बैना लिएर जग्गा नदिने ‘राजदूत दम्पती’को ठगी धन्दा, पावर लगाएर छुटिन् रेनु कुमारी – Nepal Press

बैना लिएर जग्गा नदिने ‘राजदूत दम्पती’को ठगी धन्दा, पावर लगाएर छुटिन् रेनु कुमारी

७५ लाख बैना लिएर ३ वर्षसम्म जग्गा पास नगर्ने पूर्वराजदूत पत्नीलाई प्रहरीले पक्राउ गरेकै भोलिपल्ट पावर लगाएर छुटिन्

काठमाडौं । परराष्ट्र सेवाको सहसचिव हुँदै राजदूतसमेत भएर भ्रष्टाचार काण्डसँगै अवकाश पाएका निरन्जन सिंह बस्न्यात दम्पती नै ठगी गिरोहमामा परिणत भएको खुलेको छ । एउटै जग्गा धेरै व्यक्तिलाई बैना गर्दै उनीहरुले विभिन्न व्यक्तिलाई ठगेको पाइएको छ ।

रोक्का राखेको जग्गा देखाउँदै ७५ लाख रुपैयाँ बैना लिएर फिर्ता नगरेको र जग्गा पनि पास नगरेको आरोपमा पक्राउ परेकी पूर्व राजदुत निरन्जनमानसिंह बस्न्यातकी श्रीमती राजनीतिक पावर लगाएर दुई दिनमै छुटेपछि उनीहरुको धन्धाको थप प्रमाण भेटिन थालेका छन् ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले रेनु कुमारी थापा बस्न्यातलाई हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि उनी छुटेकी हुन् ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले बुधबार मात्र काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको थियो। तर भोलिपल्टै काठमाडौं जिल्ला सरकारले रेनुलाई छाड्न प्रहरीलाई निर्देशन दिएको थियो ।

काठमाडौं प्रहरी परिसर प्रवक्ता निरन्जन भट्टले भने सरकारी वकिलले थुनाबाहिर राखेर अनुसन्धान गर्न निर्देशन दिन नसक्ने भएकाले त्यही अनुरुप रेनुको हकमा पनि भएको बताए। ‘मुद्धा चलिरहेकै छ। रेनु जीलाई बाहिर राखेर अनुसन्धान गर्नु मात्र भनेको हो’, भट्टले भने ।

स्रोतका अनुसार आरोपी रेनु माओवादी उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलकी आफन्त हुन्। माओवादी नेताकै पावरमा उनलाई छाड्न दबाब आएको पिडितले गुनासो गरेका छन्। हरिबोलका भाइ नारायणकी श्रीमती र रेनु दिदी बहिनी हुन् ।

रेनुले भक्तपुरको बालकोटस्थित करिब २१ आना जग्गा रामेछाप बेथानका भुवनविक्रम घिमिरेसँग प्रति आना १७ लाख २५ हजारका दरले विक्री गर्ने गरी २०७६ माघ २७ गते करारनामा गरेकी थिइन् ।

त्यतिबेला घिमिरेले ७५ लाख रुपैयाँ बैना बुझाएका थिए। २०७७ जेठ मसान्तसम्म जग्गा पास भइसक्नुपर्ने, दोस्रो किस्तामा १ करोड दिने र तेस्रो किस्तामा एक करोड ८६ लाख १७ हजार १ सय ८७ रुपैयाँ दिने करारमा उल्लेख थियो ।

‘त्यतिबेलै कोरोना महामारी सुरु भयो। रेनु जी पनि सम्पर्कमा रहनु भएन । पछि २०७७ भदौमा जग्गा पास गर्ने भनेर म चेक बनाएर मालपोत कार्यालय पुगेको थिएँ तर उहाँ आउनु नै भएन’, पिडित घिमिरेले भने ।

घिमिरेले पछि आफूले उक्त जग्गा त्यसअघि नै एस डेभलपमेन्ट बैंकमा धितो राखेर ठुलो रकम रिण लिएको थाहा पाएको बताए। सोही जग्गा त्यसपछि पनि अर्का व्यक्तिलाई देखाएर बैना लिएको उजुरी पनि परेको छ ।

‘उहाँले जग्गा पास गर्न आनाकानी गर्नुको पछाडि त मसँग बैना लिनुअगावै उहाँले उक्त जग्गा धितो राखेर ठुलो रकम रिण लिनु भएको रहेछ’, घिमिरे भन्छन् ।

उनले पछि बस्न्यात दम्पत्ती अमेरिका गएर बसेकाले आफ्नो बिचल्ली भएको बताए ।

‘त्यति धेरै रकम मेरो फसिसकेको थियो। तर न जग्गा पाएँ न त पैसा नै फर्कियो। गत भदौमा उहाँहरु नेपाल फर्किएपछि फेरी आशा जागेको थियो । तर प्रहरीले पक्राउ गरेर छाड्यो भन्दा साह्रै दुख लागेको छ’, घिमिरेले भने ।

उनले रेनुले पछिल्लो समय जग्गा विक्री गरेर पैसा दिन्छु भन्दै झुलाउने गरेको बताए ।

‘उहाँको नियत नै ठग्ने रहेछ। मैले उजुरी गरेपछि उहाँबाट ठगिनु भएका अन्य धेरैले सम्पर्क गरिरहनु भएको छ’, घिमिरेको भनाई छ ।

परराष्ट्र मन्त्रालयको सहसचिव हुँदै पछि राजदुतसमेत बनेका रेनुका श्रीमान निरन्जनमान आफै पनि भष्ट्रचार मुद्दा खेपिरहेका व्यक्ति हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर