मिटरब्याज पीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छः मन्त्री श्रेष्ठ (भिडिओ) – Nepal Press

मिटरब्याज पीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छः मन्त्री श्रेष्ठ (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारयणकाजी श्रेष्ठले मिटरब्याज पीडितरहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।अनामनगरस्थित मिटरब्याजपीडितहरू बसिरहेको एक गुम्बामा पुगेर उपप्रधानमन्त्री श्रेष्ठले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

त्यसक्रममा श्रेष्ठले यो विषयलाई सरकारले गम्भीरताका साथ लिएको बताए । ‘पहिला कार्यान्वयन नभएकाले या समस्या भएकाले नै हामीले यसलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयनमा लैजान लागेका हौँ, अब कार्यान्वयन हुन्छ’ श्रेष्ठले भने, ‘आयोग बनाउने प्रक्रिया अगाडि बढिसकेको छ । आयोग बनेर यसले लिने न्यूनतम समयमै कार्यान्वयनमा लान्छौँ ।’

यसअघि शनिबार मिटरब्याज पीडितसँग सरकारले पाँच बुँदे सहमति गरेको छ । सरकारसँग सहमति गरेसँगै मिटरब्याजपीडितहरू आन्दोलन फिर्ता लिएर घर फर्कने तयारीमा छन् ।

बर्दीबासबाट ११ दिन हिँडेर काठमाडौं आएपुगेका मिटरब्याजपीडितहरू घर फर्कने तयारीमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले उनीहरूको स्वास्थ्य उपचारको लागि पहल लिनुभएको थियो । ११ दिनसम्म हिँडेर काठमाडौं आइपुगेका धेरै मिटरब्याजपीडितहरू बिरामी परेका थिए ।

सोहीकारण उपप्रधानमन्त्री श्रेष्ठले उनीहरूको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पहल लिएको हो । जसअनुसार उपप्रधानमन्त्री श्रेष्ठको पहलमा स्वास्थ्य मन्त्रालयले मिटरब्याज पीडितहरूको स्वास्थ्य परीक्षणलगायतका कार्यहरू गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालयमार्फत चिकित्सकहरूले मिटरब्याजपीडितहरूको स्वस्थ्य अवस्थाबारे जानकारी लिइरहँदा उपप्रधानमन्त्री श्रेष्ठ सोही स्थानमा पुगेका हुन् ।

अनुगमनका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याजपीडितको स्वास्थ्य परीक्षण र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए । ‘उहाँहरूसँग वार्ता भएर सहमति गरेका छौँ । सरकारसँग भएको सहमतिपछि उहाँहरू फर्कने तयारीमा हुनुहुन्छ,’ श्रेष्ठले भने, ‘उपचार प्रक्रिया के छ भन्ने निरीक्षण गर्न आएको हुँ ।’

यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले शुक्रबार पदबहालीका क्रममा दुईवटा निर्णय गरेका थिए । त्यसमध्ये एउटा गृहमन्त्री र सचिवले पाउँदै आएको सुराकी खर्च कटौती गर्ने र अर्को मिटरब्याजपीडितहरूको समस्या समाधानका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने फाइलमा हस्ताक्षर गर्नुभएको थियो ।

मन्त्री श्रेष्ठले मिटरब्याजपीडितको समस्या समाधान गर्न पहल लिएको एकदिन पछि नै मिटरब्याजपीडितसँग सहमति भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर