पूर्वाञ्चल विश्वविद्यालयका साढे हजार विद्यार्थी दीक्षित, यसै वर्षबाट एमबीबीएस पढाइ (तस्बिरहरु) – Nepal Press

पूर्वाञ्चल विश्वविद्यालयका साढे हजार विद्यार्थी दीक्षित, यसै वर्षबाट एमबीबीएस पढाइ (तस्बिरहरु)

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वाञ्चल विश्वविद्यालयले आगामी शैक्षिक वर्षबाट एमबीबीएस कक्षा सञ्चालन गर्ने बताएका छन् ।

मोरङको गोठगाँउमा भएको विश्वविद्यालयको एघारौँ दिक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको लागि आफ्नो पालामा अनुमति दिएको बताउँदै दाहालले आगामी शैक्षिक सत्र देखी एमबीबीएस कक्षा सञ्चालन हुने विश्वास व्यक्त गरे ।

उनले शिक्षा क्षेत्रको विकासका लागि सरकारले कुनै कसूर बाँकी नराख्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको एघारौँ दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले शिक्षा क्षेत्रमा गुणात्मक सुधारको खाँचो रहेको औँल्याए ।

शिक्षा क्षेत्रमा सुधार गर्नका निम्ति वर्तमान सरकारले शिक्षा मन्त्रीको नेतृत्वमा ठोस योजना बनाएर काम गर्ने उनले जानकारी दिए ।

लामो समयदेखि मेडिकल कक्षा सञ्चालनको अनुमति कुरेर बसेको विश्वविद्यालयलाई आफ्नै नेतृत्वको मन्त्रिपरिषद् बैठकले अनुमति प्रदान गर्न पाउँदा खुसी लागेको बताउँदै बाँकी कामका लागि पनि सरकार तयार रहेको बताए ।

एघारौँ दीक्षान्त समारोहमा ६ हजार ५ सय १३ विद्यार्थी दीक्षित भएका छन् । काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा डा सुरेशराज शर्माको प्रमुख अतिथ्यतामा भएको दीक्षान्त समारोहमा स्नातकोत्तर तर्फ १ हजार ४५ जना र स्नातक तर्फ ५ हजार ४ सय ६२ र एम फिलमा ६ जना गरी ६ हजार ५ सय १३ विद्यार्थी दीक्षित भएका हुन । विश्वविद्यालयमा ३५ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *