थासाङ गाउँसभा विवाद : उपाध्यक्षले गरे बहिष्कार, प्रवक्ता भन्छन्- नआउने अनि समावेश गरिएन भन्न मिल्छ ? – Nepal Press

थासाङ गाउँसभा विवाद : उपाध्यक्षले गरे बहिष्कार, प्रवक्ता भन्छन्- नआउने अनि समावेश गरिएन भन्न मिल्छ ?

पोखरा । मुस्ताङको थासाङ गाउँपालिकाको ११ औं गाउँसभा चैत १८ गते बिहान ८ बजेलाई तोकिएको थियो । तर, तोकिएको लामो समयसम्म पनि केही जनप्रतिनिधि उपस्थित भएनन् । पुनः गाउँसभा दिउँसो ४ बजेका लागि सारियो । ४ बजेसम्म पनि जनप्रतिनिधि उपस्थित नभएपछि गाउँ सभा चल्न सकेन र स्थगित हुन पुग्यो ।

गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनसहित ४ वडाध्यक्ष गाउँ सभामा उपस्थित भएनन् । उनीहरुले ४ बुँदे माग राख्दै पूरा नभएसम्म गाउँ सभामा उपस्थित नहुने भनेपछि गाउँ सभा झनै अनिश्चित बनेको छ । यतिबेला अध्यक्ष र उपाध्यक्षसहित दुई पक्ष आरोप प्रत्यारोपमा छन् ।

अध्यक्षसहितको जनप्रतिनिधि एक पक्ष र उपाध्यक्षसहितको ४ वडाध्यक्ष अर्काेपक्ष भएका छन् । गत वैशाखमा भएको निर्वाचनमा एमालेबाट निर्वाचित र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिबिच विवाद चुलिएको हो । एक पक्ष गाउँसभा बहिष्कार गर्नु गलत भएको र अर्काे पक्ष बजेट तथा कार्यक्रममा उपाध्यक्षलाई सहभागी नगराएको बताउँदै आएको छ ।

गाउँपालिका उपाध्यक्ष सोमल हिराचनसहितका ४ वडाध्यक्षले गाउँसभामा उपस्थिति नजनाएपछि गाउँ सभा स्थगित गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष गौतम शेरचनले बताए ।

‘हामीले नियमअनुसार उहाँहरुलाई साझँ ५ बजेसम्म कुर्यौं, उहाँहरु आउनुभएन,’ उनले भने, ‘४ बुँदे माग पत्र पेश गरेर नबोली उहाँहरु निस्कनु भयो, हामीसँग बहुमत थियो, तर उहाँ उपस्थित भएकाले हामीले स्थगित ग¥यौं ।’

अहिले ११औं अधिवेशन सूचना टाँसेर स्थगित गरिएको छ । गाउँसभा अधिवेशन चैत १८ गते बिहान ८ बजेका लागि तोकिएको थियो । तर, सभामा उपाध्यक्षसहितका जनप्रतिनिधि उपस्थित नभएपछि दिउँसो ४ बजेका लागि स्थगित गरिएको थियो । ४ बजेसम्म पनि उपस्थिति नभइसकेपछि गाउँसभा स्थगित गरिएको प्रवक्ता शेरचनले बताए ।

उपाध्यक्षसहितका वडाध्यक्षले ४ बुँदे मागहरु लिखित रुपमा गाउँपालिकामा पेश गरेका छन् । गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले मागहरु पूरा नभएकाले गाउँसभामा उपस्थिति नजनाएको प्रतिक्रिया दिए ।

थासाङ गाउँपालिकामा कांग्रेसबाट निर्वाचित उपाध्यक्ष सोमल हिराचनसहित ४ जना वडाध्यक्षहरुले प्रस्तावित ४ बुँदे माग राखेका छन् ।

गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम निर्माण गर्दा उपाध्यक्षलाई पनि सहभागी गराई पर्ने, गत आर्थिक वर्षको असारमा म्याद थप नभएका कर्मचारीहरुलाई पुर्नवहाली गरिनु पर्ने अथवा करारका रिक्त पदहरु पदपूर्ति गरिनु पर्ने, गाउँ कार्यपालिकाको सबै सूचनाहरु पालिकाको आधिकारिक वेव साईडमा अपलोड गरिनु पर्ने र गापा कार्यालयको सबै बिषयगत शाखामा कार्यरत कर्मचारीलाई सहज ढंगले काम गर्ने वातावरण निर्माण गर्नुपर्ने माग राखेका छन् ।

माग भएमात्रै गाउँसभामा सहभागी हुने उपाध्यक्ष हिराचनले बताए । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को असारमा गाउँपालिकामा कार्यरत करिब ३२ जना कर्मचारीको म्याद नथप्ने निर्णय गरेको थियो ।

गाउँपालिकाले त्यसबेला अनाआवश्यक आर्थिक खर्च कटौती गरी विकास योजनामा लगाउने, खर्च कम गर्ने खर्च घटाउँदै जाने उल्लेख गर्दै थासाङका ५ वटै वडाका कार्यालय सहयोगी, स्वास्थ्य शाखा र गापामा कार्यरत कर्मचारीलाई म्याद गरेको थिएन । करारमा नियुक्ति भएका कर्मचारीहरुको म्याद थप नगरी निष्काशन गरिएको र उनीहरुले म्याद थप गरी पूर्नवहाली गरिनु पर्ने माग असन्तुष्ट समूहले राखेका छन् ।

उनीहरुको पूर्नवहाली सम्भव नभएको र नयाँ कर्मचारी नियुक्ति गर्ने प्रक्रिया अघि बढाइसकेको प्रवक्ता शेरचनले बताए ।

‘पुरानालाई पूर्नवहाली त सम्भव छैन, हामीले केही महिनाअघिनै कर्मचारीको विज्ञापन खोलेका थियौैं, प्रक्रिया पूरा गर्दैगर्दा ढिला भएको हो । केही समयमा कर्मचारी भर्ना गर्छौं,’ शेरचनले भने । अनुकुल समय मिलाएर सबै जनप्रतिनिधिसंग सहकार्य गरी गाउँसभा अधिवेशनको मिति तय गरिने प्रवक्ता शेरचनले बताए ।

‘आउँदै नआउने अनि समावेश गरिएन भन्न मिल्छ’

उपाध्यक्षसहित ४ वडाध्यक्षले गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रममा उपाध्यक्षलाई नै सहभागी नगराएको आरोप लगाएका छन् । ४ बुँदे मागपत्र बुझाएका उनीहरुले गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम निर्माण गर्दा उपाध्यक्षलाई पनि सहभागी गराउन माग गरेका छन् ।

गाउँपालिका प्रवक्ताले शेरचनले गाउँपालिका उपाध्यक्षलाई बजेट तथा कार्यक्रममा सहभागी नबनाएको भन्ने आरोप आधारपविहीन भएको प्रतिक्रिया दिएका छन् ।

‘सरकारले सेवा सुविधा उपलब्ध गराएको छ, गाउँपालिकाले बाइक उपलब्ध गराएको छ । आफुले काम, दायित्व सम्झिएर, कार्यकक्ष छ, त्यहाँ आएर कर्मचारीसँग छलफल गर्ने, अध्यक्षज्यूसँग सल्लाह गर्नुपर्ने हो’, उनले भने, ‘आउँदै नआउने अनि समावेश गरिएन भन्नु एकदम आधारविहीन छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर