वाणगंगामा नक्कली बिल छापेर नदी उत्खनन गर्ने पक्राउ – Nepal Press

वाणगंगामा नक्कली बिल छापेर नदी उत्खनन गर्ने पक्राउ

रुपन्देही । कपिलवस्तुको वाणगंगा खोलाको नदीजन्य पदार्थ उत्खनन्को ठेक्का पाएको ठेकेदार कम्पनीले नक्कली बिल छापेर अवैध तरिकाले यस्ता सामग्री उठाएको गोप्य सूचनाको आधारमा अख्तियारका कर्मचारीले रसिदसहित पक्राउ गरेका छन् ।

वाणगंगा खोलाको मधुवन नाकामा नारायण अर्याल ठेकेदारको नाममा रहेको एनएस कन्ट्रक्सनले यसको ठेक्का पाएको थियो ।

नगरपालिकाबाट ६२ सय घनमिटर उठाउने ठेक्का पाएको यो कम्पनीले हालसम्म करिब ७० प्रतिशत सामग्री उठाइसकेको तथ्यांक नगरपालिकाले राखेको छ ।

तर केही समययता थोरै समयमा धेरै सामग्री उठाउन कम्पनीले नक्कली बिल छापेर प्रयोग गरेको सूचनाका आधार अख्तियार दुरुपयोग अनुसन्धानको विशेष टोलीले नगरपालिकाबाट प्रमाणित नै नभएको रसिदका ठेलीसहित आइतबार पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सूचना अधिकारी रामकृष्ण अधिकारीले उक्त स्थानमा छापा हानी नगदी रसीद नियन्त्रणमा लिएर आवश्यक छानबिन सुरु गरिएको जानकारी दिए ।

नगरपालिकाका राजश्व प्रमुख मदन घिमिरेले नक्कली रसिदको आधारमा अख्तियारले यसरी पक्राउ गरेको पुष्टि गरेका छन् ।

’हामीले ठेक्का दिएपछि बेलाबेलामा अनुगमनमा जाँदा ठिकै थियो, हामीले प्रमाणित गरेकै रसिद भेटिन्थे तर अख्तियारले आज भेटाएकोमा त धेरै नक्कली र हामीले प्रमाणित नगरेका रसिद भेटिए, हामीलाई नै अचम्म लाग्यो’, उनले भने ।

सो कम्पनीले फागुनको २ गते ठेक्का सम्झौता गरी ३ गतेबाट खन्न सुरु भएको थियो ।

जेठ मसान्तसम्म खन्न पाउने भएपनि त्यो बीचमा आवश्यक सम्झौताभन्दा बढी सामान आउनसक्ने भएका कारण यसरी नक्कली रसिदको प्रयोग गरिएको हुनसक्ने अनुमान नगरपालिकाको छ ।

अख्तियारका कर्मचारीले यसरी उठाउँदै गरेका करिब १४ ठेली नियन्त्रणमा लिएपनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

स्थानीयले नगरपालिकाले ठेक्का दिएर आफ्नो रकम लिएपछि नगरपालिकाका केही कर्मचारीको मिलेमतोमा यस्तो गरिएको हुनसक्ने आशंका गरेका छन् ।

नगरपालिकाका राजश्व प्रमुख घिमिरेले कर्मचारीको मिलेमतोभन्दा पनि अनुगमन गर्न नसकेको स्वीकार गरेका छन् ।

’हामीले अनुगमन गर्नुपर्ने हो, नियमित त्यसमा कमजोरी भयो भन्ने कुरा अख्तियारको पक्राउले नै पुष्टि भयो’– उनले भने, ‘रसिद छापेर नगरपालिकाले दिने गरेको थियो प्रमाणित गरेर, अहिले आफैं छापेर प्रयोग गरे्को पाइयो ।’

ठेकेदार कम्पनीलाई कालोसूचिमा राख्नसक्ने, नक्कली रसिद प्रयोग गरेअनुसार कारबाही हुनसक्ने अख्तियारका कर्मचारीले बताएका छन् ।

कूल ठेक्का २ कसेड ५१ लाख ११ सय ११ भ्याटसहित परेकोमा उक्त कम्पनीले नगरपालिकालाई १ करोड ७० नगद र अन्य बैंक ग्यारेन्टी बुझाइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर