सुशील कोइराला र रामचन्द्र पौडेलविरुद्ध बागी उठेका कांग्रेस नेताहरूको कारबाही फुकुवा – Nepal Press

सुशील कोइराला र रामचन्द्र पौडेलविरुद्ध बागी उठेका कांग्रेस नेताहरूको कारबाही फुकुवा

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवन जिल्लाका पूर्वसभापति विकास कोइरालामाथिको अनुशासनको कारबाही फुकुवा गरेको छ ।

उपचुनावलाई लक्षित गरेर तनहुँ १ मा दुईपटक स्वतन्त्र उम्मेदवार बनेका जोशी र चितवनको तत्कालीन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार बनेका कोइरालाको कारबाही फुकुवा भएको हो । ७० को संविधानसभा चुनावमा सुशील कोइरालाविरुद्ध बागी उठेका विकास कोइराला त्यसताका पार्टी सभापतिसमेत थिए ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले २०७९अघि कारबाहीमा परेकालाई आममाफी दिने निर्णयबाट जोशी र कोइरालाको कारबाही फुकुवा भएको हो ।

संयोग नै मान्नुपर्छ तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएका कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवार बनेका जोशीको एकैसाथ कारबाही फुकुवा भएको छ । कोइरालाको निधन भइसकेको छ भने पौडेल राष्ट्रपति बनेर कांग्रेसबाट अलग भइसकेका छन् ।

विकासको कारबाही फुकुवाका लागि जिल्लाबाटै सिफारिस भएको थियो । उनी गत महाधिवेशनमै कारबाही फुकुवाको लाइनमा थिए । तर, विकासको कारबाही सकिँदा उनी अघि बढ्ने भएपछि जिल्लाकै नेताहरूले रोकेका थिए ।

जोशीको हकमा भने रामचन्द्र पौडेलसँगको व्यक्तिगत लडाइँकै कारण उनको राजनीति सकिएको हो । अघिल्लो निर्वाचनमा पौडेलले जोशीको उम्मेदवारी नै खारेज गराए पनि पराजित भएका थिए । यसपटक जोशी उम्मेदवार बनेर करिब साढे ६ हजार मत पाएका थिए ।

जोशीको समर्थन नभए उपचुनावमा गोविन्द भट्टराईलाई जित्न कठिन हुने देखिएपछि उनीसहितका नेताहरूको आग्रहमा कारबाहीमुक्त गरिएको बताइन्छ । यद्यपि जोशीका छोरा दीपकराज भने २०७९ कै स्थानीय तह निर्वाचनमा दमौलीको मेयर उम्मेदवार बनेर झिनो मतले कांग्रेस जिल्ला सभापति बैकुण्ठ न्यौपानेसँग पराजित भएका थिए । उनीमाथिको कारबाही भने यथावत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर