कागतीखेतीबाट वार्षिक २० लाख आम्दानी – Nepal Press

कागतीखेतीबाट वार्षिक २० लाख आम्दानी

पथरी । सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँकोबीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ । उमेरले ४५ वर्ष टेकेका उनले दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेर सबैले प्रशंसा गर्दछन् ।

मोरङको पथरी शनिश्चरे–२ कालापानीमा रहेको पथरी कृषि फार्मबाट सन्तुष्ट छन् उनी । लामो समय विदेशमा परिश्रम गर्नुभएका न्यौपाने आर्थिक अवस्था परिवर्तन नभएपछि चार वर्षअघि कृषि पेसामा फर्किएका थिए । उनलाई कागतीले यतिबेला राम्रो प्रतिफल दिन थालेको छ ।

दुई बिघा क्षेत्रफल भाडामा लिएर कागतीखेतीसँगै नगदे बाली गर्दै आएका छन् । यतिबेला उनको बगानमा लटरम्मै कागती फुलेका र फलेका छन् । बगानमा एक हजार दुई सय कागतीका बोट छन् । फार्मले तीन जनालाई रोजगारी दिएको छ । बजारको भाउअनुसार फल बेच्नुपर्ने हुँदा कागतीको यकिन मूल्य भने छैन । फार्ममा दाना प्रतिगोटा रु तीन र बिरुवा प्रतिगोटा रु ८० का दरले बिक्री हुँदै आएको छ ।

उनी भन्छन्, ‘चार वर्षअघि रु ३२ लाख लगानीमो कागतीखेती सुरुआत गरेँ । अहिले उखु, साग, केराउ, प्याज, लसुनलगायतका नगदे बाली छन् ।’

बगानमा वार्षिक रु सात लाख दाना र १० हजारभन्दा बढीको बिरुवा उत्पादन हुने गरेको छ । कागती र बिरुवाले राम्रो उत्पादन दिन थालेपछि धेरै टाढाका कृषकले पनि खरिद गर्ने गरेका छन् । बिरुवा बिक्रीबाट रु आठ लाखसम्म आम्दानी हुने गरेको छ । कागतीको दाना र बिरुवाबाट वार्षिक रु २० लाखमाथि आम्दानी हुने गरेको कृषक न्यौपाने बताउँछन् ।

कागतीका बोट हुर्किँदै जाँदा क्याङ्गस र फङ्मसजस्ता रोगले निकै सताउने गरेको उनले बताए । कृषि प्राविधिकसमेत रहनुभएका न्यौपाने रोगले सताएमा बोटले राम्रो उत्पादन दिन नसक्ने बताउँछन् । उनी भन्छन्, ‘ग्रामीण भेगका यस्ता फार्मले राज्यबाट अनुदान पाउन निकै झन्झट ब्यहोर्नुपरेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर