आगामी शैक्षित्रसत्रदेखि सुनकोशी गाउँपालिकामा स्थानीय पाठ्यक्रम – Nepal Press

आगामी शैक्षित्रसत्रदेखि सुनकोशी गाउँपालिकामा स्थानीय पाठ्यक्रम

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका सम्पूर्ण विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नेपालको संविधानले परिलक्षित गरेबमोजिम स्थानीय पाठ्यक्रम तयार गरेर गाउँपालिकाले लागू गर्न लागेको हो ।

गाउँपालिकाले बाघभैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेको संयोजकत्वमा ६ सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरेको थियो । कार्यदलले दुई महिना लगाएर सरोकारवाला र सम्बन्धित विज्ञहरुसँग छलफल र राय सुझाव समेटेर ‘हाम्रो सुनकोशी’ स्थानीय पाठ्यक्रम तयार गरेको छ ।

गाउँपालिकाभित्र रहेका सामुदायिक र निजी विद्यालयमा कक्षा १ देखि ८ सम्म शैक्षिक सत्र २०८० देखि स्थानीय पाठ्यक्रम लागू हुने गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए । सुनकोशी गाउँपालिकामा एक निजीसहित ३३ विद्यालय रहेका छन् ।

स्थानीय पाठ्यक्रम निर्माण समितिले तयार पारेको पाठ्यक्रम गाउँपालिका अध्यक्ष एवं शिक्षा समितिका संयोजक तिमिल्सिनालाई हस्तान्तरण गरेको छ । स्थानीय पाठ्यक्रममा गाउँपालिकाको परिचय, पालिकाभित्रका संस्कृति र संस्कार, प्राकृतिक सम्पदा, मानव निर्मित सम्पदा, घरेलु उद्योग, पशुपन्छी, माछापालन, हाम्रा पेशा व्यावसायलगायतका नौ विषयवस्तु समावेश गरिएको समितिका संयोजक न्यौपानेले जानकारी दिए ।

पाठ्यक्रममा कक्षागत सिकाइ उपलब्धि, विषय क्षेत्रगत कार्यघण्टा, विषयवस्तुको विस्तृतीकरण, सिकाइ सहजीकरण प्रक्रिया, सम्भाव्य शिक्षण सिकाइ विधि, विद्यार्थी मूल्यांकनलगायतका विषयवस्तु समेटिएका छन् ।

स्थानीय पाठ्यक्रम लागू भएर कक्षा ८ सम्मको अध्ययन पूरा हुँदा सबै विद्यार्थीहरुले गाउँपालिकाको सम्पूर्ण जानकारी पाउन सक्षम हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

पाठ्यक्रम निर्माण कार्यदलले हस्तान्तरण गरेको पाठ्यक्रम गाउँ शिक्षा समितिबाट तत्कालै अनुमोदन गरेर कार्यन्वयनमा ल्याइने अधिकृत दुलालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *