महासंघमा साना तथा मझौला उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी: दिनेश श्रेष्ठ – Nepal Press

महासंघमा साना तथा मझौला उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी: दिनेश श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगरतर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।

महासंघको सबैभन्दा महत्वपूर्ण कार्य क्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही ठाउँबाट सशक्त अभियान सञ्चालन गर्न जिल्ला नगरतर्फको उपाध्यक्षमा दावेदारी दिएको बताएका हुन् ।

‘यो क्षेत्रको नेतृव गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृव गरेसरह हो भन्ने विश्वासका साथ मैले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ’, श्रेष्ठले भने ।

हाल महासंघको जिल्ला नगरतर्फको उपाध्यक्ष रहेका श्रेष्ठले फेरि यथावत स्थानमै उम्मेदवारी किन भन्ने जिज्ञासा आफ्नो लागि संवेदनशील विषय बनेको पनि बताएका छन् ।

‘देशको अर्थतन्त्र र निजी क्षेत्र नाजुक हुँदै गएको वर्तमान अवस्थामा समकालीन चेम्बर अभियन्ताहरु जुटेर जानुपर्नेमा जोड दिए पनि त्यसले सार्थकता पाएन । नयाँ नेतृव चयन गर्न सहमतिको प्रयास गर्दैगर्दा सहमति हुन नसक्नु दुःखलाग्दो विषय हो’, श्रेष्ठले भने, ‘सहकार्य र सहमतिको बाटो लिने निर्णय गरिसक्दा पनि पूर्ण रुपमा सहमति नजुटेको अवस्थामा मेरोका लागि पदभन्दा पनि वर्तमान अवस्थामा नाजुक बन्दै गएको निजी क्षेत्रको उत्थानका निम्ति पहल पैरवी गर्न एउटा सशक्त फोरम महत्वपूर्ण छ । तसर्थ उक्त सशक्त फोरम भनेको महासंघको जिल्ला नगर उद्योग वाणिज्य संघ समूहको नेतृत्व पंक्ति हो भन्ने विश्वासका साथ यथास्थानमा नै आफूलाई उभ्याउने प्रयास गरेको छु ।’

सबै जना नेतृत्वका लागि एकै पटक निर्वाचनमा जाँदा आगामी कार्यकालमा सबल नेतृत्वको अभाव हुन सक्ने कुरालाई पनि आफूले ध्यानमा राखेर साथीहरुसँगको सल्लाहमा जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिएको उनले स्पष्ट पारे ।

जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या तथा जिल्ला नगर उद्योग वाणिज्य संघको सशक्तीकरणमा जोड दिँदै प्रत्यासी श्रेष्ठले महासंघमा आफूले धेरै काम गर्न बाँकी रहेको बताए । कुनै पनि कम्पनी दर्ता गर्न संघले दिने सिफारिसदेखि आम्दानी सुनिश्चितताका साथै उत्पत्तिको प्रमाणपत्रको पैसा जिल्लाहरुले नपाउने समस्यासम्मका विषयमा आवाज उठाउने उनले प्रतिबद्धता जनाएका छन् ।

‘लगानी योग्य कोषको अभाव, अनियन्त्रित बन्दै गएको चर्को बैंक ब्याजदर तथा वित्तीय संस्थाहरुको ज्यादतीले समग्र निजी क्षेत्रको मनोबल कमजोर र संवेदनशील हुँदै गएको छ’, श्रेष्ठले भने, ‘यस्तो विषम परिस्थितिको सामना गर्दै आगामी दिनहरुमा निजी क्षेत्रको आशाको केन्द्रविन्दुको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको भूमिकालाई सशक्त बनाउन झनै सक्षम, सवल र सशक्त, क्षमतावान नेतृत्व र समूह आवश्यक पर्छ ।’

सरकारी संयन्त्रका कर्मचारीले उद्योगी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिएका श्रेष्ठले ऐनकानून उद्योगी व्यवसायीलाई नियन्त्रण गर्ने किसिमको हुने गरेको भन्दै त्यसमा सहजीकरण गर्न पनि पहल गर्ने बताए ।

छुट्टै चेम्बर ऐन, क्रेडिट ऐन, व्यवसायीको लगानी सुरक्षित हुने गरी सुरक्षित कारोबार ऐन जरुरी रहेको उनको भनाइ छ । ‘अहिले कारोबार ऐन छ । तर, त्यसका केही प्रावधानहरु गलत छन् । राज्य संयन्त्रका कर्मचारीले हामीप्रति देखाउने व्यवहार गलत छ । यसकारणले पनि व्यवसायीहरुले नचाहेर पनि गलत बाटो अपनाएर व्यवसाय गर्नुपर्ने अवस्था छ । यसको अन्त्य हुनुपर्छ’, श्रेष्ठले भने ।

करका दरहरु धेरै हुँदा चोरी पैठारी बढिरहेको श्रेष्ठको बुझाइ छ । कोरोनाकालपछि चोरी पैठारी दिनदिनै बढिरहेको सन्दर्भमा विभिन्न उपकरणका माध्यमबाट चोरी पैठारी रोक्नुपर्ने उनी बताउँछन् । ‘अहिले जुन किसिमले चोरी पैठारी बढिरहेको छ, त्यसले उद्योगी व्यवसायी समस्यामा पर्नेमात्र नभई राज्यले समेत ठूलो मात्रामा राजश्व गुमाइरहेको छ । यसलाई नियन्त्रण गर्न महासंघ नेतृत्वले पनि पहल गर्नुपर्छ’, श्रेष्ठले भने ।

सवल, सक्षम र समृद्ध जिल्ला नगर उद्योग वाणिज्य संघको निर्माण गर्ने प्रतिबद्धता पनि श्रेष्ठले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर