नारायणकाजीलाई पूर्णबहादुरभन्दा तल्लो वरियता, अशोक राईलाई वेदुरामले उछिने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार गरेका छन् । शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरे पनि प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिन सकेनन् ।
सरकारमा कांग्रेसले ४, एकीकृत समाजवादीले २, जसपा, लोसपा र नेपाल समाजवादी पार्टीले १-१ वटा मन्त्रालय पाएका छन् । कांग्रेसबाट ४ र जसपाबाट एक मन्त्री थपिन बाँकी छ ।
कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, नेकपा एकीकृत समाजवादीका डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी र जसपाका अशोक राईले शिक्षा मन्त्रालय पाएका छन् ।
यस्तै लोसपाका शरदसिंह भण्डारी श्रम तथा रोजगार, कांग्रेसका डा. प्रकाशशरण महत अर्थ, नेसपाका महिन्द्र राय यादव महिला बालबालिका, माओवादीका शक्ति बस्नेत ऊर्जा तथा जलस्रोत, एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठले भूमि व्यवस्था मन्त्रालय पाएका छन् ।
यस्तै कांग्रेसका रमेश रिजालले उद्योग र सीता गुरुङले शहरी विकास मन्त्रालय पाएका छन् ।
यसअघि भौतिक मन्त्रालयमा रहेका माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृहमन्त्री बने । तर, पूर्णबहादुर पहिलोपटक उपप्रधानमन्त्री बनेका हुन् । नाराणकाजी भने चौथोपटक बनेका हुन् ।
तर, वरियतामा नारायकाजीलाई पूर्णबहादुरभन्दा तल राखिएको छ । त्यस्तै जसपाका अशोक राईलाई नेकपा एसका वेदुरामभन्दा पछाडि राखिएको छ । दलको आकारका हिसाबले पनि जसपाले १२ सीट जितेको छ भने नेकपा एसले १० सीट जितेको छ ।
अशोक एमालेको पहिलो सरकार २०५१ मै मन्त्री बनेका थिए । दुवै नेता एमालेमा हुँदा अशोक उपाध्यक्ष र वेदुराम पोलिटव्युरोमात्र थिए ।
यस्तै मन्त्रालयमा चित्त नबुझेपछि जनमत पार्टीका खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । उनले उद्योग मन्त्रालयको चाहना राखेका थिए ।
हार्दिक बधाई तथा शुभकामना ।