रविलाई बीपी कोइरालासँग तुलना गर्दा स्वर्णिम वाग्लेको ट्रोल – Nepal Press

रविलाई बीपी कोइरालासँग तुलना गर्दा स्वर्णिम वाग्लेको ट्रोल

काठमाडौं । कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले यतिबेला विभिन्न कोणबाट चर्चामा छन् ।

उनको कदमको स्वागत र आलोचना जारी रहँदा हिजो उनले चितवनमा दिएको अभिव्यक्तिलाई लिएर भने सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ ।

हिजो चितवनका मतदातामाझ रास्वपा सभापति रवि लामिछाने र वाग्ले एकसाथ देखिएका थिए । त्यहीबेला सञ्चारकर्मीसँग स्वर्णिमले छोटो कुराकानी गर्दा रविलाई कांग्रेसका ‘महामानव’ बीपी कोइरालासँग तुलना गर्न भ्याए । भर्खरै राजनीतिमा उदाएका युवालाई वीपी कोइरालाजस्तो क्रान्तिकारी नेतासँग तुलना गर्दा उनको ट्रोल भएको हो ।

सञ्चारकर्मीसँग स्वर्णिमले यस्तो भनेका थिएः

…एउटा असाध्यै नराम्रो… बीपी कोइरालाको कांग्रेस अब रहेन… त्यसैले अबको नयाँ… वास्तवमा तुलनै गर्ने हो भने रविजी, १५ सालको बीपी कोइरालाले नेतृत्व गरेको… त्यस्तो भिजन भएको, उर्जा भएको, आदर्श बोकेको, देशलाई निश्चित समयसीमाभित्र यहाँ पुर्याउँछु भन्ने हुट्हुटीका साथ तपाईंको नेतृत्वमा त्यो उर्जा र भिजन देखिराख्या छ नि… तुलना गर्न मिल्छ…

त्यसपछि पत्रकारले भन्छन्, ‘तपाईंले बीपी कोइरालासँग रविजीलाई तुलना गर्नुभयो होइन ?’

स्वर्णिम प्रष्ट पार्छन्, ‘होइन… मैले उर्जा र स्पिरिटमा… त्यो हुटहुटी, एम्बिसनको हिसाबले देश बनाउने भिजन उर्जा र महत्वाकांक्षा… देशलाई यहाँ पुर्याउँछु भन्ने मिसनमा केही तुलना गर्न मिल्छ ।

रविले पनि थप्छन्, ‘हुटहुटी र केही गरौं भन्ने भावनाको कुरा हो… उहाँसँग तुलना गर्ने त कुरै भएन ।

स्वर्णिमको टिप्पणीमाथि धेरैले आलोचना र व्यंग्य गरिरहेका छन् । उनको यो शैलीलाई कतिले ‘चाटुकारिता’ को संज्ञासमेत दिएका छन् ।

कांग्रेस कार्यकर्ता शर्मिला आचार्यले लेखेकी छन्- ‘तिम्रो बौद्धिकताको राम्रो मापन भयो वाग्ले जि ! हेक्का रहोस् बीपी कोइरालासँग तुलना योग्य कोही नेता अहिलेसम्म नेपालमा जन्मेको छैन् !’

मधुकर खनाल लेख्छन्, ‘महामानव बीपी कोइरालाको अपमान गर्ने व्यक्ति कसरी प्रजातन्त्रबादी हुन् सक्छ ? अनि उसको विद्वत्ता कसरी देश सेवामा प्रयोग हुन्छ ? बीपीको गुरुत्व नबुझ्ने मानिस कसरी यतिका वर्ष नेपाली कांग्रेस भएर बस्यो ? यो सबैको एउटै उत्तर उ अवसर बादी हो, थियो र हुनेछ ।’

निराजन शर्माले लेखेका छन्, ‘स्वर्णियम दाजुले अर्थशास्त्रमा एजम् गरेका हुन कि चाटुकारितामा ? जनता जान्न चाहन्छन्!’

कतिपयले चाहीँ स्वर्णिमको बचाउमा पनि लेखिएरहेका छन् ।

मिलन बुढाथोकीले लेखेका छन् ‘स्वार्णिम वाग्लेले भिडियोमा स्पष्टसँग भनेका रहेछन् कि ब्यक्ती होइन उर्जाको तुलना हो भनेर । बाङ्बुङ बनाएर जे पनि भनिदिने ? उडाइदिने ? ओराली लागेको मृग भन्दै बाछाले खेदेजस्तो खेद्ने ? अचम्म चाहिँ- हिजो स्वर्णिम हिरा हुन् भन्नेले बढि खेदिराछन । हे अचम्म !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर