सरस्वती क्याम्पसमा २५ वर्षपछि नेविसंघलाई जिताएका मुस्कानराज – Nepal Press

सरस्वती क्याम्पसमा २५ वर्षपछि नेविसंघलाई जिताएका मुस्कानराज

काठमाडौं । २०७३ सालमा बीबीएस पढ्न सरस्वती क्याम्पस छिरेका नुवाकोटका मुस्कानराज गौतम अहिले नेपाल विद्यार्थी संघको सभापतिमा निर्वाचित भएका छन् । व्यवसायमा आवद्ध परिवारमा हुर्किएका मुस्कान सानैदेखि राजनीतिप्रति लगाव राख्थे । उनका पिता पनि थोरबहुत राजनीतिमा सक्रिय थिए । तर, मुख्यतः व्यवसायमा पिताको बढीजसो समय व्यतित हुन्थ्यो ।

२०७३ सालमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको हल्ला हुँदैगर्दा क्याम्पस छिरेका मुस्कानले त्यही माहोलमा विद्यार्थी राजनीतिबारे थोरबहुत सिकेको बताउँछन् । उनी भन्छन्, ‘स्ववियुको हल्लाले ममा पनि तरंग ल्याएको थियो । अहिले त्यही तरंगले गर्दा सभापतिमा निर्वाचित भएँ ।’

तीन हजारभन्दा बढी मतदाता भएको सरस्वती क्याम्पसमा मुस्कान ७१९ मत ल्याएर निर्वाचित भए । निर्वाचनमा जम्मा एक हजार ३३४ मात्रै मत खसेको थियो । कम मत खस्नुमा विद्यार्थीहरु आ-आफ्नो जिल्ला गएका कारण र प्राविधिक कारण रहेको मुस्कानको ठम्याइ छ ।

सरस्वती क्याम्पसमा नेविसंघले २५ वर्षपछि विजयको झण्डा गाडेको हो । यसअघि २०५३ सालमा नेविसंघबाट सन्देश अधिकारी सभापतिमा निर्वाचित भएदेखि नेविसंघले यहाँ जित्न सकेको थिएन । यसपटक मुस्कानले क्रमभंग गरे ।

आफूलाई विद्यार्थीहरुले निर्वाचित गर्नुको कारणबारे मुस्कान भन्छन्, ‘निरन्तर रुपमा विद्यार्थीको माझमा बसेर काम गरिरहेको थिएँ । सामाजिक कार्यमा पनि सहभागी भइरहेको थिएँ । त्यसैले पनि मेरो जीत सुनिश्चित भएको हो ।’

मुस्कानले विभिन्न संघसंस्थामा पनि सक्रिय रुपमा काम गरेका छन् । रक्तदान शिविर, सरसफाइ कार्यक्रम, जनचेतनामूलक कार्यक्रममा पहिलेदेखि नै सक्रिय मुस्कान २०७१ सालमा आफ्नै नेतृत्वमा लायन्स क्लबको भ्रातृ संस्था स्थापना गरेर सामाजिक कार्यमा लागिपरेका थिए । पतञ्जली योगपिठ, लियो क्लब अफ काठमाडौं, नेपाल रेडक्रसलगायत संस्थामा पनि उनले काम गरिसकेका छन् । साथै उनी आफ्नै गार्मेन्ट व्यवसायमा पनि सक्रिय छन् ।

मुस्कान भन्छन्, ‘देशमा नै केही गर्नुपर्छ भन्ने मेरो मान्यता हो । युवा वर्गलाई देशमै केही गर्नुपर्छ भन्ने सन्देशसमेत म मेरा कामहरुमार्फत् दिन चाहन्छु । त्यसैका लागि यसपटक सभापतिमा उठेको थिएँ, साथीहरुले निर्वाचित गराउनुभयो ।’

अबको कार्यकालमा ई-पुस्तकालय स्थापना गर्ने, विद्यार्थीहरुको लागि नेतृत्व क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने, व्यवसाय सञ्चालनदेखि आत्मनिर्भर बन्नेसम्मका लेक्चरल कक्षाहरु सञ्चालन गर्ने मुस्कानको योजना छ ।


प्रतिक्रिया

One thought on “सरस्वती क्याम्पसमा २५ वर्षपछि नेविसंघलाई जिताएका मुस्कानराज

  1. निकटतम को थिए र कति मतको अन्तर भयो भन्ने कुरा यो समाचार टिप्पणीमा केही छैन त! यो पढेर जान्न मन लागेको केही पाइएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर