जेएनयूकी प्राध्यापक भन्छिन्ः प्रधानमन्त्रीको रुपमा प्रचण्ड परिपक्व भएका छन् – Nepal Press
नेपाल टक

जेएनयूकी प्राध्यापक भन्छिन्ः प्रधानमन्त्रीको रुपमा प्रचण्ड परिपक्व भएका छन्

‘सभ्यताका सेतु र सनातनी सम्पदा जोगाउनु नै आजको पुस्ताका नेपाली नेताहरुले आफ्ना भावी पुस्तालाई दिने सुन्दर उपहार हो’

काठमाडौं । डाक्टर गीता कोच्छर भारतीय हुन् । तर, उनलाई चिनियाँ भाषा फरर्र बोल्न आउँछ, लेख्न आउँछ । उनले चीनबारेमा पुस्तकहरु पनि लेखेकी छन् । सन् २०१८ मा उनले चिनियाँ भाषाको व्यवसायिक अध्ययनको एक पुस्तक लेखेकी छन् ।

भारतको नयाँदिल्लीमा रहेको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेकी डाक्टर कोच्छर सन् २००६ बाट सहायक प्राध्यापकको रुपमा सोही विश्वविद्यालयमा आबद्ध छिन् । नेपाल-भारत-चीन सम्बन्धमा उनको चासो छ । उनले यो मुद्दामा धेरै लेखहरु पनि लेखेकी छन् । प्रचण्डले चाहिरहेको भारत भ्रमण, उनले निम्तो आएर पनि नगएको चीनको बोआओ फोरम प्रसंग, सार्कमा भारतको अनिच्छा, नेपालमा भारत-चीन तथा चीन-अमेरिकी चासोका मुद्दामा डाक्टर गीता कोच्छरले नेपालप्रेसकर्मी विराट अनुपमसँग कुराकानी गरेकी छिन् । कुराकानीको सार यहाँ प्रस्तुत छः

– चिनियाँ भाषामा पोख्त भएको, भारतीय राष्ट्रियता भएको र नेपाल मुद्दामा राम्रो चासो राख्ने ज्यादै दुर्लभ दक्षिण एसियाली प्राज्ञिक व्यक्तित्वको रुपमा तपाईं हुनुहुन्छ । तपाईंको स्थानबाट हेर्दा नेपाल कस्तो देखिन्छ ?

सन् २०१४ मा आयोजना भएको भारत-चीन-नेपाल सम्मेलनभन्दा अगाडि मेरो नेपालबारेका खोज अनुसन्धानको कुनै दक्षता वा डिग्री थिएन । तर, पछिल्ला वर्षहरुमा नेपालको बारेमा अध्ययनमात्रै गरेको छुइनँ कि नेपालका द्विपक्षीय र त्रिपक्षीय सम्बन्धहरुमा लेखहरुसमेत लेख्दै आएकी छु । नेपाल मामिलामा काम गर्दै आएका नेपाल तथा भारतका मान्छेहरुले मलाई बाहिरियाको रुपमा हेर्नुले चैं गाह्रो भएको छ । यसो भन्दाभन्दै भारतीय खोज अनुसन्धानमा कम महत्व दिइएको नेपाल मेरो लागि रुचिको देश हो । नेपालको भारतसँग सांस्कृतिक र ऐतिहासिक सम्बन्धका पुलहरुमात्रै छैनन्, भारतसँग छिमेकी भएको ज्यादै धेरै फाइदा पनि नेपाललाई छ । चिनियाँ कोणमा हेर्दा तुलनाहरुका कुराले अनावश्यक जटिलता ल्याएको छ । मलाई लाग्छ, यहाँ कुनै तुलनाका कुरा छैन । नेपाललाई भारत र चीनसँग तुलना गरेर हेर्ने दृष्टिकोणबाटै नेपाल बुझाइमा समस्या सुरु हुन्छ ।

– २०६५ मा पहिलोपटक प्रधानमन्त्री हुँदा प्रचण्डले आफ्नो पहिलो छिमेक भ्रमण चीनबाट सुरु गरेका थिए । अहिले प्रधानमन्त्री भएपछि चिनियाँ औपचारिक निम्तो आउँदाआउँदै उनले ‘बोआओ फोरम फर एसिया’मा सहभागिता जनाएनन् । उनले पटक पटक सार्वजनिक मञ्चदेखि संसदसम्म आफ्नो पहिलो भ्रमण भारत हुने भन्दै आएका छन् । किन यस्तो भइरहेको छ ?

मलाई लाग्छ कि प्रचण्ड प्रधानमन्त्री र नेताको रुपमा पछिल्ला वर्षहरुमा परिपक्व भएका छन् । उनी पहिलोपटक प्रधानमन्त्री हुँदा अप्रत्याशित स्थान पाएका थिए । उनी त्यस बेला आफ्नो क्रान्तिकारी रापतापबाट आएका थिए र उनलाई विश्वको भूराजनीतिको जटिल गतिशीलतासँग तादात्म्यता राख्नु थियो । उनी त्यही बेला विस्तृत सामाजिक वैधता दिलाउनमा आफ्नो स्थान बनाउने र प्रमाणित गर्न हतारोमा थिए । उनी अहिले त्यो अवस्थाबाट पर पुगिसकेका छन् । उनी अरु नेताहरुसँग एसर्टिब हुँदैछन् । जहाँसम्म भारत भ्रमण नै पहिले किन भन्ने सवाल छ, यहाँ मेरो पनि प्रश्न छ- किन पहिलो नहुने त ? नेपाल-भारतको शक्ति सामञ्जस्यलाई बिगार गर्ने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो नगर्ने हो भने नेपालको प्रधानमन्त्रीको रुपमा, धार्मिक र राजनीतिक मित्रता भएको भारतको महत्वपूर्ण र नजिकको छिमेकीको रुपमा प्रचण्डले पुरानो स्थापित परम्परालाई निरन्तरता दिनुपर्छ ।

अबको समयमा नेपालमा भारत र चीनको होइन अमेरिका र चीनको प्रतिस्पर्धा हुनेछ । नेपाल अमेरिका र चीनको प्रोक्सी वार स्थल बन्नेछ । नेपालमा तिब्बती आप्रवासी समुदायको बाक्लो उपस्थिति छ ।

– माल्दिभ्स र बंगलादेशलाई निम्तो गर्दा भारतले नेपाली नेताहरुलाई राइसिना डाइलगदेखि जी-२० सम्ममा निम्ता गरेन । यो कदम संयोगबस हो कि नियतबस ?

नेपालभित्र भारतविरोधी बलियो न्यारोटिभ भए पनि मलाई नेपाललाई पाखा लगाउने नियत हो जस्तो लाग्दैन । उसो त अशान्त विश्वका घटनाक्रममा सानो छिमेकी शक्तिको रुपमा त्यहाँ कम महत्व हुन्छ । भारतलाई स्थापित र उदीयमान विश्व शक्तिहरुसँग डिल गर्न आकुलब्याकुल भइरहेको छ । यसैको कारणले मोदीको ‘छिमेकी पहिले’ कार्यक्रम धिमा गतिमा विकास भइरहेको छ । अर्कोतर्फबाट हेर्दा नेपालले आफ्नो छनोट आफैं गर्नुपर्छ ।

– पहिलोपटक प्रधानमन्त्री हुँदा नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सार्क राष्ट्रका प्रमुखहरुलाई निम्ता दिइएदेखि सन् २०१४ पछि सार्क शिखर सम्मेलन नभएको घटनासम्म हेर्दा मोदी सत्ता सार्कसँग नकारात्मक देखिएको छ । किन मोदी सत्ता सार्कसँग गम्भीर छैन ?

नेपालमा धेरै र भारतमा केहीले सार्कको पुनर्जागरण र महत्वको बारेमा पैरवी गरिरहेको भए पनि म चैं मेरा लेखहरुमार्फत् सार्कको सान्दर्भिकता नभएको वकालत गर्दै आएकी छु । दुनियाँमा व्यापक रुपान्तरण भइरहेको छ । हामी पुरानै नीति र योजनाहरुमा रहेर यो क्षेत्रमा शान्ति र मित्रता कायम गर्न सक्दैनौं । अब विकास केन्द्रित हुनुपर्छ र मलाई लाग्दैन कि सार्कले सबै देशको विकासका मुद्दामा केही प्रभाव गरेको छ । यसका अतिरिक्त विश्वलाई थाहा छ कि पाकिस्तानले प्रायोजन गरेका आतंककारी समूहहरुबाट भारतमा समस्याहरु छन् । वास्तवमा प्रधानमन्त्री नरेन्द्र मोदीले अन्त्यन्तै राम्रो नियतका साथ सार्क देशहरुसँग मित्रता बढाउन खोजेका हुन् । तर, त्यहाँ जोखिमहरु आए । भारतले पूरै सार्कलाई त्यागिसकेको छैन । यदि सार्कलाई पुनर्जागरण नै गर्ने हो भने यसका कार्य समितिका नियम तथा सर्तहरु परिवर्तन गर्नुपर्छ । त्यसको लागि पाकिस्तानसहितका सबै देशहरु मञ्जुर हुनुपर्छ ।

– सांघाई कोअपरेसन अर्गनाइजेसनका मञ्चहरुमा भारतलाई पाकिस्तानसँग आमनेसामने हुन कुनै समस्या छैन । तर, यस्तो कुरा सार्कमा सन् २०१४ पछि हुन सकेको छैन । किन ?

यसको लागि मलाई लाग्छ, सबैभन्दा पहिले सांघाई कोअपरेसन अर्गनाइजेसनको जटिलता र कामका तौरतरिकाहरु बुझ्नुपर्ने हुन्छ । भारत पर्यवेक्षक हुँदै सदस्य भएको हो । सांघाई कोअपरेसन अर्गनाइजेसनको एक प्रमुख उद्देश्य आतंकवाद अन्त्य हो । भारतले पाकिस्तानलगायतका अरु शक्तिहरुसँग आफ्नो सरोकार राख्न पनि त्यहाँ जोडिनुपर्छ । सार्कमा भारत प्रमुख शक्ति हो । त्यसले अरु सबै शक्तिहरुलाई कुनै न कुनै रुपमा सुरक्षा गर्नुपर्ने हुन्छ । नेपालकै सवालमा पनि भारतले सुरक्षा गर्नुपर्ने उत्तरदायित्व छ । सार्कले एजेण्डा लिएर पाकिस्तानसँग दबाब सिर्जना गर्न कसरी सक्छ ? सन् २०१४ सम्म पनि यस्तो हुन सकेन । हामीलाई आशा छ, रुस र चीनदेखि संयुक्त राष्ट्रसंघका पाँचै स्थायी सदस्यसम्मले यो क्षेत्रको व्यापक शान्ति र मित्रताको लागि हाम्रो पहलकदमीलाई सहयोग गर्नेछन् ।

चीनले नेपाललाई अमेरिकी नेतृत्वको इन्डो प्यासिफिकतर्फ भन्दा आफ्नै गठबन्धनमा लिन चाहन्छ । यसरी आगामी दिनमा नेपालमा चीन र अमेरिकाबीचको प्रतिस्पर्धात्मक दुश्मनी तीब्र बढ्नेछ ।

– तपाईं जवाहरलाल नेहरु विश्वविद्यालयमा एक विद्यार्थीदेखि सहायक प्राध्यापकसम्मको रुपमा जोडिनुभएको छ । मिडिया र सार्वजनिक वृत्तमा भनिन्छ कि भारतले जेएनयूको बजेट कटौती गरेको छ । जेएनयूकी उपकुलपति शान्तिश्री सुलिपुडि पण्डितले सार्वजनिक रुपमा बजेट कटौतीको बारेमा असन्तुष्टि पोख्नुभएको छ । यो यस्तो समयमा भइरहेको छ कि मोदीका विश्वासपात्र एस जयशंकर जो- जेएनयूबाटै विद्यावारिधि गरेका- क्याबिनेट सदस्य छन् । यस्तो किन भइरहेको छ ?

बजेट संकुचनको समस्या जेएनयूको मात्रै होइन । अरु विश्वविद्यालयको पनि हो । सरकारको विकास लक्ष्यको लागि कोभिड १९ महामारीको चुनौतीलाई ध्यान दिँदै सबैले बजेट भार बाँड्नु राम्रो हो । सरकार सार्वजनिक निजी साझेदारीको मोडेलमा गएर बजेटको विविधीकरण गर्नेतर्फ अगाडि बढिरहेको छ । उच्च शिक्षा प्रदायक र सहयोगको रुपमा सरकारको पूर्ण साझेदारीका कुराहरु क्रमशः परिवर्तन हुनेछ । जेएनयूमा सबैभन्दा थोरै शुल्क छ र उच्च शिक्षा अध्ययन लगभग निशुःल्क जस्तै छ । यसमा पुनः समायोजन गर्न आवश्यक छ । राज्यले सबै भार नलिने गरी जेएनयूको बजेट व्यवस्थापन गर्न आवश्यक छ । यसको सट्टामा राज्यले जेएनयू जस्ता अरु विश्वविद्यालय बनाउन बजेट विनियोजन गर्न आवश्यक छ ।

– भारत र चीन जस्ता दुई संधियार छिमेकीबाहेक नेपालमा आकाशे छिमेकी अमेरिकाको पनि पछिल्ला वर्षहरुमा कूटनीतिक उपस्थिति बाक्लिँदै गएको छ । यसमा कुनै रणनीतिक अन्तर्य छ कि यो सामान्य घटनाक्रम हो ?

नेपालका लागि यो धेरै सान्दर्भिक विषय हो । मैले नेपालका रिपोर्टरहरुदेखि प्राज्ञहरुसम्मलाई बितेका केही वर्षहरुबाट भन्दै आएको छु कि अबको समयमा नेपालमा भारत र चीनको होइन अमेरिका र चीनको प्रतिस्पर्धा हुनेछ । नेपाल अमेरिका र चीनको प्रोक्सी वार स्थल बन्नेछ । नेपालमा तिब्बती आप्रवासी समुदायको बाक्लो उपस्थिति छ । मुस्ताङमा त उनीहरुको पकड नै छ । नेपालमा धेरै बुद्धिस्ट गुम्बाहरु छन्, जसको समुदायमा प्रत्यक्ष वा अप्रत्यक्ष नियन्त्रण छ । जतिबेला नेपाललाई चीनले तिब्बती शरणार्थीहरुलाई नियन्त्रणको दबाब दिन्छ, त्यतिबेला अमेरिकाले यी समुदायलाई चीनविरुद्ध प्रयोग गर्नेछ । त्यो समयमा नेपालमा तनाव बढ्नेछ । नेपाल एमसीसीमा जोडिएसँगै चीनले यसलाई नेपाल र अमेरिकाको रणनीतिक र सैन्य गठजोडमा पुग्ने कदमको रुपमा लिन्छ । चीनले नेपाललाई अमेरिकी नेतृत्वको इन्डो प्यासिफिकतर्फ भन्दा आफ्नै गठबन्धनमा लिन चाहन्छ । यसरी आगामी दिनमा नेपालमा चीन र अमेरिकाबीचको प्रतिस्पर्धात्मक दुश्मनी तीब्र बढ्नेछ ।

हरेक देशले उनीहरुको राष्ट्रिय स्वार्थ हेर्छन् र चीनसँग सम्बन्ध बनाउनु उनीहरुको अपरिहार्य छनोट हो । योसँग भारतले असुरक्षित महसुस गर्नुहुन्न र गरेको छैन । यदि दुईमा एक नै रोज्ने अवस्था आएमा मैले भन्नुपर्दैन कि यी देशहरुले कुन देश रोज्छन् ।

– भारतीय परराष्ट्र सचिव हुँदै परराष्ट्रमन्त्री भएका एस. जयशंकरले आफ्नो पछिल्ल्लो पुस्तक ‘दि इन्डिया वे’मा एसियाली शताब्दी आउनलाई भारत र चीनको मिलनले मात्रै सम्भव हुने लेखेका छन् । भविष्यमा यसको सम्भावना कति छ, खासगरी दक्षिण एसियामा ?

धेरै एसियालीहरुले देखेको सपना हो एसियाली शताब्दी । तर, यो कठिन र जोखिमपूर्ण प्रस्ताव हो । हाम्रा (भारत र चीनका) जटिल सीमा समस्या र भूराजनीति चुनौतीहरु छन् । एसियाली शताब्दी समूहका मुख्य अंशियार को को हुने भन्नेमै हामी सहमतिमा पुग्न सकेका छैनौं । जयशंकरले भनेजस्तै एसियाली शताब्दी हुन भारत र चीन मिल्दामात्रै यो सम्भव छ । मलाई लाग्छ, अहिलेका दुई नेता सी चिनफिङ र नरेन्द्र मोदीले मिलेर जटिल मुद्दालाई समाधान गर्न सकेनन् र खाडल पुर्न सकेनन् भने भविष्यमा एसियाली शताब्दीका संकल्प र सृजना दुवै कमजोर हुनेछन् ।

– चीन र भारतका जारी भूराजनीतिक समीकरणले नेपाल, बंगलादेश र श्रीलंका जस्ता साना दक्षिण एसियाली देशलाई के कस्ता अवसर र अवरोध आउलान् ?

मेरो लागि भारत र चीनको भूराजनीतिक प्रतिस्पर्धा सम्बन्ध बुझ्ने साँधुरो दृष्टिकोण हो । दक्षिण एसियाका नेपाल, बंगलादेश र श्रीलंका जस्ता देशका गहिरा र दीर्घकालीन सम्बन्ध भारतसँग हुनेछ । यी देशहरुले चीनलाई आर्थिक अवसर र विकासको कोणमा हेर्छन् । यसलाई उनीहरुले चीनलाई भारतको विकल्पको रुपमा हेरेको भन्नु मूर्खता हो । हरेक देशले उनीहरुको राष्ट्रिय स्वार्थ हेर्छन् र चीनसँग सम्बन्ध बनाउनु उनीहरुको अपरिहार्य छनोट हो । योसँग भारतले असुरक्षित महसुस गर्नुहुन्न र गरेको छैन । यदि दुईमा एक नै रोज्ने अवस्था आएमा मैले भन्नुपर्दैन कि यी देशहरुले कुन देश रोज्छन् । जहाँसम्म भूराजनीतिको सवाल छ, भारत र चीन दुवै तीव्र गतिमा उकालो लाग्दैछन् । केही झट्का त अवश्यम्भावी छन् । त्यसको लागि अरु शक्तिहरुले रणनीतिक सन्तुलन मिलाउनुपर्ने हुन्छ ।

– आफ्नो भूमि र आसपासका क्षेत्रहरुमा शक्ति राष्ट्रहरुले गरिरहेका चलखेलमा आफ्नो राष्ट्रिय स्वार्थलाई जोगाउन नेपाललाई कूटनीतिमा कस्तो राजकीय शिल्प चाहिएला ?

यो प्रश्नको उत्कृृष्ट उत्तर नेपाली नागरिकबाटै आउनसक्छ । मेरो सल्लाह चैं, नेपाल आफ्नो मूल परम्परागत मान्यता र प्रचलनबाट दायाँबायाँ हुनुहुन्न । नेपाल आध्यात्मिक सद्भाव र प्राकृतिक वातावरण भएको देश भएकाले मान्छेलाई आनन्द लिने मुकाम हो । अल्पकालीन फाइदामा भन्दा नेपाली नागरिकहरुको दीर्घकालीन भविष्यको बारेमा नेपाली नेताहरुले सोच्नुपर्छ । नेपालले यस अगाडि नै दशक लामो अशान्ति र अराजकता भोगिसकेको छ । नेताहरु र जनप्रतिनिधिहरुले विकासमा केन्द्रित भएर चरम गरिबीबाट मुक्ति दिलाउनुपर्छ । नेपालमा बहुसंख्यक एनजीओमार्फत केही शक्तिले चलखेल गरिरहेका छन् । नेपालले आफ्नो भूमि बहु शक्ति केन्द्रहरुलाई खेल्ने मैदानको रुपमा दिनुहुन्न । सभ्यताका सेतु र सनातनी सम्पदालाई जोगाउनु नै आजको पुस्ताका नेपाली नेताहरुले आफ्ना भावी पुस्तालाई दिने सुन्दर उपहार हो ।


प्रतिक्रिया

4 thoughts on “जेएनयूकी प्राध्यापक भन्छिन्ः प्रधानमन्त्रीको रुपमा प्रचण्ड परिपक्व भएका छन्

  1. दुई दुई महिनामा सरकार फेर्ने, कहिले यो गठबन्धन कहिले त्यो गठबन्धन भनेर खालि पद मात्र ओगटने अस्थिरताको चरम नमूना प्रचण्डलाई परिपक्व भन्ने यी महिला कि त नक्कली प्रध्यापक हुन कि त मोदीको एजेण्ट भएर बोलेर प्रचण्डलाई फुर्काएर कहाँ कहाँ सही गराउन खोज्दैछन् ।

  2. प्रचण्ड बाहेकबाट कर्म्फरटेवल सरकार नपाउने भएपछि स्वभाविक रूपमा प्रचण्ड प्रधानमन्त्रीमा परिपक्क मानिन्छन् । यति कुरा राजनीतिमा सामान्य चाख राख्ने मानिसले पनि बुझेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर