पदभार ग्रहण गर्दै गृहमन्त्री श्रेष्ठले भने– म खैनि–चुरोट खान्न, महंगो उपहार लिन्न – Nepal Press

पदभार ग्रहण गर्दै गृहमन्त्री श्रेष्ठले भने– म खैनि–चुरोट खान्न, महंगो उपहार लिन्न

काठमाडौं । भौतिक योजना मन्त्रालयबाट गृहमा उक्लिएका नारायणकाजी श्रेष्ठले आज पदभार ग्रहणका क्रममा लामो भाषण गरे । उनले मन्त्रालयसँग सम्वन्धित विविध विषयमा आफ्ना आदर्शवादी भनाइ राखे भने केही व्यक्तिगत कुराहरु पनि गरे ।

मन्त्री श्रेष्ठले आफू कुनै पनि खालको कुलतबाट टाढा रहेको कर्मचारीहरुलाई बताए । उनले भने, ‘म पाँचवटा क्याटागोरीको चिज खान्न । माछामासु, चियाकफी खान्न । कोल्ड ड्रिङ्स पिउँदिन । रक्सी पिउँदिन । चुरोट तमाखु, पान, सुपारी पनि खान्न । ग्रिन टी कहिलेकाहीँ खान्छु । र, म घुस पनि खान्न ।’

आफू कसैबाट उपहार पनि नलिने उनले बताए । यसअघि भौतिक योजना मन्त्रालयमा छँदाको एउटा प्रसंग पनि मन्त्री श्रेष्ठले सुनाए ।

‘अस्ति एकजना विदेशी निर्माण व्यवसायी मेरो कार्यकक्षमा आउनुभयो । निर्माण व्यवसायीलाई भेट्ने सन्दर्भमा मेरा आफ्नै मान्यता थिए । म उनीहरुसँग बाहिर कतै पनि भेट्दिन थिएँ । र, कार्यकक्षमा पनि एक्लै भेट्दिन थिएँ । ती विदेशी निर्माण व्यवसायीले सानो उपहारको पोको पनि ल्याएका रहेछन् । उनले मतिर तेस्र्याए । मैले भने स्टप । आइ विल सी फस्र्ट । आइ डन्ट एक्सेप्ट कस्टली गिफ्ट भनेँ । खोलेर हेर्दा बिचराले एउटा सानो कप ल्याएको रहेछ । ओके आइ विल टेक दिस भनेर लिएँ । मायाले दिएको सानोतिनो चिज त किन फिर्ता गर्नु र होइन ? तर, म महंगो गिफ्ट चाहीँ लिन्न ।’

उनले कर्मचारीलाई भने खानपिनको कुरामा आफूले बन्देज नलगाउने बताए । ‘तपाईंहरु मासु खानुस् । चिया कफी खानुस । अलिअलि रक्सी पनि खानुहुन्छ होला, तर धेरै नखानुस् । रक्सीले तपाईंलाई नखाओस्,’ मन्त्री श्रेष्ठले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर