अनेमसंघद्वारा निःसहाय सेवा सदनका जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग – Nepal Press

अनेमसंघद्वारा निःसहाय सेवा सदनका जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग

काठमाडौं । अखिल नेपाल महिला संघले आइतबार काठमाडौंको शान्तीनगरस्थित निःसहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहमा रहेका वृद्धवृद्धाहरुका लागि खाद्यान्न सहयोग गरेको छ ।

अनेमसंघले राष्ट्रिय सम्मेलनको अवसर पारेर असहायहरुलाई सहयोग गरेको हो । यही चैत २५ र २६ गते काठमाडौंमा अनेमसंघले राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ । अनेमसंघका इन्चार्ज सीता पौडेलको नेतृत्वमा पुगेका नेताहरुले उनीहरुलाई चामल लगायतका खाद्यान्न सहयोग गरेका हुन् ।

निःसहाय सेवा सदनका प्रशासकिय अधिकृत प्रेम उप्रेतीलाई महिला नेताहरुको टोलीले बृद्धबृद्धाहरुका लागि आवश्यक पर्ने खाद्यन्न हस्तान्तरण गरेको हो । सो अवसरमा अधिकृत उप्रेतीले नेताहरु समक्ष वृद्धवृद्धाहरुको हकमा केही नीति निर्माणको काममा सहयोगी भूमिका खेल्न आग्रह गरे ।

उनले अहिले सो आवास गृहमा ३५ जना आश्रित रहेको र उनीहरुमध्ये केहीको जिवनमा नीतिगत समस्या रहेको बताए । नागरिकता नभएका र सन्तान पनि नभएका वृद्धवृद्धाहरुले विभिन्न समस्या भोग्नुपरेकाले उनीहरुका लागि नागरिकता निर्माणमा नीतिगत सुधार गर्नुपर्ने आवश्यकता भएकाले त्यसका लागि पहल गर्न आग्रह गरे ।

उनले सेवा सदनमा जिन्सी भन्दा पनि आर्थिक सहयोगको आवश्यकता रहेको बताए । उनले भने, दाताहरु जिन्सी सामान धेरै लिएर आउनुहुन्छ कहिलेकाहीं ति वस्तुहरु आवश्यकता भन्दा बढी भएकाले अन्य वृद्धाश्रम वा बालआश्रममा पठाउनुपर्छ ।

तर नगद लिएर कोही आउनुहुन्न । जेष्ठ नागरिक अनुकुलका १२ शौचालय निर्माण गर्नु अत्यावश्यक छ । त्यसका लागि ५ सय नै सहयोग गर्नुभए पनि हाम्रालागि त्यो निकै धेरै हुन्छ ।

उनले लत्ता कपडा र अन्य जिन्सी सामान भन्दा पनि आर्थिक सहयोगका लागि आग्रह गरेका छन् । अनेमसंघले राष्ट्रिय सम्मेलनका लागि भन्य रुपमा सम्पन्न गर्न विभिन्न साप्ताहिक कार्यक्रमको घोषणा गरेको छ । सो अवसरमा शनिबार बागमती सरसफाइ कार्यक्रम गरेको थियो भने आइतबार जेष्ठ नागरिकहरुका लागि सहयोग कार्यक्रम गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर