लुम्बिनीमा आज राष्ट्रिय मिडिया सम्मेलन – Nepal Press

लुम्बिनीमा आज राष्ट्रिय मिडिया सम्मेलन

रूपन्देही । बुद्व जन्मस्थल लुम्बिनीमा आज नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले राष्ट्रिय मिडिया सम्मेलन गर्दैछ । मिडिया सम्मेलनमा महासंघको सदस्यता शुद्धीकरणलाई प्रमुख एजेण्डाको रूपमा अगाडि सारिएको छ ।

सदस्यता शुद्धीकरण, पत्रकारका समस्या र मिडियामा देखिएको आर्थिक संकट तथा पत्रकारितासँग सम्बन्धित कानूनका विषयमा छलफल हुने महासंघका अध्यक्ष विपुल पोखरेलले बताए ।

‘महासंघमा सदस्यता शुद्धीकरणको मुद्दा सधैँ उठ्ने गरेको छ र सदस्यताको प्रारम्भ र अन्त्यसम्म शाखाको भूमिका हुन्छ’, उनले भने, ‘शाखाहरूले निर्णय लिनसक्ने हो भने केही न केही गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो ।’

अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पत्रकार र मिडियासँग सम्बन्धित कानून निर्माणका क्रममा रहेको तथा कतिपय निर्माण भइसकेकाले बनिसकेका कानूमा रहेका नराम्रा कुराहरू केलाउने र बन्ने क्रममा रहेका विधेयकलाई कसरी पत्रकार र मिडियामैत्री बनाउन सकिन्छ भन्ने विषयमा बहस गरिने अध्यक्ष पोखरेलले बताए ।

उक्त राष्ट्रिय मिडिया सम्मेलनमा ४० शाखाका अध्यक्ष, प्रदेश समितिका अध्यक्ष र महासचिव, केन्द्रीय समिति तथा सल्लाहकार, मिडिया क्षेत्रका विज्ञ, लगानीकर्ता र सरकारी निकायका प्रतिनिधि गरी २ सय जनाभन्दा बढीको सहभागिता रहने आयोजकले बताएको छ ।

सम्मेलनको उद्घाटन सञ्चारमन्त्री रेखा शर्माले गर्नेछिन् । नेपाल पत्रकार महासंघको स्थापना दिवसकै सन्दर्भ पारेर लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन गर्न लागिएको हो । यसमा विभित्र विषयमा कार्यपत्र पनि प्रस्तुत हुनेछन् ।

महासंघले बिहीबार परासीमा केन्द्रीय कमिटी बैठक र आज लुम्बिनीमा मिडिया सम्मेलन गरेर यस क्षेत्रको महत्व बढाएको पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष वसन्त गिरीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर