तनहुँ १ मा ओमकुमारीलाई गठबन्धनको उम्मेदवार बनाउने माओवादीको प्रयास, नत्र मित्रवत प्रतिस्पर्धा – Nepal Press

तनहुँ १ मा ओमकुमारीलाई गठबन्धनको उम्मेदवार बनाउने माओवादीको प्रयास, नत्र मित्रवत प्रतिस्पर्धा

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन गर्न नसकिने भन्दै आफ्नै उम्मेदवार खडा गर्न जिल्लाका नेताहरुले अध्यक्ष प्रचण्डमाथि दबाब बढाएका छन् ।

लगातार उम्मेदवारविहीन हुँदा पार्टीका जनमत घटेको भन्दै यसपटक रामचन्द्र पौडेललाई जिताएको गुन तिर्न पनि कांग्रेसले माओवादीलाई समर्थन गर्नुपर्ने गण्डकी प्रदेशका माओवादी नेताहरुले बताएका छन् ।

तनहुँ १ मा माओवादीबाट तीनजनाको नाम सिफारिस भएकोमा केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकालले दाबी फिर्ता गरेका छन् भने राजन लामिछानेले केन्द्रीय सदस्य ओमकुमारी पौडेललाई समर्थन गरेका छन् ।

माओवादी आन्दोलनकी अगुवा महिला नेतृ ओमकुमारीलाई सत्तागठबन्धनको साझा उम्मेदवार बनाउन माओवादीले पहल गर्ने भएको छ । साँझसम्म गठबन्धनमा छलफल गर्ने आश्वासन बालुवाटार पुगेका नेताहरुलाई अध्यक्ष प्रचण्डले दिएका छन् ।

प्रचण्डलाई भेटेर फर्किएकी माओवादी केन्द्रीय सदस्य पौडेलले भनिन्, ‘पार्टीबाट म उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । सकेसम्म मलाई गठबन्धनको साझा उम्मेदवार बनाउने प्रयास हुनेछ । कांग्रेसले नमानेको अवस्थामा मित्रवत र स्वस्थ प्रतिस्पर्धामा जान्छौं ।’

तनहुँ १ मा माओवादीको १२ हजार मत रहेको पौडेलले बताइन् । त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था देखिएको र अन्य पार्टीका उम्मेदवार ती पार्टीभित्रै सर्वसम्मत नभएकाले माओवादी एक्लै प्रतिस्पर्धामा जाँदा जित्न सकिने आँकलन जिल्ला पार्टीले गरेको छ ।

मंसिर ४ को निर्वाचनमा तनहुँ १ बाट माओवादी केन्द्रले समानुपातिकतर्फ ७ हजार ३२६ मत पाएको थियो । २०७० देखि नै पार्टीले उम्मेदवार नउठाएका कारण समानुपातिक मत घटेको भन्दै पौडेलले यसपटक उम्मेदवारी दिने बताइन् । २०७४ मा एमालेलाई र २०७९ मा कांग्रेसलाई सो क्षेत्रमा माओवादीले समर्थन गरेको थियो ।

जिल्लाका माओवादी नेताहरूले रामचन्द्रको जितमा माओवादीको मत निर्णायक रहेको भन्दै अब कांग्रेसले माओवादीलाई समर्थन गर्नुपर्ने बताएका छन् । प्रचण्डसमक्ष पनि उनीहरूले रामचन्द्रले पाएको मत विश्लेषण गर्दै माओवादीको समर्थन नभएको भए यसपटक पनि पौडेल पराजित हुने आँकडा पेश गरेका थिए ।

अध्यक्ष प्रचण्डले सकेसम्म गठबन्धनमा कुरा गर्ने आश्वासन दिएका छन् । माओवादीले उपचुनाव भइरहेका ३ मध्ये एउटा सीटमा दाबी गर्दा तनहुँ १ प्राथमिकतमा राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर