अर्थ मन्त्रालयले यसरी बनाउँदैछ बजेट (कार्यतालिकासहित) – Nepal Press

अर्थ मन्त्रालयले यसरी बनाउँदैछ बजेट (कार्यतालिकासहित)

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणको कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजिनक कार्यताकिाअनुसार बजेट निर्माणको प्रक्रिया अघि बढिसकेको छ ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते अर्थमन्त्रीले संसदको दुबै सदनसमक्ष आगामी आर्थिक वर्षको आयव्ययको विवरण (बजेट) पेश गर्नेछन् । बजेट आगामी वर्षका लागि आय र व्ययको अनुमानित विवरणको दस्तावेज हो । यसमा आम्दानी कति गर्ने र त्यसका आधारमा खर्च कति गर्ने भन्ने अनुमानित विवरण प्रस्तुत गरिन्छ ।

अर्थ मन्त्रालयले बजेट निर्माण गर्दा जनताका मौलिक हकलाई प्राथमिकतामा राख्नुपर्छ । यस्तै देश विकास गर्ने, उद्योगधन्धा फस्टाउने, स्वदेशमै रोजगारी सृजना गर्ने खालको बजेट आवश्यक ठानिन्छ । बजेटलाई संसदमा प्रस्तुत गरेपछि त्यसलाई संसदले स्वीकृत गर्छ । बजेट निर्माण गर्दा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, वित्त आयोग, सम्बन्धित मन्त्रालयहरुको सहभागिता रहने गर्दछ ।

अहिले अर्थले राजस्व परामर्श समितिअन्तर्गत विभिन्न ९ उपसमितिले सुझाव मागिरहेका छन् । चैत २४ गतेभित्र सो सुझाव अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखामा आइपुग्छ । बैंशाख २५ गते अर्थमन्त्रीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदका दुबै सदनमा पेश गर्नेछन् । जेठ १० गते अर्थमन्त्रीले राष्ट्रपतिलाई बजेट ब्रिफिङ गर्नेछन् । जेठ १४ गते आर्थिक सर्वेक्षण र संस्थानको प्रगति विवरण अर्थमन्त्रीले संसदमा पेश गर्नेछन् र अन्तमा जेठ १५ गते बजेट आउँछ ।

यस्तो छ कार्यतालिका

१) चैत १ देखि २४ : बजेट तथा कार्यक्रम महाशाखा तथा सम्बन्धित महाशाखाबाट बजेटमा समावेश गर्नुपर्ने नीति तथा कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचकहरु सम्बन्धित महाशाखाबाट लिनेकाम हुनेछ ।

२) चैत १५ देखि २०८० बैशाख १० गतेसम्म : बजेट तथा कार्यक्रम महाशाखाले बजेटमा समावेश गर्नुपर्ने विषयमा सार्वजनिक सूचना जारी गरी सुझाव संकलन गर्ने ।

३) चैत १९ देखि २४ गतेसम्म : राष्ट्रिय योजना आयोगमा बजेटको नीति र कार्यक्रममाथि छलफल हुने ।

४) चैत २० गते : राजस्व व्यवस्थापन महाशाखाले विभागहरुलाई बजेट तर्जुमा सम्बन्धमा पोलिसी पेपर तयार गरी चैत २० भित्र पेश गर्न पत्राचार गर्ने ।

५) चैत २१ गते : राजस्व व्यवस्थापन महाशाखाले राजस्व परामर्श समितिमा प्राप्त सूचनाहरुउपर छलफल तथा सम्बन्धित निकायसँग छलफल गरी प्रतिवेदन तयार गर्ने ।

६) चैत २४ गतेसम्म : बजेट तथा कार्यक्रम महाशाखाले एलएमबीआईएसमार्फत विषयगत मन्त्रालयहरुले बजेट प्रस्ताव गर्ने ।

७) चैत २६ देखि २८ गतेसम्म : बजेट तथा कार्यक्रम महाशाखा र वित्तीय संघीयता समन्वय महाशाखाले बजेटका उद्देश्य प्राथमिकता र मुख्य कार्यक्रमबारे सांसदहरुसँग प्रदेशगत छलफल गर्ने (अन्तर सरकारी परिषदको बैठक) ।

८) चैत २६ देखि २०८० बैशाख २० गतेसम्म : संघीय मन्त्रालय र सम्बन्धित प्रदेशको आर्थिक मामिला तथा योजना सामाजिक विकास र भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयसँग छलफल गर्ने (ससर्त अनुदान), बजेट तथा कार्यक्रम महाशाखाले मन्त्रालयसँग बजेट कार्यक्रम र खर्च शीर्षकगत छलफल गर्ने ।

९) बैशाख २ देखि २५ गतेसम्म : अन्तर्राष्ट्रिय आर्थिक सहायता मन्त्रालय महाशाखा र बजेट तथा कार्यक्रम महाशाखाले वैदेशिक स्रोतअन्तर्गत प्राप्त हुने रकम एकिन गरी बजेटमा राख्ने ।

१०) चैत २६ देखि २०८० बैशाख २५ गतेसम्म : सचिवले बजेट सुझाव संकलन (राजनीतिक दलका प्रतिनिधि, पूर्वअर्थमन्त्री, पूर्वगर्भनर, पूर्वअर्थसचिव एवं विज्ञबाट) ।

११) बैशाख २० गते : वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाले सार्वजनिक संस्थाहरुको प्रगति विवरण छपाइका लागि प्रेसमा पठाउने ।

१२) बैशाख २१ गतेभित्र : बजेट वक्तव्य मस्यौदा लेखन समितिले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने ।

१३) बैशाख २५ गते : अर्थमन्त्रीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय सांसदका दुबै सदनमा पेश गर्ने र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले प्राविधिक सहायता तथा अन्य गैरसरकारी संस्थामार्फत परिचालन हुने सहायता एकिन गर्ने ।

१४) बैशाख ३० गते : आर्थिक नीति विश्लेषण महाशाखाले आर्थिक सर्वेक्षणलाई अन्तिम रुप दिइ छपाइका लागि प्रेसमा पठाउने र सोही दिन प्रशासन महाशखाले मन्त्रालयगत प्रगति विवरण छपाइका लागि प्रेसमा पठाउने ।

१५) जेठ १ गते : बजेट वक्तव्य मस्यौदा लेखन समितिले बजेट वक्तव्य मस्यौदा तयार गर्ने (पहिलो मस्यौदा) ।

१६) जेठ ५ गते : राजस्व परामर्श समिति र राजस्व व्यवस्थापन महाशाखाले प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेश गर्ने ।

१७) जेठ ६ गते : बजेट वक्तव्य मस्यौदा लेखन समिति, राजस्व व्यवस्थापन महाशाखा, बजेट तथा कार्यक्रम महाशाखाले राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङका लागि मस्यौदा तयार गर्ने ।

१८) जेठ १० गते : अर्थमन्त्रीले राष्ट्रपतिलाई बजेट ब्रिफिङ गर्ने, सोही दिन बजेट तथा कार्यक्रम महाशाखाले व्यय अनुमानको प्रारम्भिक मस्यौदा तयार गर्ने (त्रिवर्षीय खर्च अनुमानसहित तयार गर्ने) र बजेट तथा कार्यक्रम महाशाखाले बजेटको खर्च शीर्षकगत खर्च अनुमानको अंक रुजुसहित अन्तिम मस्यौदा तयार गर्ने ।

१९) जेठ १२ गते : प्रशासन महाशाखा तथा बजेट तथा कार्यक्रम महाशाखाले व्यय अनुमानसम्बन्धी किताब छपाइका लागि प्रेसमा पठाउने ।

२०) जेठ १३ गते : राजस्व व्यवस्था महाशाखा र कानून तथा फैसला कार्यान्वयन महाशाखाले आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिने, अर्थमन्त्री र बजेट लेखन समितिले बजेट वक्तव्यलाई अन्तिम रुप दिने ।

२१) जेठ १४ गते : अर्थमन्त्री र सचिवले राष्ट्रिय योजना आयोग र नेपाल सरकारलाई ब्रिफिङ गर्ने, सोही दिन राजस्व व्यवस्थापन महाशाखा, बजेट तथा कार्यक्रम महाशाखा र कानून तथा फैसला कार्यान्वयन महाशाखाले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक छपाइका लागि पठाउने, यसै दिन प्रशासन महाशाखा बजेट तथा कार्यक्रम महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशखाले बजेट वक्तव्य र स्रोत पुस्तिका छपाइका लागि पठाउने, अर्थमन्त्रीले संघीय संसदका दुबै सदनमा आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयको प्रगति विवरण पेश गर्ने ।

२२) जेठ १५ गते : अर्थमन्त्रीद्वारा संघीय संसदको दुबै सदनमा बजेट पेश गर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर