‘नेपाली सिने क्षेत्र उद्योग नै बनेको छैन’ (भिडिओ) – Nepal Press
नेपाल टक

‘नेपाली सिने क्षेत्र उद्योग नै बनेको छैन’ (भिडिओ)

निर्देशक नवीन सुब्बा भन्छन्- सिनेमामा कन्टेन्ट र फर्म हुनुपर्छ, कन्टेन्टमा केही भएपनि फर्ममा ध्यान दिन सकिएको छैन

काठमाडौं । निर्देशक नवीन सुब्बा अहिले ‘गाउँ जाने बाटो’ फिल्मको पोस्ट प्रोडक्सनमा व्यस्त छन् । आउँदो २०८० सालमै प्रदर्शन गर्ने तयारीमा छन् । साथै फेस्टिभलहरुमा पनि जाने योजनामा छन् । दुई दशकअघि ‘नुमाफुङ’ बनाएका सुब्बालाई त्यही फिल्मले स्थापित गरिदियो । त्यसपछि भने उनले फिल्म बनाएनन् । पछिल्लो फिल्म ‘गुडबाई काठमाण्डु’ थियो । तर, त्यो पनि अहिलेसम्म प्रदर्शन हुन सकेको छैन ।

फिल्म नबनाए पनि सुब्बा नेपाली सिनेमाहरुको आलोचनामा खरो उत्रन्छन् । त्यही कारण पनि आफूले सिनेमा नबनाउने, अरुले बनाउँदा गाली गर्ने भन्दै उनैमाथि प्रतिप्रश्न पनि तेर्सिने गरेको छ । तर, आफूले फिल्म नबनाएको भन्दा पनि ट्रेनिङ, फेस्टिभलमा व्यस्त भएकाले ग्यापजस्तो देखिएको सुब्बा बताउँछन् । उनै नवीन सुब्बासँग नेपाल प्रेसकर्मी नवीनकाजी राईले गरेको कुराकानीको सम्पादित अंश:

– नुमाफुङ प्रदर्शन भएको दुई दशक भयो । अहिले फर्केर हेर्दा ‘नुमाफुङ’ बनाउँदाको समय कस्तो लाग्छ ?

त्यस समय एक प्रकारको जोश थियो । सिनेमा यस्तो बन्नुपर्छ भन्ने थियो । ‘नुमाफुङ’अघि केही सिनेमा निर्माण भइसकेका थिए । ‘खाङ्ग्री’ मा काम गरिसकेको थिएँ । निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय फेस्टिभलमा जाने पहिलो सिनेमा सायद त्यही होला ।

त्यो सिनेमा इटालियन बजारमा पुग्यो । भीएचएसमा बिक्री भयो । त्यसपछि मलाई लाग्यो, हाम्रो कथाले त अन्तर्राष्ट्रिय रूपमा जानेमात्रै होइन, आर्जन गर्ने पनि क्षमता राख्दोरहेछ । त्यो वेला विभिन्न सिनेमा क्रसओभर भइरहेको समय थियो । इरानी सिनेमा सफल भइरहेको थियो । फिलिपिन्स जस्ता तेस्रो विश्वका सिनेमाहरु विश्व बजारमा गइरहेका थिए । त्यसले हामी पनि गर्न सक्छौं रहेछ भन्ने लाग्यो ।

‘नुमाफुङ’ बनाउन त्यति अप्ठ्यारो भएन । क्याप्टेन छविलालले आधार र बाँकी मैले खर्च गरेर निर्माण गर्‍यौं । २८-२९ लाखमा सकिन्छ जस्तो लागेको थियो । तर, अलि बढी खर्च भयो । तैपनि लिम्बू समुदायबाट पैसा उठाउन सकिन्छ भनेर काम गरेका थियौं । हलहरुमा एक महिना जस्तो चल्यो । तीनवटा हलमा मात्रै रिलिज भएको थियो । धरान र दमकमा भने राम्रै चल्यो । त्यो माहोलले ‘नुमाफुङ’ जस्तो फिल्म पनि चल्दोरहेछ भन्ने चाहिँ स्थापित गर्‍यो ।

– त्यो वेला राजेश हमालहरुको समय थियो । ६ महिनासम्म एकै फिल्म चल्थ्यो । नेपालको घरेलु बजारले हमालका सिनेमाहरुको खोजी गरिरहेको थियो । तपाईंले अलग धारको ‘नुमाफुङ’ बनाउनुभयो । लगानी उठ्ने आत्मविश्वास थियो त ?

उतिसाह्रो आत्मविश्वास थिएन । केही लगानी च्यारिटी गर्दा आउँछ भन्ने थियो । मौलिक कथा भएको सिनेमा थियो । अलि गाह्रो नै भयो । बजारमा स्वीकार गर्ने दर्शकको रुचिमा निकै अप्ठ्यारो पर्‍यो । तर, पछि ४२-४५ फेस्टिभलमा गयो । स्वीट्जरल्याण्ड, इटाली, फ्रान्सका केही स्थानमा स्क्रिनिङ भयो । त्यो आफैंमा उपलब्धि थियो । त्यो माहोलले नयाँ सिनेमा बनाउनेहरुमा आशा सञ्चार गरेको थियो ।

– ‘नुमाफुङ’ त प्यासनकै रुपमा बनाउनुभएको थियो होला नि ?

हो, बजार दोस्रो हो हाम्रा लागि । हाम्रा लागि सिनेमाको भाषा निर्माण गर्नेदेखि विश्व सिनेमासँग प्रतिस्पर्धा गर्ने क्षमता राख्छौं भन्ने आत्मविश्वास प्रमुख थियो ।

– दुई दशकअघि ‘नुमाफुङ’ले विशेषगरी मौलिक संस्कृतिलाई देखाएको छ । अहिले दुई दशकपछि अधिकांश नेपाली सिनेमा मौलिकता, संस्कृति, संस्कारमाथि बनिरहेको छ । कर्णालीको, सुदूरपश्चिमको कथा आएको छ । अहिले नेपाली सिनेमाले भूगोल विशेष संस्कृति, भाषा र मौलिकतालाई जसरी ल्याएको छ, त्यसलाई कसरी हेर्ने ?

गम्भीरताको सवालमा धेरै फ्याक्टरले असर गर्छ । अहिलेको माहोल एकै कुराले भएको हो भनेर भन्न सकिँदैन । ‘नुमाफुङ’मा मंगोलियन अनुहारलाई ल्याइएको थियो । नत्र त्यसताकाका फिल्ममा आर्यन अनुहारमात्रै हुन्थ्यो । हामीले नेपाली समाजमा विविधता छ, त्यसअनुसार आउनुपर्छ भनेर ‘नुमाफुङ’ बनाएका थियौं ।

बजारमा स्वीकार गर्ने दर्शकको रुचिमा निकै अप्ठ्यारो पर्‍यो । तर, पछि ४२-४५ फेस्टिभलमा गयो । स्वीट्जरल्याण्ड, इटाली, फ्रान्सका केही स्थानमा स्क्रिनिङ भयो । त्यो आफैंमा उपलब्धि थियो । त्यो माहोलले नयाँ सिनेमा बनाउनेहरुमा आशा सञ्चार गरेको थियो ।

पछिल्लो समय बजार विस्तार भएको छ । धेरै मान्छेले जुन समुदाय र संस्कृतिको हो, यसले त्यो सिनेमा हेर्न चाहन्छ । पछिल्लो चरणमा आर्यन र मंगोललाई मिसाएर कथाहरु उठाउन थालिएको छ । खस-आर्यको कथामा पनि कतै न कतै मंगोलियन राख्नैपर्ने दबाब मेकरमा छ । यो बाध्यता चाहिँ अहिलेको बजारले सृजना गरिदियो । त्यसकारण पनि अहिलेका सिनेमामा संस्कृति र भूगोल आइरहेका छन् ।

अर्कोतिर अहिले प्रविधि उपलब्ध छ । हिजो हिन्दी सिनेमा हेर्न पनि हलमा जानुपर्थ्यो । भीसीडी, डीभीडी चाहिन्थ्यो । अहिले मोबाइलको एक क्लिकमा संसारभरको सिनेमा हेर्न पाइन्छ । त्यहाँ उपलब्ध सिनेमा उसले हेरिहाल्छ । तर, उक्त सिनेमामा हेर्ने दर्शकको संस्कृति हुँदैन । यसकारण पनि अहिले संस्कृति लिएर आउने माहोल बनेको छ ।

अहिले वर्णशंकर कथा लिएर आउँछन् धेरै नेपाली सिनेमा । तर, हाम्रो समाजमा अन्तरजातीय विवाह त्यस्तो धेरै हुँदैन । तैपनि अहिले आर्यन र मंगोलको कथा ल्याउनु भनेको बजारले डिक्टेट गरिदिएको हो । खस-आर्यको मात्रै कथाले बजारलाई डिक्टेट गर्न सक्दैन । अहिले नयाँ खालको समस्यामा पसिरहेका छौं । विस्तारै त्यहाँबाट नेपाली सिनेमा बाहिर निस्कन्छ होला ।

– अहिले आइरहेका मौलिक नेपाली भनिएका सिनेमाहरु कत्तिको गम्भीर छन् ?

अहिलेको नेपाली सिनेमा बजारबाट एकदमै प्रभावित देखिन्छ । अहिले पनि मधेसमा त्यति काम हुन सकेको छैन । अहिले आइरहेका सिनेमा बजारले डिक्टेट गरिदिएको हो । अर्को चाहिँ विश्व सिनेमामा जाने भनेर व्यवसायिक सिनेमा बनाइरहेकाहरुले भनिरहेका छन् । गम्भीर सिनेमा बनाउँछु भन्नेहरुले पनि त्यही भनिरहेका छन् । अहिले यहाँ चाहिँ नेपालीहरुको आवाज मिलिरहेको छ ।

तर, विश्व बजारमा पुग्न त पहिचान चाहियो । पहिचान ल्याउनलाई भूगोल, संस्कृति र भाषा चाहियो । त्यसलाई बोक्ने मान्छे पनि चाहियो । अर्कोतिर घरेलु बजारमा नेपाली दर्शकलाई आफ्नो कथा, अनुहार र संस्कृति चाहिएको छ । भाषा चाहिएको छ । त्यसमाथि काम भइरहेको छ । तर, सिनेमामा हुनुपर्ने चाहिँ कन्टेन्ट र फर्म हो । कन्टेन्टमा केही काम भएको छ । तर, फर्ममा ध्यान नदिँदा कन्टेन्टलाई राम्रोसँग क्याप्चर गर्न सकिएको छैन । कन्टेन्टलाई फर्ममार्फत् सिनेमाको भाषामा कसरी ल्याउने भन्ने पनि महत्वपूर्ण पक्ष हो ।

‘नुमाफुङ’मा मंगोलियन अनुहारलाई ल्याइएको थियो । नत्र त्यसताकाका फिल्ममा आर्यन अनुहारमात्रै हुन्थ्यो । हामीले नेपाली समाजमा विविधता छ, त्यसअनुसार आउनुपर्छ भनेर ‘नुमाफुङ’ बनाएका थियौं ।

– सिनेमाको मौलिक चरित्र निर्माणबारे बोलिरहनुभएको हुन्छ । नेपाली सिनेमाको मौलिक चरित्र चाहिँ कस्तो हुनुपर्ने हो ?

यस्तै हुनुपर्ने भन्ने हुँदैन । निश्चित समुदायको जीवन दृष्टि, दर्शन र विश्व दृष्टिकोण निश्चित प्रकारको हुन्छ । दैन्दिन जीवन कसरी चल्छ भनेर हेर्ने दृष्टिकोण नै फरक हुन्छ । मधेस, हिमालका मान्छेको बुझाइको लेभललाई गाइड गर्ने दर्शन हुन्छ । त्यसलाई चलचित्रको भाषामा रुपान्तरण गर्नुपर्‍यो । त्यो कुरा क्यामेराले कसरी भन्छ त ?

बुझाइलाई मनोविज्ञानले गाइड गर्छ । त्यो मनोविज्ञानअनुसार क्यामेरा कसरी चल्छ त ? त्यो प्रयास भइरहेको छैन । पछिल्लो चरणमा धेरै ज्ञानहरुलाई लिएर विश्लेषण गर्दै काम निकाल्ने कोसिस संसारभर भइरहेको छ । त्यो कोसिसले यति धेरै ज्ञान निर्माण गरेको छ कि त्यसअनुसार सिनेमा बन्नुपर्‍यो । तर, सतही रुपमा मात्रै बनाउँदा संस्कृति आउने एउटा कुरा होला । तर, सिनेमाकै भाषा निर्माण गर्न सक्दैन ।

अहिलेका युवा साथीहरु सिनेमा समुदायको होइन, मेकरको हो भन्छन् । त्यति हुँदाहुँदै पनि मेकर त समुदायबाटै आउँछ । सिनेमाको भाषा निर्माण गर्न त्यसले पनि काम गर्छ । हाम्रो ज्ञान छिपछिप रुपमा छ । तर, मौलिक भाषा निर्माण गर्ने कुरामा छैन ।

सोरेन्टिनोको सिनेमा बुझ्न ब्रुटोलिसीको सिनेमा हेर्नैपर्छ । बुझ्न त कथा यही रहेछ भनेर बुझिन्छ । तर, सोरेन्टिनोको भाषा बुझ्नलाई ब्रुटोलिसीलाई हेर्नैपर्छ । उनले क्यामेरा, साउण्डको क्षमतालाई एक्सप्लोर गरेका छन् । लोकालिटीको कुरा छ । त्यो वेला इटालीमा नियोरियालिजम चलिरहेको थियो । त्यसवेला इटालियन मेकरहरु वाक्क भएका थिए । त्यसैले उनीहरुले अनेक फर्ममा काम गरे । यति धेरै काम गरे कि त्यसले सोरेन्टिनोदेखि सबैलाई सहयोग गर्‍यो । त्यसैले इटालियन सिनेमाले अहिले पनि संसारमा दबदबा राख्छ । हलिउडमा पनि इटालियन सिनेमाको ठूलो प्रभाव छ ।

अन्य देशका सिनेमाहरु अहिले विश्व बजारमा गइरहेका छन् । तर, नेपालका दीपकराज गिरी, रामबाबु गुरुङलगायतका सफल सिनेमाहरु किन विश्व बजारमा जाँदैन ? यत्ति हो, हाम्रो चलचित्रले भाषाको निर्माण गरेको छैन ।

– व्यवसायिक फिल्म बनाइरहेका मेकरहरु के भन्छन् भने दर्शकहरु हलमा मनोरञ्जन लिन जाने हो । बल्लतल्ल बिदा छुट्याएर रमाउन जान्छन्, गम्भीर हुन होइन । त्यसैले उनीहरुलाई मनोरञ्जन दिनु आफूहरुको दायित्व रहेको बताइरहेका हुन्छन् नि ?

त्यस्तो बुझाइ हुनुमा हामीलाई बजारले नै प्रशिक्षित गरेको होला । फेरि हाम्रो मक्का मदिना बलिउड भइदियो । पछिल्लो चरणमा साउथ फिल्महरु पनि छाइरहेका छन् । तर, हाम्रो सिनेमा विश्व सिनेमामा कहाँ छ ? मलेसियन, ताइवानीहरु हलिउडमै गएर फिल्म बनाइरहेका छन् । अहिले भियतनाम, मलेसिया, ताइवानबाट गएकाहरुले बनाएको सिनेमाले ओस्कर जितिरहेका छन् ।

मिसेल योहले गोल्डेन ग्लोब जितेकी थिइन् । इतिहासमै पहिला एसियन अभिनेत्रीले जितेको थियो । तर, हाम्रो नेपालमा भने एउटा गीतको नृत्यको ठूलो चर्चा भयो । ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’को चर्चै भएन । तर, ‘नाटुनाटु’ गीतको अधिक चर्चा भयो । किनभने हाम्रो मक्का मदिना भारत भयो । यो गलत हो ।

अहिलेका युवा साथीहरु सिनेमा समुदायको होइन, मेकरको हो भन्छन् । त्यति हुँदाहुँदै पनि मेकर त समुदायबाटै आउँछ । सिनेमाको भाषा निर्माण गर्न त्यसले पनि काम गर्छ । हाम्रो ज्ञान छिपछिप रुपमा छ । तर, मौलिक भाषा निर्माण गर्ने कुरामा छैन ।

सिनेमाले जीवनबाट भाग्न होइन, जिउन सिकाउँछ । हामी भने जीवनबाट भाग्ने कुरा गरिरहेका छौं । मान्छेले दुई घण्टा सिनेमा हेर्दा मनोरञ्जन लिए भन्छन् । गम्भीर सिनेमा हेर्दा पनि त मनोरञ्जन नै हुन्छ । तपाईंको क्षमता कहाँ हो, के कुराले मनोरञ्जन दिन्छ, तपाईंमा भर पर्छ । एउटा पाठकलाई पारिजातको उपन्यास पढ्दा आनन्द हुने, अर्को पाठकलाई प्रकाश कोविदको । तपाईं कहाँनेरको पाठक हो, त्यसले आनन्दलाई निक्र्योल गर्छ ।

– तर, नेपाली सिनेमा उद्योगमा राम्रो काम दक्ष र सृजनशील प्राविधिककै खाँचो छ भन्छन् ?

यो उद्योग नै बनेको छैन । यसलाई म क्षेत्रमात्रै मान्छु । हिरोले ५० लाख लिन्छ भन्छन् । तर, पोस्टर बनाउनेलाई हामी कति पैसा दिन्छौं ? पहिलो खुड्किलो त पोस्टर बनाउने होला नि ? उनीहरुलाई बाँच्नै समस्या हुन्छ । अहिले डान्सरहरुको परिश्रमिकको कुराले निर्माताहरु आन्दोलन गरिरहेका छन् । तर, उनीहरु एउटा मान्छेलाई ५० लाख दिन्छन् । यति धेरै नलेऊ, पच्चीस लाख लेऊ, पच्चीस लाख प्राविधिकमा खर्च गरौं भन्दा के जान्छ ? यदि प्राविधिकहरुले बाँच्न अर्को काम गर्नु नपर्ने भए सम्पूर्ण सृजनात्मकता र ऊर्जा सिनेमामा खर्च गर्थे होलान् ।

राम्रो प्रोडक्सन, साउण्ड डिजाइनर छैन । प्रप्स मास्टर छैन । फोली आर्टिस्ट छैन । सबै सिनेमामा हलिउडको फोली काटेर हाल्छन् । फोली कलाकारले सिनेमालाई फरक बनाउँछन् । तर, नेपालमा जुन फिल्म हेरे पनि एउटै लाग्ने फोली आर्टिस्ट नभएर पनि हो । त्यसमाथि गहिरो गरी छलफल हुँदैन यहाँ ।

हामीले वर्कसप राख्दा सबैले हाँसेर उडाउँथे । अहिले सबैले वर्कसप राख्छन् । एकजना बाहिर पढेर आएको कलाकारले यहाँ काम गर्न खोजेका थिए । वर्कसपमा सहभागी पनि भए । तर, वर्कसपमा चुरोट तान्ने र चिया खानेबाहेक काम हुँदैन भनेर गुनासो गरेका थिए । रिसर्च गरौं, टेक्स्टले के भन्छ, अध्ययन गरौं भनेर छलफलै हुँदैन । वर्कसप पनि चिया खाने जंक्सन भएको छ । यी यावत कारणले गर्दा हामी हिजो जहाँ थियौं, अहिले पनि त्यहीं छौं । अहिले अलिकति बजार विस्तार भएको छ । हिजो ५ करोडको बजार अहिले २५ करोडको भएको छ । तर, पैसाको भ्यालुएसन गर्दा बराबर नै होला ।

एकजना बाहिर पढेर आएको कलाकारले यहाँ काम गर्न खोजेका थिए । वर्कसपमा सहभागी पनि भए । तर, वर्कसपमा चुरोट तान्ने र चिया खानेबाहेक काम हुँदैन भनेर गुनासो गरेका थिए । रिसर्च गरौं, टेक्स्टले के भन्छ, अध्ययन गरौं भनेर छलफलै हुँदैन ।

– नवीन सुब्बा आफू चाहिँ फिल्म बनाउँदैन, अरुको आलोचनामात्रै गरेर बस्छन् भन्ने आरोप छ नि तपाईंमाथि ?

हामी विश्व सिनेमासँग प्रतिस्पर्धा गरिरहेका छौं । अहिले भर्खरै सार्वजनिक भएको आईक्युको रिसर्चमा नेपाल अन्तिम जस्तै थियो । मान्छेले त दाँज्छ नि ! जीडीपी, सामाजिक इन्डेक्सको विकास हेरेर दाँज्छ । त्यसैले म संलग्न भएको क्षेत्र कहाँ छ, मलाई थाहा छ । त्यो बोध भएकाले मैले आलोचना गरेको हुँ ।

बीचमा ट्रेनिङहरु गराएँ । फेस्टिभलमा लागें । त्यसले अलिकति ग्याप जस्तो भयो । तर, मेरो एउटा सिनेमादेखि अर्को सिनेमामा ग्रोथ छ । अघिल्लोमा के समस्या थियो । के विषय थियो भनेर हेर्दा ग्रोथ देख्छु । अहिले सामाजिक परिवर्तन, जात प्रथामाथि काम गर्न खोजिरहेको छु ।

जात प्रथामाथि काम गर्दा मेरो क्यामेरा कसरी चल्नुपर्छ, सटको डिजाइन कस्तो हुनुपर्छ, त्यसको फिलोसोफी कस्तो हुन्छ, त्यसबारे ख्याल गर्नुपर्ने हुन्छ । जात प्रथाका लागि मनुस्मृति पढ्नैपर्‍यो । अन्य दस्तावेज पढ्नैपर्‍यो । ६–७ महिना लाग्ला । मूलधारको सिनेमा बनाउने साथीहरुले त झनै मेहनत गर्नुपर्छ ।

मीनभामले ६-७ वर्ष लगाएर फिल्म बनाउँछ । अहिले निकै लामो प्रभाव पार्ने सिनेमा बनाइरहेको छ । ६ महिना लगाएर स्क्रिप्ट एनलाइसिस गरिन्छ । हामीकहाँ स्क्रिप्ट एनलाइसिसको प्रक्रिया नै छैन । स्क्रिप्ट एनलाइसिसको पनि मेथड हुन्छ । जापानिज गर्ने कि, रसियन गर्ने कि इटालियन गर्ने ? त्यस्तो काम यहाँ गरिँदैन । अनि आलोचना गर्नुपरेन त ?

– नयाँ पुस्तालाई कसरी हेरिरहनुभएको छ ?

नयाँ पुस्ताले काम गरिरहेको छ । निकै राम्रो क्षमता राख्नेहरु अन्डरग्राउण्ड भएर काम गरिरहेका छन् । बीचमा फिल्म स्कुल, ट्रेनिङ इन्स्टिच्युटहरु आए । तर, ती के भए भने सुरुसुरुमा कराँते सिक्दा खेलाडीले भित्तामा हानिरहेको हुन्छ । बिजुलीको पोलमा हानिरहेको हुन्छ । झाडीमा हाम फालिरहेको हुन्छ । अहिले यस्तो एरोगेन्ट पुस्ता आएको छ । तर, जुनसुकै क्षेत्रमा अनुशासन हुन्छ, मर्यादा र नियम हुन्छन् । त्यो छैन भने आफूले निर्माण गर्ने हो नि त !

– अन्त्यमा, तपाईंको सवालमा फिल्म निर्माणमा चाहिँ किन यति धेरै ग्याप भयो ?

मैले बीचमा सिरिजहरुमा काम गरें । व्यक्तिगत रुपमा पनि हाम्रो क्षेत्रकै कुरा गरिरहेको छु । यसरी चिन्ता नगर्ने भए फटाफट फिल्म बनाउन सकिन्छ होला । मुख्य कुरा त सिनेमामा मेरो ग्रोथ भएको छ कि छैन भन्ने हो । ‘नुमाफुङ’ बनाउँदा जस्तो बनाइरहेको थिएँ, अहिले फरक जरुर बनाइरहेको छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर