प्रसाद-२ निर्माता सुवास थापाविरुद्ध साढे ६२ लाख रुपैयाँको चेक बाउन्समा मुद्दा दायर – Nepal Press

प्रसाद-२ निर्माता सुवास थापाविरुद्ध साढे ६२ लाख रुपैयाँको चेक बाउन्समा मुद्दा दायर

फिल्म रिलिज भएपछि हरहिसाब मिलाउने भन्दै सहयोग गर्न थापाको आग्रह

काठमाडौं । चर्चित निर्माता सुवास थापाविरुद्ध चेक बाउन्सको मुद्दा दर्ता भएको छ । काठमाडौं प्रहरी परिसरमा केशव पाण्डेले ६२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स मुद्दा दर्ता गरेका हुन् ।

काठमाडौं प्रहरी परिसरका निमित्त प्रवक्ता निरन्जन भट्टले अनुसन्धान भइरहेको बताए । ‘जाहेरी आएको छ । अनुसन्धान हुँदैछ’, डीएसपी भट्टले भने ।

यता निर्देशक थापाले सामाजिक सन्जालमार्फत आफूले समयमा रकम तिर्न नसकेको स्वीकार गर्दै प्रसाद–२ रिलिज भएपछि हरहिसाब मिलाउने भन्दै सहयोग गर्न आग्रह गरेका छन् ।

सामाजिक संजालमा स्टाटस लेख्दै आफ्नो नियत गलत नभएको बताएका छन् ।

उनले लेखेका छन्, ‘मेरो नियत खराब हैन नियतिको कारण मैले वचन पूरा गर्न नसकेको हो । चलचित्र रिलिजपछि सबै रकम पहिला तिर्नु पर्नेलाई तिरी मात्र‌ म आफ्नो भागको रकम लिनेछु।’

सुरुवाती दिनबाट नै विवादमा जेलिँदै आएको यो चलचित्र माघ मै रिलिज हुने कुरा थियो । माघमा रिलिज गर्ने तयारीका कारण थापाले तिर्नुपर्ने रकम माघ पछिको भाखामा तिर्ने वचनवद्धता प्रकट गरेका थिए । तर, चलचित्र समयमा रिलिज हुन नसक्दा उनी आफ्नो वचनबाट चुके ।

उनले चलचित्र रिलिजको सम्पूर्ण तयारीमा रहेको हुँदा चलचित्र प्रदर्शनमा सहयोग गरिदिन सबैमा अनुरोध गर्दैै लेखेका छन, ‘मेरो नियत खराब होइन ।

नियतिको कारण मैले वचन पुरा गर्न नसकेको हुँ । चलचित्र रिलिजपछि सबै रकम पहिला तिर्नुपर्नेलाई तिरेर मात्र म आफ्नो भागको रकम लिनेछु ।’

चलचित्र रिलिजपछि हलबाट आउने सबै रकम चलचित्रसँग सम्बन्धित कुनै संस्थामा रहने र सबैको हिसाब त्यहीबाट तिर्नुपर्नेलाई दिने कुरा उनले आफ्नो स्टाट्समा उल्लेख गरेका छन् ।

‘यो चलचित्रमा धेरैको मेहेनत छ । तसर्थ, सबै मिलेर चलचित्र रिलिज हुने बाताबरण बनाई सबैको रकम चलचित्र प्रदर्शनपछि प्राप्त हुने गरि गरिदिन हुन सबै सरोकारवाला संघ संस्था, व्यक्तिमा आग्रह गर्दछु’,उनी थप्छन् ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् भने चलचित्रको कथा सुशिल पौडेलले लेखेका हुन् ।

यसअघि पाण्डेले थापाविरुद्ध चलचित्र विकास बोर्डमा पनि उजुरी दिएका थिए । उनले चलचित्रको सेन्सर रोक्न माग गरेका छन् । प्रसाद २ आगामी शुक्रबारबाट रिलिज हुने भनिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *