लुम्बिनीका मुख्यमन्त्री गिरी भन्छन्- विश्वासको मत लिएर अगाडि बढ्छौं – Nepal Press

लुम्बिनीका मुख्यमन्त्री गिरी भन्छन्- विश्वासको मत लिएर अगाडि बढ्छौं

रुपन्देही । लुम्बिनी प्रदेशमा रहेका ८ दलले मुख्यमन्त्री लीला गिरीलाई हटाएर कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गरिरहेका बेला मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गर्ने संविधानमै व्यवस्था भएकाले सोहीअनुसार अगाडि बढ्ने बताएका छन् ।

आज दाङको तुलसीपुर उपमहानगरपालिकाको व्यापारिक भवनको शिलन्यास कार्यक्रममा मुख्यमन्त्री गिरीले आफूले कानुनी आधारमै रहेर अगाडि बढ्ने बताएका हुन् ।

‘अस्थिरताकै कारण मुलुकको समृद्धिको मार्ग अवरुद्ध भएको छ । अस्थिरतालाई आन्तरिक र बाह्य तत्वहरुले प्रशय दिइरहेका छन्’, मुख्यमन्त्री गिरीले भने, ‘हाम्रो प्रदेशमा पनि अस्थिरताको सुरुवात भइसकेको छ । छोटो समयमै सरकार परिवर्तनको खेल चलेको छ । सरकार कानुनको पालना गर्दै अगाडि बढ्छ ।’

अस्थिरताको अन्त्य नगर्दासम्म मुलुकले लक्षित उपलब्धी हासिल गर्न नसक्ने भन्दै मुख्यमन्त्री गिरीले आन्तरिक र बाह्य तत्वका कारण अस्थिरता निम्तिएको उनको भनाइ थियो ।

मुख्यमन्त्री गिरीले तीन तहकै सरकारबीच समन्वय सहकार्य सहकार्यबाट नै विकास र समृद्धिको मार्गमा बढ्न सकिने बताएका छन् । मुख्यमन्त्री गिरी भने, ‘स्थानीय, प्रदेश र संघ सरकारको समन्वय र सहकार्यबाट विकासमा दिगोपन र एकरुपता देखिन्छ ।’

दाङको विकासका लागि कोइलाबास नाकालाई व्यवस्थित तुल्याउँदै कोइलाबासदेखि गढवासम्म सुरुङमार्ग निर्माणको कार्यलाई अघि बढाइनुपर्ने भन्दै मुख्यमन्त्री गिरीले भारतको उत्तर प्रदेश र विहार प्रदेशका पर्यटकहरुलाई कोइलाबास हुँदै ऐतिहासिक, धार्मिकस्थल स्वर्गद्वारीसम्म पुर्याउनका लागि पर्यटकीय मार्गकारुपमा अघि बढाइने बताए ।

कृषिको माध्यमबाट समृद्धिको यात्रा तय गर्नुपर्ने भन्दै मुख्यमन्त्री गिरीले कृषि क्षेत्रमै परनिर्भरताको बाटो अपनाउँदा देशमा आर्थिक संकट उत्पन्न हुँदै गएकाले कृषिजन्य वस्तु उत्पादनका लागि प्रदेश सरकारले विशेष कार्यक्रम अघि बढाउने बताए ।

‘मुलुकको समृद्धिका लागि ठूलाठूला उद्योग, कलकारखाना खोलेर मात्रै हुँदैन । कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्नुपर्दछ’, मुख्यमन्त्री गिरीले भने, ‘कृषिको माध्यमबाट समृद्धिको यात्रा तय गर्नुपर्दछ । कृषि, पर्यटन नै समृद्धिका प्रमुख माध्यम हुन् ।’

कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले एक स्थानीय तह एक व्यापारिक भवनअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाले व्यापारिक भवन निर्माण गर्न थालेको बताए ।

नगर विकास कोषको र तुलसीपुर उपमहानगरपालिकाको संयुक्त लगानीमा २२ करोड २९ लाख ३३ हजार ६०३ रुपैयाँको लागतमा समानान्तर, डाइनामिक नारायणम् जेभीले निर्माण गर्न थालेको हो । २०८१ चैत २९ गते भवन निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर