सरकार ! भासिएको कमला पुलमा सर्वसाधारणले भोगिरहेको सास्ती कसले देख्ने ? – Nepal Press

सरकार ! भासिएको कमला पुलमा सर्वसाधारणले भोगिरहेको सास्ती कसले देख्ने ?

जनकपुरधाम । निर्माण नसकिँदै भासिएको कमला नदीको पुलको तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री नारायणकाजी श्रेष्ठले फागुन १५ मा निरीक्षण गरे । मन्त्रीको अनुगमनमा गाडीदेखि कार्यकर्ताको लावालस्करले तामझाम बढी गरिएको भन्दै आलोचना भएको थियो ।

दुई वर्षअघि भासिएको पुल हेर्न नदीमै पुगेका मन्त्री श्रेष्ठले सिरहा र धनुषाबासीले नदीमा भोगिरहेको सास्ती देखे ।

उनले हुलाकी सडक आयोजनाका अधिकारी र पुल निर्माण कम्पनीका पदाधिकारीलाई निर्देशन दिए, ‘जनताको सास्ती देखेर अत्यन्त दुःख लाग्यो । तपाईँहरू तत्कालै सवारी साधन गुड्नेगरी ह्युमपाइप राखेर डाइभर्सन तयार गर्नुस् । यो भएन भने ठीक हुँदैन ।’

उनले दुई साताभित्र पुल पुनः निर्माणको काम पनि सुरू हुने प्रतिबद्धता जनाएका थिए । पुल पुनःनिर्माणको काम त सुरु भएन, डाइभर्सन भने बनाइयो । तर ह्यूमपाइप राख्दा माटो दिनुपर्ने ठाउँमा बालुवा राखेर बनाएको डाइभर्सन एकसाता पनि टिकेन । भत्कियो ।

डाइभर्सन भत्केपछि फेरि पनि जनता २० रुपैयाँ भाडा तिरेर स्थानीयले बनाएको बाँसको अस्थायी पुलबाट आवात जावत गर्न थाले । दुई दिनअगाडि बाढी आएपछि अस्थायी पुल पनि डुब्यो । र, अहिले डुङ्गामा सर्वसाधारण नदी आरपार गर्न बाध्य छन् ।

डुङ्गा चलाउने व्यक्तिले प्रतिमोटरसाइकल र व्यक्ति ५० रूपैयाँ असुल्छन् । साइकल लिएर डुङ्गा चढ्दा पनि ५० रूपैयाँ तिर्नुपर्छ । सवारी साधन नभएकासँग २० रुपैयाँ लिन्छन् ।

तर, विद्यार्थी तथा बनिबुतो गर्न हिँडेका, विपन्नले पैसा अभावमा जोखिम मोलेर भासिएको पुल वा नदीबाटै आवतजावत गरिरहेका छन् ।

आइतबार त्यहाँ पुग्दा परीक्षा दिन हिँडेका विद्यार्थीले जोखिम मोलेर नदी पार गर्दै गरेको कारुणिक दृष्य देखियो ।

बाँस चढेर माथि पुलमा पुग्न अप्ठ्यारो छ । तर, धनुषाको कमला नगरपालिकाका बालबालिका यहीँबाट जोखिमका साथ परीक्षा दिन स्कूल धाइरहेका छन् ।

नदीमा बाढी आएको र डुङ्गा चढ्ने पैसा नभएकाले उनीहरू सधै खतरा मोलेर परीक्षा दिन पुग्छन् र फर्किन्छन् । एकजना माथि पुलमा चढेर साइकल तानिरहेको र तलबाट एकजना साइकल माथि लग्न मद्दत गरिरहेको फोटो हिजोआज सामाजिक सञ्जालमा जताततै देखिन्छ ।

४७० मिटर लामो पुल निर्माणका लागि २०६८ सालमा पौने २५ करोडमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षमा पुल निर्माण पूरा गर्नुपर्ने थियो । तर, ११ वर्ष लगाएर तयार भएको पुल उद्घाटन नहुँदै भासियो ।

कमसल निर्माण सामग्रीको प्रयोगका कारण पुल भासेको प्राविधिकहरू बताउँछन् । ठेकेदारमाथि कारबाही गर्न सरकारले नचाहेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *