खराब अर्थतन्त्र : अर्थमन्त्री बन्न लागेका महतले सुधार्लान् त ? – Nepal Press

खराब अर्थतन्त्र : अर्थमन्त्री बन्न लागेका महतले सुधार्लान् त ?

काठमाडौं । नेपालको अर्थतन्त्र अहिले खराब अवस्थामा छ । देशमा लगानीयोग्य पूँजीको अभाव र बैंकहरुले प्रवाह गर्ने ऋणमा कमी देखिएको छ । लघुवित्तबाट ऋण लिएकाहरु तिर्न नसक्ने भनिरहेका छन् । सहकारीहरुले बचतकर्ताको पैसा फिर्ता गर्न सकेका छैनन् । उद्योगी व्यवसायीले पनि वस्तुको ७० प्रतिशतसम्म माग घटेको बताइरहेका छन् ।

इतिहासकै खराब अवस्थामा पुगेको अर्थतन्त्र उकास्ने जिम्मेवारी नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पाउँदैछन् । सरकार विस्तारमा उनी अर्थमन्त्री बन्ने पक्का छ । उनी पहिलो पटक अर्थमन्त्री बन्न लागेका हुन् ।

यसअघि महत परराष्ट्र र ऊर्जामन्त्री बनेका थिए । खराब अर्थतन्त्र सुधार गर्न पनि महतलाई सत्ता गठबन्धनबाट अर्थमन्त्री बनाउन लागिएको बुझिएको छ ।

देश उत्पादनमुखी भन्दा पनि आयातमुखी भएकाले अर्थिक अवस्था बिग्रिँदै गएको छ । व्यापार घाटा १७ प्रतिशतभन्दा बढी छ ।

डा. महत शिक्षा र योग्यताका हिसाबले अब्बल मानिन्छन् । महतले संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका हुन् । उनले सोही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसी इकोनोमिक्स) मा स्नातकोत्तर गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा नीतिगत तथा अनुसन्धानपत्रहरु प्रस्तुत गरेका डा. महतका आर्थिक विकास, शान्ति प्रक्रिया, परराष्ट्र सम्बन्धमा विभिन्न लेखहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन् ।

त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा नेपाली कांग्रेसको पहिलो जननिर्वाचित सरकारले लिएको आर्थिक नीतिमा थेसिस गरेका उनले ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिड’ नामक पुस्तक पनि लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर