मिसन ग्रासरुटमा खटिएका पदाधिकारी नै तोकिए उपचुनावमा एमालेका फिल्ड कमाण्डर – Nepal Press

मिसन ग्रासरुटमा खटिएका पदाधिकारी नै तोकिए उपचुनावमा एमालेका फिल्ड कमाण्डर

काठमाडौं । नेकपा एमालेले वैशाख १० गते हुने उपनिर्वाचन परिचालनका लागि केन्द्रीय पदाधिकारी खटाएको छ । मिसन ग्रासरुट अभियानको अनुगमनकर्ता उपाध्यक्ष र फिल्ड कमाण्ड गरिरहेका सचिवले उपचुनावको प्रत्यक्ष नेतृत्व गर्ने भएका छन् ।

मिसन ग्रासरुटमा खटिएका स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय सदस्यहरु जो उपनिर्वाचन भएका जिल्ला र क्षेत्रमा खटिएका छन् उनीहरु पनि चुनावी अभियानमा जोडिने एमालेले जनाएको छ ।

एमाले उपमहासचिव विष्णु रिमालले मिसन ग्रासरुटमा जसले जुन प्रदेशको कमाण्ड गरेका छन्, ती नै नेता उपचुनावको फिल्ड कमाण्डरको भूमिकामा रहने जानकारी दिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचन हुने तीन वटै क्षेत्रमा गएर चुनावीसभा गर्ने तयारी छ ।

बारा २ मा हुने उपनिर्वाचनको कमाण्डर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सचिव रघुवीर महासेठले गर्नेछन् । पोखरेल मधेस प्रदेशको मिसन ग्रासरुटको अनुगमनकर्ता हुन् भने महासेठ फिल्ड कमाण्डर हुन् ।

बारा २ मा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेल उम्मेदवार छन् । मधेसमै बसेर भूमिगत राजनीति गरेका वरिष्ठ उपाध्यक्ष पोखरेल र मधेस इन्चार्ज महासठेलाई एमालेले बारा २ मा खटाएको हो ।

त्यस्तै बागमती प्रदेशको मिसन ग्रासरुटका अनुगमनकर्ता उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव गोकर्ण विष्ट चितवन २ मा खटिनेछन् । चितवन २ मा यसअघि नै पोलिटव्युरो सदस्य गोकुल बास्कोटा खटिइसकेका छन् । सो क्षेत्रमा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।

उपचुनाव हुने तनहुँ १ मा एमालेबाट केन्द्रीय कमाण्ड उपाध्यक्ष युवराज ज्ञवाली र सचिव पद्मा अर्यालले गर्नेछन् । दुवै नेता गण्डकी प्रदेशको मिसन ग्रासरुटको अनुगमनकर्ता र फिल्ड कमाण्डर छन् । तनहुँ १ मा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सोही जिल्लाका नेता किरण गुरुङ खटिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर