उपचुनावको ज्वरो र किसानको स्वास्थ्य अवस्था बुझ्न उम्मेदवार र नेताहरूको ओहोरदोहोर – Nepal Press

उपचुनावको ज्वरो र किसानको स्वास्थ्य अवस्था बुझ्न उम्मेदवार र नेताहरूको ओहोरदोहोर

काठमाडौं । लिगामेन्ट फाटिएर घरमै थन्किएका नेकपा एसका सांसद किसान श्रेष्ठलाई भेट्न नेताहरूको ओहोरदोहोर चलिरहेका बेला तनहुँ क्षेत्र नम्बर १ को उपचुनावले श्रेष्ठ निवासमा उम्मेदवारको आगमन समेत बाक्लिएको छ ।

तनहुँ १ मा पहिलोपटक कांग्रेसलाई पराजित गर्ने श्रेय पाएका श्रेष्ठको समर्थन लिन स्वर्णिम वाग्ले महाराजगन्जस्थित उनको निवास पुगेको भोलिपल्टै एमालेबाट सम्भावित उम्मेदवार सर्वेन्द्र खनाल पनि उनको स्वास्थ्य अवस्था बुझ्न गएका छन् ।

श्रेष्ठ र खनालबीच एमालेमै भएका बेला पनि राम्रो सम्बन्ध थियो । तनहुँ १ मा २०७४ को निर्वाचनमा रामचन्द्र पौडेलको जीवनमै पहिलो पराजय दिलाएका श्रेष्ठले पछिल्लो निर्वाचनमा रामचन्द्रकै लागि सो क्षेत्र छाडेर बारा ४ गएका थिए ।

श्रेष्ठ बिरामी परेकै बेला तनहुँमा उपचुनावको ज्वरो बढिरहेका बेला श्रेष्ठ निवासमा राजनीतिक जमघट बढेको हो । कांग्रेस नेताहरू पनि श्रेष्ठ निवासमा गइरहेका छन् । उनको समर्थन निर्णायक मानिने भएकाले गठबन्धनका नेताहरू उनले तलमाथि नगर्नेमा ढुक्क छन् ।

संयोग नै मान्नुपर्छ, नेकपा एसका नेता श्रेष्ठ अहिले उपचुनाव भइरहेका तीन वटै क्षेत्रमा प्रभाव राख्नेमा पर्छन् । तनहुँ १ उनी निर्वाचित भएको क्षेत्र हो भने बारा ४ बाट निर्वाचित भएका श्रेष्ठ त्यहाँको राजनीतिमा पनि प्रभावशाली मानिन्छन् । त्यस्तै चितवन २ मा पनि श्रेष्ठको प्रभाव छ ।

श्रेष्ठकै पहलमा यसअघि उनकै निवासमा केपी शर्मा ओली र माधव नेपालबीच लामो वार्ता समेत भएको थियो । सोही वार्तामा ओलीले नेपाललाई राष्ट्रपति बन्न र नेकपा एसलाई एमालेमा मिलाउन प्रस्ताव राखेका थिए ।

नेकपा एसले गठबन्धनका उम्मेदवारलाई सघाउने भने पनि श्रेष्ठले मुख खोलेका छैनन् ।

उनलाई मन्त्री बनाउन पार्टीका नेताहरूले आग्रह गरेपनि अध्यक्ष माधव नेपालले यसपटक नसकिएको जवाफ दिएका छन् । तनहुँमा नेकपा एसको जिल्ला कमिटीले प्रतापलाल श्रेष्ठलाई उम्मेदवार बनाउन सिफारिस गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर