तनहुँ १ मा रास्वपाबाट उम्मेदवार बन्न स्वर्णिमसहित ३ जनाको दाबी पेश, चितवनमा रवि – Nepal Press

तनहुँ १ मा रास्वपाबाट उम्मेदवार बन्न स्वर्णिमसहित ३ जनाको दाबी पेश, चितवनमा रवि

बारा २ मा पनि २ जना आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० को उपचुनावको लागि तीन वटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको छ ।

पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनमा भाग लिने उम्मेदवारहरूको विवरण सार्वजनिक गरिएको हो । उम्मेदवारीका लागि दाबी पेश गरिएकाहरूमा तनहुँ १ बाट डा. स्वर्णिम वाग्लेसहित तीनजना छन् । त्यहाँ ईश्वर लामिछाने र डा. रुपक विक घिमिरे रहेका छन् । वाग्ले आजैमात्र कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका थिए ।

त्यस्तै बारा २ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ ।

चितवन २ मा भने अध्यक्ष रवि लामिछानेको एकल दाबी छ ।

राप्रपाको विधानअनुसार कुनै पनि क्षेत्रबाट चुनाव लड्नका निम्ति पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्ने हुन्छ । यदि एकभन्दा बढी आकांक्षी देखिएको खण्डमा ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार टुंगो लगाउने प्रावधान छ । यसमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरुले भोट हाल्छन् ।

यदि सम्बन्धित निर्वाचन क्षेत्रमा कुल मतदाताको ०.१ प्रतिशतभन्दा कम पार्टी सदस्य रहेको अवस्थामा चाहीँ केन्द्रीय समितिले नै निर्णय गर्न सक्छ । चितवनमा रविको एकल दाबी रहेकोले त्यहाँ प्राइमरी इलेक्सन गरिरहनु नपर्ने भएको छ ।

तर, तनहुँ १ र बारा २ मा भने एकभन्दा बढी आकांक्षी देखिएकाले प्राइमरी इलेक्सनबाट जानुपर्ने एक नेताले बताए ।


प्रतिक्रिया

One thought on “तनहुँ १ मा रास्वपाबाट उम्मेदवार बन्न स्वर्णिमसहित ३ जनाको दाबी पेश, चितवनमा रवि

  1. पत्रुकार महोदय !! रास्वपा र राप्रपा त छुट्याउनोस । होड लिने चक्करमा असुद्ध र भ्रामक समाचार नारख्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर