ट्राफिक नियम मान्दैनन् पोखराका नगर बस – Nepal Press

ट्राफिक नियम मान्दैनन् पोखराका नगर बस

पोखरा । पोखराको न्यूरोडमा गत शुक्रबार मिनी माइक्रोले स्कुटरलाई ठक्कर दियो । ग १ ज ४५४० नम्बरको मिनी माइक्रोको ठक्करबाट ग ५ प ९४ नम्बरको स्कुटरका चालक पोखरा महानगरपालिका- ८ का ४५ वर्षीय सूर्य थकालीको उपचारको क्रममा मृत्यु भयो ।

घटनापछि गम्भीर घाइते भएका थकालीलाई उपचार गर्न मणिपाल शिक्षण अस्पताल लगिएको थियो । चालक प्रहरी नियन्त्रणमा छन् । प्रहरीका अनुसार माइक्रोले स्कुटर चालकलाई सडकमै ३३ मिटर घिसारेको थियो ।

गत चैत ३ गते बिहानै पोखरा चिप्लेढुंगामा स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भयो । बसको ठक्करबाट २४ वर्षीया दीक्षा कार्कीले ज्यान गुमाइन् । यस माइक्रोका चालक पनि प्रहरी नियन्त्रणमा छन् ।

त्यस्तै गत माघ २६ गते पोखरा बसपार्क नजिकै बसले ठक्कर दिँदा स्कुटर चालक २७ वर्षीया रेजिना आचार्यले ज्यान गुमाइन् ।

यी त पोखरामा पछिल्लो समय नगर बसको ठक्करबाट ज्यान गुमाउनेहरुको केही उदाहरणमात्रै हो । पछिल्लो समय पोखरामा नगर बस चालकको लापरबाहीका कारण दिनहुँजसो साना-ठूला दुर्घटना भइरहेका छन् । माइक्रोबाट बाइक र स्कुटरका चालकदेखि पैदल यात्रुसम्म त्रसित छन् ।

तोकिएको ठाउँमा नरोक्ने, जहाँ मनलाग्यो त्यही रोक्ने, सडकको अवस्था नहेरी तीव्र गतिमा सवारी हाँक्ने, एकअर्कालाई उछिन्ने जस्ता क्रियाकलापले अधिकांश दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरले नगर बसमा यात्रु चढाउने, ओराल्ने निश्चित ठाउँ तोकेको छ । तर, अधिकांश नगर बस एकअर्कालाई उछिन्ने प्रतिस्पर्धाले निश्चित ठाउँमा रोकिँदैनन् । नगर बसले जहाँ मनलाग्यो, त्यही रोक्दा दुर्घटनाको जोखिम त बढेकै छ, पैदल यात्रीलाई सडक यात्रा गर्न, बाटो पार गर्नसमेत कठिन हुँदै आएको छ ।

चालू आर्थिक वर्षमा मात्रै पोखरामा ७९ दुर्घटना भएका छन् । ती दुर्घटनाबाट २९ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तथ्यांकले देखाउँछ । दुर्घटनामा परी ८९ जना घाइते भएका छन् । गत आर्थिक वर्षमा पोखरामा ९८ सवारी दुर्घटा हुँदा ५५ जनाले ज्यान गुमाएका थिए ।

एकले अर्कालाई उछिन्ने र तीव्र गतिमा सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालयका कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठक बताउँछन् । ‘पछिल्लो समय सवारी चालककै लापरबाहीका कारण दुर्घटना बढेको पाइएको छ । जसले गर्दा गम्भीर प्रकृतिका घटना हुने गरेका छन्’, उनले भने ।

बढ्दो सवारी चापले बर्सेनि दुर्घटनाको जोखिम बढेको सूचना अधिकारी पाठकको भनाइ छ ।

नगरको बसको गति तोकिने

पोखरा महानगरपालिकाको प्रमुख सहरी क्षेत्रभित्र सञ्चालन हुने नगर बसका लागि अधिकतम गति निर्धारण गरी कडाइका साथ पालना गराउने निर्णय भएको छ । नगर बसबाट भइरहेका गम्भीर प्रकृतिका सडक दुर्घटना कम गर्न कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले गति निर्धारण गरी सोको कडाइका साथ पालना गराउने निर्णय गरेको हो ।

बैठकले मापदण्डबमोजिम बस स्टप व्यवस्था गरी स्टपमा मात्र यात्रु उकाल्ने र ओराल्ने व्यवस्था कडाइका साथ पालना गराउने निर्णय भएको नागरिक अभियन्ता रामबहादुर पौडेलले बताए ।

‘सहरी क्षेत्रमा सञ्चालित नगर बसलाई गति नियन्त्रण तथा ओभरटेक गर्न नपाउने व्यवस्था कडाइका साथ पालना गराउने निर्णय भएको छ’, उनले भने ।

निर्णय पालना गराउन नगर बसका चालक तथा सहचालकलाई सचेतनामूलक प्रशिक्षणको व्यवस्था जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वयमा गर्ने सहमति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *