मामुली समस्याले निगमको जहाज दुई दिनदेखि दिल्लीमा ‘ग्राउन्डेड’, यात्रुको विजोक – Nepal Press

मामुली समस्याले निगमको जहाज दुई दिनदेखि दिल्लीमा ‘ग्राउन्डेड’, यात्रुको विजोक

गुणस्तरहीन गेस्ट हाउसमा राखिएको यात्रुको गुनासो

काठमाडौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आरए २१८ कलसाइनको जहाज मामुली समस्याका कारण २४ घन्टादेखि दिल्लीमा ग्राउन्डेड भएको छ । बिहीबार दिउँसो ४ बजे दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्नुपर्ने जहाज आजसम्म उड्न नसकेको हो ।

४ बजेको उडानका लागि हिजो दिउँसो २ बजेदेखि विमानस्थल पुगेका यात्रु निरन्तर प्रतीक्षामा बसिरहे । तर, बिहान साढे २ बजेसम्म एयरपोर्टमै पर्खाएपछि उनीहरुलाई एउटा निम्न गुणस्तरको गेस्ट हाउसमा लगेर राखिएको थियो ।
नेपाल एयरलाइन्सले ती यात्रुलाई एयरपोर्ट नजिकैको अलमाटी इन र लामोर्ड गेष्ट हाउसमा राखेको एक यात्रुले बताएका छन् ।

उनले भने, ‘बिहान नउडेपछि पाँच तारे होटलमा राख्नुपर्ने हो । तर सामान्य गेष्ट हाउसमा त्यो पनि १२ घण्टा एयरपोर्टमा कुराएरमात्र लगियो ।’

जहाजमा इन्डियन रेलवेज टुर प्याकेजअन्तर्गत नेपालको तीर्थयात्रामा (पशुपति, लुम्बिनीलगायत) हिँडेका १५० जना तीर्थयात्रीमध्ये अधिकांश वृद्धवृद्धा रहेको बुझिएको छ । अन्य ५० जना गरी करिब २०० जना यात्रु रहेको ती यात्रुले नेपाल प्रेसलाई जानकारी दिएका छन् ।

उनी भन्छन्, ‘शुक्रबार (आज) फ्लाइट हुने भनिएको छ । तर पनि विश्वस्त हुन सकेका छैनौं । नेपाल एयरलाइन्सको जहाजले अति नै दुःख दियो । अब कहिले पनि यो जहाज चढ्दिनँ ।’

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले आजै ती यात्रुहरुलाई नेपाल ल्याइने नेपाल प्रेसलाई बताइन् । उनले यात्रुको बिचल्ली नभएको र होटलमा राम्रो प्रवन्धका साथ राखिएको दाबी गरिन् ।

जहाजको पाङ्ग्रा मर्मतको काम भइरहेको र नेपालबाट पनि बिहानै अर्को जहाज दिल्ली उडिसकेको उनले जानकारी दिइन् ।
उनले भनिन्, ‘जहाजको पांग्रा मर्मत भइरहेको छ । अर्कै जहाजमा भए पनि आजै उनीहरुलाई गन्तव्यसम्म पुर्‍याउँछौं ।’

कहिलेकाहीं जहाजमा समस्या आउने हुँदा यात्रुले समस्या बुझिदिन खड्का आग्रह गर्छिन् ।

देशको एकमात्र राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको जहाजको विश्वसनीयतामै पटक पटक प्रश्न उठ्दै आएको छ । यसको पछिल्लो उदाहरण बिहीबारको दिल्ली-काठमाडौं उडान हो । विदेशी यात्रु लिएर नेपाल आउन लागेको जहाजमा समस्या भएपछि २४ घण्टादेखि अलपत्र यात्रुले नेपाल एयरलाइन्सको जहाजप्रति नकारात्मक टिप्पणी गर्न थालेका छन् ।

नेपाल एयरलाइन्सका अधिकांश जहाजमा प्राविधिक समस्या देखिने गरेको छ । कहिले इन्जिन स्टार्ट नहुने, कहिले पांग्रा पन्चर हुने त कहिले पाइलटले क्याविन क्रुमाथि गरेको दुर्व्यवहारका कारण नेपाल एयरलाइन्सको चर्चा बढी हुने गर्छ ।

उसो त अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) र युरोपेली संघ (ईयु) ले पनि देशको हवाई उडान सुरक्षामै प्रश्न गर्दै आएका छन् । आर्थिक संकटकै कारण विवादमा आउने नेपाल एयरलाइन्सका यस्त घटनाले विश्वासमा समेत संकट आउने विज्ञहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *