परिवारले नै राजनीतिमा देख्न चाहेका बस्नेत, जो बने शंकरदेव क्याम्पसका सभापति – Nepal Press

परिवारले नै राजनीतिमा देख्न चाहेका बस्नेत, जो बने शंकरदेव क्याम्पसका सभापति

काठमाडौं । सुशान्त बस्नेत शंकरदेव क्याम्पस छिरेको १० वर्षपछि स्ववियु सभापतिमा निर्वाचित भए । उनी यसको सबैभन्दा बढी श्रेय परिवारलाई नै दिन्छन् । सिन्धुपाल्चोकका बस्नेतको परिवार नै कांग्रेस पार्टीप्रति झुकाव राख्छन् । त्यसैकारण पनि बस्नेत नेविसंघमा आबद्ध भए ।

उनको परिवारका प्रायःजसो सरकारी जागिरे छन् । बस्नेतका हजुरबुवा पदमबहादुर केसी नेपाली कांग्रेस निकट ज्येष्ठ नागरिक संगठनको अध्यक्ष बनेका थिए । हजुरबामात्रै नभएर सिंगो परिवार कांग्रेसप्रति आस्था राख्ने भएकाले बस्नेत बीपीका किताबहरु पढेर हुर्किए । बीपीका किताब र परिवारिक पृष्ठभूमिले सानैदेखि आफूमा राजनीतिक बीउ रोपिएको बताउँछन् बस्नेत ।

२०६९ सालमा शंकरदेव क्याम्पसमा बीबीएस पढ्न छिरेका थिए । सँगै उनलाई राजनीति पनि गर्नु थियो । जसमा उनको परिवारको पूर्ण समर्थन पनि थियो । बस्नेत भन्छन्, ‘मेरो पारिवारिक माहोलले पनि मलाई राजनीतिप्रति सानैदेखि झुकाव राख्ने बनायो । साथै बोल्न, जनताका कुरा सुन्न र उनीहरुको समस्या समाधान गर्न मन लाग्थ्यो । त्यसैले पनि म राजनीतिमा सक्रिय भएँ । अहिले सभापतिमा साथीहरुले निर्वाचित पनि गर्नुभएको छ ।’

बस्नेत क्याम्पस छिर्दैगर्दा नेविसंघ जगजगी थियो शंकरदेवमा । यसै पनि शंकरदेवलाई नेविसंघको गढको रुपमा लिइन्छ । क्याम्पस छिर्नासाथ राजनीतिक माहोलमा मिसिएका बस्नेत आन्दोलनहरुमा सहभागी भए । साथै प्रशासनका कामहरुमा विद्यार्थीहरुलाई सहयोग गर्न सक्रिय भए । त्यसैको परिणति मान्नुपर्छ, २०७१ सालमा नेविसंघको इकाई सदस्य बने । २०७३ सालमा उनलाई समानुपातिक माध्यमबाट क्याम्पस इकाइ कमिटीले स्ववियु उपसभापति बनाउने निर्णय गर्‍यो । तर, त्यसवेला निर्वाचन हुन सकेन ।

त्यसवेला उपसभापति बन्न नसकेका बस्नेत ६ वर्षपछि सभापति निर्वाचित भए । बस्नेत भन्छन्, ‘उमेरको हिसाबले सानै थिएँ । तर, कामहरु गरेको थिएँ । त्यसैले पनि प्रशासनबाटै रुचाइएकाले संगठनले मलाई विश्वास गरेर सभापतिको टिकट दियो । अनि संगठनले गरेको विश्वासलाई निर्वाचित भएर प्रमाणित पनि गरें ।’

बस्नेत एक हजार २७१ मत ल्याएर सभापतिमा निर्वाचित भए । आठ हजार २९१ मतदाता रहेको क्याम्पसमा तीन हजार १७७ मत खसेको थियो । उनका निकटतम प्रतिद्वन्द्वी एमाले निकट अखिलका मूना तिवारी थिइन् । जसलाई ५७२ मतान्तरले बस्नेतले पराजित गरेका थिए ।

अहिले बस्नेतले एमबीएस सकाइसकेका छन् । तर, उनको मुख्य ध्येय नै राजनीतिमार्फत् जनताको सेवा गर्नु हो । यसपटकको विजयलाई जनताको सेवा गर्न हिँडेका बस्नेत पहिलो खुड्किलो मान्छन् । उनी भन्छन्, ‘यो मेरो पहिलो खुड्किलो हो । यहाँबाट धेरै परसम्म जानु छ । मुख्य कुरा त जनताको सेवा गर्नु छ ।’

एक दशकदेखि विद्यार्थीमाझ बसेर विद्यार्थीहरुको हकहितको वकालत गरिरहेका बस्नेत आफ्नो कार्यकालमा गुणस्तरीय शिक्षालाई अझै प्रभावकारी बनाउने बताउँछन् । विद्यार्थीलाई पढाइका साथै अन्य गतिविधिमा सामेल गराउने, सेमेस्टर प्रणालीमा प्रयोगात्मक शिक्षालाई बढाउने, खेलकुदको वातावरण सृजना गर्नेलगायत कामहरु दुई वर्षे कार्यकालमा पूरा गर्ने बस्नेतको योजना छ ।

बस्नेत आफ्नो योजना सुनाउँछन्, ‘शंकरदेव क्याम्पसलाई विश्वविद्यालयको अवधारणामा लैजान जोड दिनेछु । विद्यार्थी समस्याहरुलाई संस्थागत रुपमा हल गर्ने प्रयत्न गर्नेछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर