स्वर्णिमको ‘इन्ट्री’ ले तरगिंत तनहुँ १ : के भन्छन् कांग्रेस-एमालेका नेता ? – Nepal Press

स्वर्णिमको ‘इन्ट्री’ ले तरगिंत तनहुँ १ : के भन्छन् कांग्रेस-एमालेका नेता ?

पोखरा । नेपाली कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेकै दिन अर्थविद् डा. स्वर्णि वाग्लेले कांग्रेस परित्याग गरेर रास्वपा रोजे । रास्वपाबाट यही क्षेत्रमा उपचुनाव लड्ने गरी उनले दाबी पेश गरिसकेका छन् ।

रास्वपाबाट उम्मेदवारका लागि प्रारम्भिक सूचीमा वाग्लेसहित तीनजनाको नाम छ । तर, उनी नै उम्मेदवार बन्ने पक्कापक्की जस्तै छ ।

कांग्रेस-एमाले प्रमुख प्रतिस्पर्धी रहेको तनहुँ १ मा स्वर्णिमको ‘इन्ट्री’ को संकेतसँगै धेरैले यसपालिको उपनिर्वाचनको नतिजा फरक आउने आकलन गर्न थालेका छन् ।

निर्वाचनका लागि तयारी सुरू गरेका कांग्रेस, एमालेले उक्त निर्वाचन क्षेत्र जित्ने दाबी गर्दै आएका थिए । स्वर्णिमलाई उठाएर रास्वपाले पनि तनहुँ १ मा काउण्टर दिन लागेको छ जित्ने दाबीका साथ । कांग्रेस र एमालेको दबदबा देखिएको तनहुँ १ बाट चुनाव जितेर सीट बढाउने रास्वपाका नेताहरूको आत्मविश्वास छ ।

‘मेरा गोडामा काँडा बिझेका थिए । म ती काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन । अब स्वर्णिम दिनहरू आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ । एकको बदला तिन लिएर संसद छिर्ने सपना छ ‘, रविले बिहीबार राति सामाजिक सञ्जालमा लेखेका छन् ।

तर, कांग्रेस र एमालेका नेताहरु भने रास्वपाबाट वाग्ले उम्मेदवार बन्दैमा जित्न नसक्ने दाबी गर्छन् ।

‘स्वर्णिम विज्ञ हो भन्ने त छ तर, यहाँ चाहिँ कि कांग्रेस कि एमाले भन्ने नै हो कित्ता । त्यस्तो बीचको जनमत अन्तजस्तो प्रभावित हुन्न कि भन्ने छ,’ एमालेका एक नेताको जिकिर छ ।

कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कांग्रेस उम्मेदवार भट्टराई विगतको भोटको आधारमा पनि ‘घण्टी’ ले जित्ने आधार नभएको बताउँछन् ।

‘धेरै दलहरूबीच राम्रो उम्मेवार हुनु मतदाताका लागि राम्रो हो । विगतको भोटको आधारमा पनि घण्टीले जित्ने आधार छैन,’ भट्टराईले भने ।

‘देउवा-आरजु गिरोहको हेपाइ र अपमानमा परेको’ भन्दै अर्थविद् डा. वाग्लेले बिहीबार कांग्रेस परित्याग गरेका थिए । कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्दा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्त भएका वाग्ले गत संसदीय चुनावमा पार्टीले टिकट नदिएपछि असन्तुष्ट बनेका थिए ।

एमाले तनहुँ १ क्षेत्रीय समितिले बिहीबार उपनिर्वाचनका लागि नेकपा एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले चुनाव लड्न आकांक्षा व्यक्त गरेका पूर्वआईजीपीसहित रामबहादुर गुरुङ, मोहन विक, परितोष पौडेल, किरण धिताल र सोभा गुरुङको नाम जिल्ला कमिटीमा सिफारिस गरेको एमाले गण्डकी प्रदेश कमिटी सदस्य विष्णुभक्त सिग्देलले जानकारी दिए ।

एमाले स्रोतका अनुसार सिफारिसमध्ये सर्वेन्द्रले टिकट पाउने सम्भावना बढी छ ।

‘सर्वेन्द्रजीले टिकटका लागि केन्द्रीय स्तरमा लबिङ गरिराख्नुभएको छ, उहाँले टिकट पाउने अधिक सम्भावना देख्छु,’ एक एमाले नेता भन्छन् ।

उक्त क्षेत्रका सम्भावित उम्मेदवारको रूपमा किरण गुरुङलाई पनि हेरिएको थियो । तर, उनी आफैं चुनावी रेसबाट पछि हटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर