थ्री नेसन्स कप : उपाधिका लागि लाओससँग भिड्दै नेपाल – Nepal Press

थ्री नेसन्स कप : उपाधिका लागि लाओससँग भिड्दै नेपाल

लाओसविरुद्ध शारीरिक र मानसिक दुवैरूपमा तयार छौं : कप्तान किरण

काठमाडौ । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा आज आयोजक नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशालामा हुने फाइनल साँझ साँढे पाँच बजे सुरू हुनेछ । यसअघि, फिफा ब्रेकमा आयोजना गरिएको यस प्रतियोगिताले भने औपचारिक फिफा मान्यता नपाउने भएको छ । फिफा डे सकिसकेकाले नेपाल र लाओसबीचको फाइनल खेल अनौपचारिक मैत्रिपूर्ण हुनेछ । यो खेलले फिफा वरियतामा केही पनि असर पार्ने छैन ।

वरियतामा लाओस नेपालभन्दा १२ स्थान तल छ । नेपाल फिफा वरियताको १७५औं स्थानमा रहँदा लाओस १८७औं स्थानमा छ । वरियतामा पछि भएपनि लाओस मैदानमा नेपालको भन्दा उत्कृष्ट खेल प्रदर्शन गर्दै पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यमा छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालविरुद्ध राम्रो खेलेपनि गोल गर्न नसकेको लाओसले दोस्रो खेलमा भुटानलाई २-१ गोलको नतिजामा पराजित गरेको थियो । लिग चरणको अन्तिम खेलमा नेपालले भुटानसँग संघर्षपूर्ण बराबरी खेल्दा लाओसले फाइनल यात्रा तय तरेको थियो ।

अनौपचारिक नै भएपनि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल पुगेको लाओस आजको खेलमा नेपाललाई बलियो चुनौती पेश गर्ने लक्ष्यमा छ ।

प्रतियोगिताको पहिलो खेलमा दुई देशबीचको समय अन्तर ‘हाई अल्टिट्युड’ का कारणले उत्कृष्ट प्रदर्शन गर्न नसकेको र हारमा पनि खासै दु:ख नभएको लाओसका मुख्य प्रशिक्षक माइकल वाइसले बताए । उनले भने,‘फाइनल राम्रो गर्नेछौं । घरेलु टीमलाई चुनौती दिनेछौं,’ ।

यस्तै, ‘घरेलु मैदानको फाइदा नेपाललाई छ । तर, हाम्रो सबै खेलाडी युवा छन् । उनीहरूका लागि परीक्षा हो यो खेल र हामी फाइनलका लागि सकारात्मक रूपमा तयार छौं । फाइनल जित्यौं भने त्यसले लाओस र लाओसका खेलाडीको जीवनमा महत्वपूर्ण अर्थ राख्छ । चाहे अन्तर्राष्ट्रिय दुनियाले मतलब गरोस या नगरोस,’ वाइसले थपे ।

लाओसका कप्तान सुकाफोन वोङ्चङखामले पनि फाइनलका लागि उत्साहित रहेको बताए ।

खेलाडी पलायनले नेपाली फुटबल अहिले संघर्षपूर्ण अवस्थामा छ । राष्ट्रिय टीमका आधाभन्दा बढी नियमित सदस्यहरु अष्ट्रेलिया पलायन भइसकेका छन् । नेपालले आज मिडफिल्डर पुजन उपरकोटीलाई यसअघिका दुई खेलमा पहेँलो कार्ड पाएका कारण गुमाउने छ । भुटानसँगको खेलमा घाइते भएका फरवार्ड अञ्जन विष्टले पनि सम्भवत फाइनल गुमाउने छन् ।

टीम जस्तो अवस्थाबाट गुज्रिएपनि फाइनलका लागि नेपाल शारीरिक र मानसिक दुवैरूपमा तयार रहेको नेपालका कप्तान किरणकुमार लिम्बूले बताए ।

‘हामी शारीरिक र मानिसिक दुवैरूपमा खेलका लागि तयार छौं । नेपाली टीममा धेरै चुनौतीहरू छन् । फिफा डे मा नभएपनि हामी फाइनल पुगेका छौं । सबैको आत्मविश्वास बढाउन पनि यो खेलमा जित निकाल्नु धेरै महत्वपूर्ण छ । यो अवस्थामा फाइनल यदी हामीले जित्यौं भने सबैलाई प्रेरणा मिल्छ,’ किरणले थपे ।

यस्तै, नेपालका प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एन्नेसले पनि सकारात्मक नतिजाको अपेक्षा गरेको र सबै नयाँ खेलाडीका लागि फाइनल एक अवसरको रूपमा रहेको बताए ।

‘सकारात्क नतिजाको अपेक्षा गरेका छौं । टीममा प्राय नयाँ खेलाडी छन् । सबैको लागि यो एक अवसर जस्तै हो । त्यसैले फाइनल भनेको फाइनल हो , डराउनु पर्ने केही छनै सबै पूर्ण रुपमा तयार हुनपर्छ,’ उनले भने ।

चैत ८ देखि सुरू भएको प्रतियोगितामा नेपाल र लाओससँग भुटानको सहभागिता रहेको थियो । सिंगल राउन्ड रोबिनमा भएको प्रतियोगितामा जितविहीन रहँदै भुटान बाहिरिएको थियो । भने, नेपाल पहिलो खेलमा लाओसलाई २-० गोलको नतिजामा पराजित गर्दै र दोस्रोमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै ४ अंक जोडेर शीर्ष स्थानमा रहँदै फाइनल पुगेको थियो । लाओस भुटानलाई २-१ गोलको नतिजामा पराजित गर्दै फाइनल पुगेको थियो ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । भने, उपविजेताले ३ हजार डलर पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर