मधेसी शहीद लोकमार्गको रेखाङ्कन सार्वजनिक – Nepal Press

मधेसी शहीद लोकमार्गको रेखाङ्कन सार्वजनिक

जनकपुरधाम । मधेस सरकारले मधेसी शहीद लोकमार्ग निर्माणको प्रक्रिया तत्कालै अगाडि बढाउने भएको छ । भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलनमार्फत लोकमार्गको रुट रेखांकन सार्वजनिक गरेका हुन् ।

उनले प्रदेशका आठ वटै जिल्ला पुग्ने करिब ३११ किलोमिटरको मधेसी शहीद लोकमार्ग निर्माण प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गको मध्य भागमा निर्माण हुने उक्त लोकमार्गलाई मन्त्री यादवले प्रदेशकै स्वाभीमान र गौरवको आयोजनाको रुपमा व्याख्या गरे ।

तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलकै पालामा मधेसी शहीद लोकमार्ग निर्माणको योजना बनेका थियो । तर, लामो समय यो योजना अलपत्र परेको थियो ।

मन्त्रालयको दुई महिनाको अध्ययन, अनुसन्धान र खटाइको उपलब्धिपश्चात लोकमार्गको रेखाङ्कन सार्वजनिक गर्न सकेको मन्त्री यादवले बताए । उनले भने, ‘अब छिट्टै मन्त्रिपरिषदबाट पारित गरेर टेन्डर प्रक्रियामा जान्छौं ।’

रेखांकन सर्वेका लागि टेन्टर लगाइसकिएको र सर्वे डिजाइन गरेर पेश गर्ने सम्झौतासमेत भइसकेको मन्त्री यादवले जानकारी गराए । उनका अनुसार सर्वे डिजाइनको डीपीआर दुई महिनाभित्र मन्त्रालयमा पेस गरिनेछ । यस आर्थिक वर्षको अन्त्यसम्ममा लोकमार्ग निर्माणका लागि टेन्डर लाग्नेछ ।

लोकमार्गको निर्माण चार चरणमा हुनेछ । पहिलो चरणमा सप्तरीदेखि सिरहासम्म, दोस्रो चरणमा सिरहादेखि धनुषासम्म, तेस्रो चरणमा सर्लाहीदेखि रौतहटसम्म र चौथो चरणमा बारादेखि पर्सासम्म लोकमार्ग निर्माण हुने भनिएको छ ।

मधेसी शहीद लोकमार्गको डीपीआर निर्माण गर्न २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर