीले भोगेकै छौं ।

हामीले कांग्रेसले बाटो बिरायो भनेपछि हाम्रो मुख थुनिएको हो । अब अहिले कारबाही गरेर स्वतन्त्र र सक्रिय छौं । हाम्रो सक्रियताले चुनावमा केही न केही अवश्य प्रभाव पार्छ नै । त्यसैले अहिले हाम्रो सक्रियता देखाउने ठाउँ नै रास्वपा देखेका छौं ।

– चितवनको चुनावी माहोललाई कसरी लियालिरहनुभएको छ ?

आज उम्मेदवारी दर्ता भयो । अहिलेसम्मको यहाँको परिस्थिति हेर्दा रविजीले जित्नेमा कुनै दुविधा छैन ।


प्रतिक्रिया

One thought on “‘कांग्रेसले आफ्नो खुट्टामा उभिने हैसियत गुमाइसक्यो, रास्वपामा प्रवेश गर्नसक्छु’

  1. नयाँ शिराबाट राजनीति शुरू गर्नुहोस् । त्यहि नै उपयुक्त हुन्छ । काँग्रेस त ढिलो चाँडो सकिने नै हो अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर