उफ ! यो कस्तो अन्तर्वार्ता ? – Nepal Press
ब्लग

उफ ! यो कस्तो अन्तर्वार्ता ?

सञ्चारकर्मी प्रकाश सुवेदीले नायिका आँचल शर्मासँग गरेको ‘अन्तर्वार्ता’ अहिले चर्चामा छ । खासमा यो नाममात्रको अन्तर्वार्ता हो । पूरा शो हेर्दा पत्रकार र सेलिब्रिटीको प्रश्नोत्तरभन्दा लोकसेवाको मौखिक परीक्षा जस्तो भान हुन्छ । कार्यक्रममा आँचल नर्भसमात्रै छैनन्, असिनपसिन नै बनेकी छन् ।

कलाकारलाई अन्तर्वार्ताका लागि बोलाएर उनीहरुको सामान्य ज्ञानको जाँच लिँदै आएका पत्रकार सुवेदीले आँचलका रुपमा खोजे जस्तो पात्र पाए । आँचलले चर्चित नेताहरु पनि चिन्न सकिनन् । उनी आफूले राम्रो तयारी गरेर आएको र थुप्रै व्यक्तिको नामसमेत रटेर आएको बताइरहेकी थिइन् । तर पनि उत्तर दिन नसकेर लज्जित भइन् । सुवेदीको ‘मिसन बेइज्जती’ सफल भयो । अन्तर्वार्ताका क्लिप्सहरु भाइरल छन् टिकटकतिर । सुवेदी अर्को ‘शिकार’ को खोजीमा हाेलान् ।

नेपाली चलचित्र पत्रकारिताका एक ‘लिजेन्ड’ हुन् प्रकाश सुवेदी । उनी पत्रकारमात्र नभएर निर्देशकसमेत हुन् । नेपाली चलचित्र क्षेत्रका कुनाकाप्चादेखि कलाकारका निजी जीवन सबै उनलाई थाहा छ । उनको टेलिभिजन कार्यक्रम धेरैले हेर्छन् पनि । तर, सुवेदीले आफ्नो कार्यक्रममा चलचित्र क्षेत्रका मुद्दाहरुमाथि गम्भीर र सन्तुलित विमर्श वा समालोचना गरेको प्रायः भेटिँदैन । कलाकारहरुलाई बोलाएर उनीहरुको पेशासँग असम्बन्धित अन्टसन्ट प्रश्न सोधेर ‘खुइल्याउने’ धन्धामै लिप्त छन् । आफू निकटका दुई-चार जनालाई उचाल्ने र अरु सबैलाई पछार्ने दिनचर्यामै उनको पत्रकारिता ध्वंस भइरहेको छ ।

एउटा कलाकारको मूल्यांकन उनीहरुको सामान्य ज्ञानबाट गर्ने कि कलाकारिताबाट भन्ने प्रश्न उठ्छ । केही समयअघि सुवेदीकै कार्यक्रममा आएका अभिनेता सौगात मल्लले फोटो देखाइएका कसैको पनि नाम भन्न सकेनन् । अस्ति भर्खर विपीन कार्कीले पनि धेरै ठूला ‘हस्ती’ हरु चिनेनन् । अब के सौगात र विपीनलाई हामीले गयगुज्रेका कलाकार मान्ने ? कलाकारहरुले कलाकारिता बाहिरका कुरामा चासो राख्नैपर्छ भन्ने बाध्यता हुन्छ र ? कलाकारिताभित्रैका पनि सबैलाई चिन्नैपर्छ भन्ने केही छ ?

कलाकारहरुलाई बोलाएर उनीहरुको पेशासँग असम्बन्धित अन्टसन्ट प्रश्न सोधेर ‘खुइल्याउने’ धन्धामै लिप्त छन् । आफू निकटका दुई-चार जनालाई उचाल्ने र अरु सबैलाई पछार्ने दिनचर्यामै उनको पत्रकारिता ध्वंस भइरहेको छ ।

अब आँचल शर्माकै प्रसंगमा फर्किउँ । करिब १ घन्टाको कार्यक्रममा चलचित्र उद्याेग वा उनको करिअरसँग सम्बन्धित गम्भीर प्रश्नोत्तर १० मिनेट पनि भएको छैन । बरु उनका व्यक्तिगत जीवनलाई समेत असर पार्ने खालका विल्कुलै असंवेदनशील प्रश्नहरु सोधेका छन् सुवेदीले । यतिमात्र होइन, उनको सुन्दरतालाई नै होच्याउनेसमेत प्रयास गरेका छन् ।

सुरुमै सुवेदीले आँचललाई उनको ‘नाक’ का विषयमा घोचपेच गर्छन् । यतिसम्म भन्छन्, ‘तपाईं मलाई हिजो अप्सरा जस्तै लाग्थ्यो । तर, श्रीमानको क्लिनिकमा नाकको प्लास्टिक सर्जरी गरेपछि त खोइ कस्ती हुनुभयो ?’

सुवेदीको दृष्टिकोणमा एउटा युवतीको सुन्दरता उसको नाकको प्वालमा निर्भर हुनेरहेछ । आँचलका अनुसार उनको नाकको एउटा प्वाल टालिएको जस्तो थियो । त्यसले सास फेर्नमा समेत कठिनाइ भएपछि उनले श्रीमानको क्लिनिकमा सर्जरी गरेर ठीक बनाएकी हुन् । आँचलका श्रीमान प्लास्टिक सर्जन भएकाले उनलाई सजिलो भयो । तर, नाकको एउटा प्वाल खोल्दा आँचल ‘अप्सरा’ बाट एकाएक ‘डायन’ बन्न पुगेकोजस्ताे सुवेदीको  आशय थियो ।

ठीक छ, नायिकाको शारीरिक सुन्दरता पनि सार्वजनिक चासोको विषय हुनसक्छ भनेर यो प्रसंगलाई छोडिदिउँ । तर, के एउटी विवाहित महिलालाई उनको श्रीमानको पूर्वप्रेमिकाको तस्वीर देखाएर लज्जित बनाउनु जायज हो ? सुवेदीले आँचलका पति र उनकी ‘पूर्वप्रेमिका’ बीचका अन्तरंग तस्वीरसमेत देखाउँदै केही ‘बेहुदा’ प्रश्न सोधेः

‘उहाँलाई कुन रुपमा चिन्नुहुन्छ ?’

‘तपाईंको उहाँसँग भेटघाट-बोलचाल हुन्छ ?’

‘उदीपजीसँग पनि उहाँको हेल्लो हाई केही हुन्छ ?’

कुन रुपमा चिन्नुहुन्छ भन्ने प्रश्नको जवाफ दिँदा आँचलले पनि विवेक पुर्‍याएकी छैनन् । सुरुमा त उनले भलिबल खेलाडीमात्र भन्छिन् । तर, सुवेदीले ‘त्योभन्दा बाहेक ?’ भनेर सोधेपछि उनले चाहेकै जवाफ दिन्छिन्, ‘उदीपजीकी पूर्वप्रेमिका ।’

कतिपय कलाकार नाम होस् या बदनाम तर, गुमनाम नहोस् भन्ने मान्यतामा विश्वास राख्छन् । कतिपय भाइरल हुनुमै मजा मान्छन् । त्यही भएर उनीहरुलाई गाली आए पनि मतलब छैन, केवल चर्चा कमाउनु छ ।

उनले यो भनिरहनु अनावश्यकमात्रै होइन कि अनुचितसमेत थियो । यसले उनको आफ्नै र सम्बन्धित युवतीको गोपनियता उलंघन भएको छ । जवाफ दिइरहँदा आँचलले आफूभित्रको ऐंठनलाई बनावटी मुस्कानले ढाक्ने प्रयास गरिन् ।

सुवेदी यतिमा मात्र रोकिँदैनन् । उनी आँचलको पनि विगत कोट्याउन खोज्छन् ।

‘विगत सबैको हुन्छ, तपाईंको विगतबारे पनि भनिदिनु न अलिकति ?’ सुवेदीले सोधेका छन् । यसमा चाहिं आँचल जोगिइन् । उनले बिहेअघि आफ्नो प्रेमी नभएको भन्दै पन्छिन सफल भइन् । सुवेदी निराश देखिए । थप खोतल्न सकेनन् ।

एउटा लिजेन्ड पत्रकारले यस्ताे थेत्तराे प्रश्नोत्तर गरिरहँदा ध्यानमा राख्नुपर्थ्यो कि आँचल एक विवाहित महिला हुन् र एउटा परिवारकी बुहारी हुन् । उनको परिवारका सदस्यहरुले यो अन्तर्वार्ता हेर्दा कस्तो लाग्दो हो ? प्रकाश सुवेदी पनि आफैं छोरीका बुवा हुन् नि ! उनले गत वर्षमात्रै आफ्नी छोरीको कन्यादान गरेका थिए । अब मानौं उनकी छोरी पनि कलाकार थिइन् र पत्रकारले उनलाई उनको श्रीमानकी पूर्वप्रेमिकाको तस्वीर देखाएर टिप्पणी गर्न लगाउँथे भने सुवेदीजीलाई कस्तो लाग्थ्यो ?

कार्यक्रममा विनामतलब सुवेदीले आँचलको पासपोर्ट र नागरिकतासमेत प्रदर्शन गरेका छन् । यस्ता नितान्त निजी कागजात एउटा राष्ट्रिय टेलिभिजनले सार्वजनिक प्रदर्शन गर्न मिल्छ कि मिल्दैन ? सञ्चारमाध्यमले विवादित विषयमा लेखिएका कुनै समाचार पुष्टि गर्नका लागि यस्ता व्यक्तिगत डकुमेन्ट प्रकाशित गर्छन् । तर, यहाँ त्यस्तो केही विषय पनि थिएन ।

अब एउटा प्रश्न उठ्छ, प्रकाश सुवेदीले आफ्नो शोमा बोलाएर बेइज्जत नै गर्ने हो भनेर जान्दाजान्दै कलाकारहरु किन उनको कार्यक्रममा जान मरिहत्ते गर्छन् ? आँचल पनि यो कार्यक्रममा दोहोर्‍याएर होइन तेहेर्‍याएर गएकी छन् ।

सुवेदीको निम्तो अस्वीकार गरेर आगामी एपिसोडमा कसरी उनले धतुरो झार्छन् भन्ने धेरै कलाकार भुक्तभोगी छन् । आफूले अभिनय गरेको फिल्म चल्दा सुवेदीले नकारात्मक टिप्पणी गरिदिएर व्यापार प्रभावित हुने अर्को खतरा छ ।

विगतमा सुवेदीसँग काम गरिसकेका एक पत्रकारका अनुसार यसका दुई कारण छन् । एउटा पब्लिसिटीको लोभ । उनको कार्यक्रम धेरैले हेर्ने भएकाले दर्शकको नजरमा परिन्छ भन्ने हुन्छ । कतिपय कलाकार नाम होस् या बदनाम तर, गुमनाम नहोस् भन्ने मान्यतामा विश्वास राख्छन् । कतिपय भाइरल हुनुमै मजा मान्छन् । उनीहरुलाई गाली आए पनि मतलब छैन, केवल चर्चा कमाउनु छ ।

दोस्रो कारण हो, मजबुरी । कार्यक्रममा सुवेदीको निम्तो अस्वीकार गरे आगामी एपिसोडमा कसरी उनले धतुरो झार्छन् भन्ने धेरै कलाकार भुक्तभोगी छन् । आफूले अभिनय गरेको फिल्म चल्दा सुवेदीले नकारात्मक टिप्पणी गरिदिएर व्यापार प्रभावित हुने अर्को खतरा छ । त्यसैले बरु बेइज्जती सहने, तर सुवेदीलाई नचिढ्याउने पक्षमा छन् धेरै कलाकार । कतिपय कलाकार भने अहिले पनि उक्त शोमा अन्तर्वार्ता दिन जाँदैनन् ।

प्रकाश सुवेदी नै हुन्, जसले एकपटक नायिका पूजा शर्मालाई ‘दाह्रा निस्केकी नायिकालाई हामीले महानायिका भनिदिनुपर्ने ?’ भन्दै अनर्गल टिप्पणी गरेका थिए । सो टिप्पणीपछि टेलिभिजनले समेत उनलाई कारबाही गरेर सुवेदीको कार्यक्रम निलम्बनमा पारेको थियो । तर, भ्यूजको लोभमा फेरि यसलाई फर्काइएको हो । र, सुवेदीले आफ्नो उही शैलीलाई निरन्तरता दिए । यही शैलीले गर्दा सुवेदीलाई ‘चिप्ल्याउने अंकल’ भन्ने गरिएको छ ।

सुवेदी निकट अर्का एक पत्रकार टिप्पणी गर्छन्, ‘उहाँ जस्तो भेट्रान पत्रकारले त सिंगो चलचित्र क्षेत्रलाई सही मार्गदर्शन गर्नुपर्ने हो । चलचित्र क्षेत्रको छवि उजिल्याउन प्रयास गर्नुपर्ने हो । तर, ठ्याक्कै उल्टो बाटोमा हुनुहुन्छ । चलचित्र पत्रकारिताको ऋषि धमला बन्न खोज्नुभएको छ । भाइरल हुनुमै रमाइरहनुभएको छ । खोइ कहिलेसम्म हो ?’


प्रतिक्रिया

One thought on “उफ ! यो कस्तो अन्तर्वार्ता ?

  1. त्यस्तै प्रश्न साेधेकाे भएर उनकाे याे शाे चलेकाे छ । साेध्नेले जे साेधाेस, उत्तर दिनेले जे दिवाेस तर क्यामेरा र बुम तेर्साएका बाेली र भिडियाे अन्तरर्वार्ता भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *