तनहुँ १ को उपचुनावमा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार, सचिवालय बैठकबाट निर्णय हुँदै – Nepal Press

तनहुँ १ को उपचुनावमा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार, सचिवालय बैठकबाट निर्णय हुँदै

काठमाडौं । नेकपा एमालेले तनहुँ १ बाट उपचुनावमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने भएको छ । तनहुँ जिल्ला कमिटीका नेताहरू आज बिहान बालकोट पुगेर अध्यक्ष केपी ओलीसहित अन्य नेताहरूसँग समेत छलफल गरेपछि खनालको नाममा सहमति जुटेको हो ।

केहीबेरमा बस्ने सचिवालय बैठकले औपचारिक निर्णय गर्ने बताइएको छ । नेपाल प्रहरीका पूर्व आइजिपी खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा हुन् । उक्त नगरपालिका तनहुँ क्षेत्र नम्बर १ मै पर्छ । उनको परिवार कांग्रेसमा आबद्ध छन् ।

दाजु सुवीर खनाल नेपाली कांग्रेसको नेता हुन् । उनी गिरिजाप्रसाद कोइराला र सुशील कोइराला प्रधानमन्त्री भएको बेला प्रधानमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव र पछि विज्ञको रूपमा समेत काम गरेका थिए । अर्का दाइ रवीन्द्र खनाल राजाको सक्रिय शासनका बेला सहायक मन्त्री भएका थिए ।

खनालको पारिवारिक लिगेसी र कांग्रेसतर्फको समेत धेरै मत तान्ने आँकलनसहित उनलाई अघि सारिएको हो । उनी मङ्सिर ४ को निर्वाचनमा काठमाडौं ६ बाट उम्मेदवार बनेर रास्वपाका शिशिर खनालसँग दोस्रो भएका थिए ।

खनाललाई उम्मेदवार बनाउँदा कांग्रेसका गोविन्दराज जोशी समूह र नेकपा एसका किसान श्रेष्ठको समेत समर्थन जुटाउन सकिने आँकलन एमाले नेताहरूको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर