उत्साही हुँदै पौडेलले भने- बारा २ मा एमालेले जित्ने संकेत आयो, नेताको गठबन्धन जनताले खारेज गर्छन् – Nepal Press

उत्साही हुँदै पौडेलले भने- बारा २ मा एमालेले जित्ने संकेत आयो, नेताको गठबन्धन जनताले खारेज गर्छन्

बारा । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले बारा २ मा एमालेले जित्ने परिस्थिति बनेको दावी गरेका छन् । एमाले उम्मेदवार पौडेलले विगतमा एमालेले जितेको यो क्षेत्रमा पछिल्लो समय अरु पार्टीले जित्दा विकास निर्माणको काम पछि परेको दाबीसमेत गरे ।

एमालेका मधेस इन्चार्ज रघुवीर महासेठ, पूर्वमन्त्री तथा सोही जिल्ला क्षेत्र नम्बर ३ की सांसद ज्वालाकुमारी साह, अच्युत मैनाली, बलवीर चौधरीगायतका नेता कार्यकर्ता र समर्थकसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएपछि पौडेल उत्साही देखिए ।

स्थानीय भाषामा सम्बोधन गर्दै पौडेलले भने ‘बारा (२) ४८ सालमा एमालेले जितेको क्षेत्र हो, ५६ सालमा पार्टी फुट्दा पनि एमालेले जितेको क्षेत्र हो’,अहिले फेरि जित्ने संकेत आएको छ । एमालेका कार्यकर्ता मात्रै हैन, न्यायप्रेमी जनता, मजदुर, किसान, महिला, दलित, मधेसी, मुस्लिम उत्पीडित वर्ग जाति एमालेको पक्षमा खडा छन् ।

बारा- २ मा गठबन्धनले काम नगर्ने उनको भनाइ छ ।

‘गठबन्धन नेताहरूबीचको हो । जनताको बीचको होइन’, उनले भने, ‘नेपाली जनता राष्ट्रियताको संरक्षण चाहन्छ, लोकतन्त्रको सुद्दृढीकरण, देशको विकास निर्माणको नेतृत्व चाहन्छ । एमाले यो गरेर देखाइसकेको छ । त्यसैले बारा-२ मा एमालेले जित्छ ।’

एमालेलाई राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न जनताले उपनिर्वाचनमा मतदान गर्ने उनले दाबी गरे । बारामा सत्ता गठबन्धनबाट जसपाका उपेन्द्र यादव र जनमत पार्टीबाट शिवचन्द्र कुशवाह उम्मेदवार छन् । रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दर्ता गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर