कांग्रेस छोडेका स्वर्णिमले रोजे रास्वपा, तनहुँ १ मा उम्मेदवार बन्न दाबी पेश – Nepal Press

कांग्रेस छोडेका स्वर्णिमले रोजे रास्वपा, तनहुँ १ मा उम्मेदवार बन्न दाबी पेश

गगन थापाका विश्वास पात्र अब रवि लामिछानेको सहयात्री

काठमाडौं । कांग्रेसजनलाई स्तब्ध बनाउँदै पार्टी परित्यागको घोषणा गरेका युवा अर्थशास्त्री डा. स्वणिम वाग्लेले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका छन् । यदि कुनै ठूलो व्यवधान नआएमा उनले रास्वपाबाट तनहुँ १ मा उपचुनाव लड्ने समेत निश्चित भएको छ ।

कांग्रेसभित्रका अब्बल अर्थशास्त्रीका रुपमा कहलिएका डा. वाग्लेको आगमन रास्वपाका लागि निकै ठूलो ‘बुस्ट अप’ हो । संसदीय चुनावयता रास्वपाको लोकप्रियता केही खस्किएको आभास भइरहेका बेला स्वर्णिमले पार्टीपंतिमा नयाँ उत्साहको सञ्चार गरिदिएको छ । वाग्लेले तनहुँ १ बाट चुनाव जितेर पार्टीलाई संसदमा पार्टीको एक सिट बढाउनेमा पनि नेताहरु ढुक्क छन् ।

यसअघि संसदीय चुनावमा रास्वपाले स्वर्णिमलाई काठमाडौंबाटै उम्मेदवार बनाउन प्रयास गरेको थियो । त्यसबेला कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा रहेर काम गरिरहेका उनी रास्वपाको अफरमा आकर्षित भएनन् । चुनावमा रास्वपाले उत्साहजनक परिणाम ल्याएसँगै उनले मनस्थिति बदलेका हुन् ।

स्वर्णिमले पार्टी परित्याग गर्ने क्रममा केही नेताहरुलाई लेखेको सन्देशले कांग्रेसभित्र ठूलै तरंग ल्याइदिएको छ । उनले कांग्रेसमा ‘देउवा-आरजु गिरोहको हेपाई र अपमानमा परेको’ भन्दै तिक्तता पोखेका छन् । यद्यपि स्वर्णिमलाई देउवाले अवसरै नदिएका भने होइनन् । देउवा प्रधानमन्त्री बन्दा नै उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्त भएका थिए । तर, गत संसदीय चुनावमा पार्टीले टिकट नदिएपछि वाग्ले असन्तुष्ट बनेका हुन् ।

चितवन १ बाट चुनाव लड्नका लागि वाग्लेले पार्टीमा दरखास्त दिएका थिए । तर, उनलाई पन्छाएर अर्का चर्चित अर्थशास्त्री डा. विश्व पौडेललाई कांग्रेसले उम्मेदवार बनायो । यसले वाग्लेमा देउवाप्रति इगो बढेको बुझिन्छ ।

वाग्लेले २०८० सालको सुरुवातसँगै आफू नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने समेत उनले बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आम नैराश्य चिरेर यो देश बन्छ भन्ने आशा जगाउने हो, बनाउने नै हो । जय नेपाल ।’

वाग्लेले आफ्नो आगामी कदमबारे केही खुलाएका छैनन् । तर, उनले अब रवि लामिछानेसँगको सहयात्रा रोजिसकेका छन् । रास्वपासँग समझदारी भइसकेपश्चात नै उनी कांग्रेसबाट अलग भएका हुन् ।

लामै समयदेखि डा. वाग्ले लामिछानेसँग संवादमा थिए । उनलाई उपचुनावमा उम्मेदवार बनाउने गरी पार्टीमा भित्र्याउने तयारी गरिएको रास्वपा स्रोतले पुष्टि गर्यो ।

‘उहाँसँग समझदारी भइसकेको छ, धेरैपटकको छलफलपछि रास्वपामा आउन तयार हुनुभएको छ,’ स्रोतले भन्यो ।
स्रोतका अनुसार स्वर्णिमलाई औपचारिक कार्यक्रम गरेर पार्टीमा प्रवेश भने गराइने छैन । उनले अनलाइनबाटै सदस्यता लिएर पार्टीमा आवद्ध भएको बुझिएको छ । साथै, उनले पार्टीको विधानअनुसार तनहुँ १ बाट चुनाव लड्नका लागि आफ्नो दावी प्रस्तुत गरिसकेका छन् ।

राप्रपाको विधानअनुसार कुनै पनि क्षेत्रबाट चुनाव लड्नका निम्ति पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्ने हुन्छ । यदि एकभन्दा बढी आकांक्षी देखिएको खण्डमा ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार टुंगो लगाउने प्रावधान छ । यसमा सम्वन्धित क्षेत्रका पार्टी सदस्यहरुले भोट हाल्छन् ।

यदि सम्वन्धित निर्वाचन क्षेत्रमा कुल मतदाताको ०.१ प्रतिशतभन्दा कम पार्टी सदस्य रहेको अवस्थामा चाहीँ केन्द्रीय समितिले नै निर्णय गर्न सक्छ । तनहुँ १ को हकमा भने प्राइमरी इलेक्सनबाटै जानुपर्ने देखिएको एक नेताले बताए ।
‘अरु पनि आकांक्षीहरु अगाडि आइरहेका छन्, त्यसैले प्राइमरी इलेक्सनबाट जानुपर्ने हुन सक्छ,’ ती नेताले भने । आजै रास्वपाले सबै आकांक्षीहरुको नाम सार्वजनिक गर्दैछ ।

को हुन् स्वर्णिम वाग्ले ?

वि.सं २०३१ मा गोरखाको बुंकोटमा जन्मिएका हुन् स्वर्णिम । उनले विश्व बैंकमा वरिष्ठ अर्थशास्त्रीको रूपमा लामो समय काम गरेका थिए ।

वाग्लेले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को एशियाप्रशान्त क्षेत्रको प्रमुख आर्थिक सल्लाहकारको रूपमा पनि काम गरेका छन् । करिब ७० वटा देशको भ्रमण अनुभव पनि उनीसँग छ ।

गोरखामा जन्मेपनि वाग्लेको परिवार करिब ४० वर्षअघि चितवनको रत्ननगरमा बसाइ सरेका थिए । तर उनले बुढानिलकण्ठ स्कुलमा पढेका हुन् । उनी एसएसलीमा बोर्ड सेकेन्ड भएका थिए । उनले ओ लेभल र ए लेभल पनि बुढानिलकण्ठ स्कुलबाटै गरेका हुन् । त्यसपछि लण्डनको स्कुल अफ इकोनोमीमा छात्रवृत्तिमा पढेर तीन वर्षे ब्याचलर डिग्री गरे । अमेरिकाको हावर्ड विश्वविद्यालयबाट उने इन्टरनेसनल डेभलपमेन्टमा मास्टर्स गरेका छन् । अष्ट्रेलियन नेसनल युनिभर्सिटीबाट उनले पिएचडी गरेका हुन् ।

डा. वाग्लेले सुशील कोइराला प्रधानमन्त्री हुँदा राष्टिय योजना आयोगको सदस्यमा नियुक्ती पाएका थिए । पुष्पकमल दाहाल प्रचण्डको पालामा उनी दोस्रोपटक योजना आयोगको सदस्य बनेका थिए भने अघिल्लो पटक शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए ।

१३ औँ महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएपछि देउवाले वाग्लेलाई महासमिति सदस्यमा समेत मनोनित गरेका थिए । २०७०, २०७४ को निर्वाचन र २०७९ को स्थानीय तहको निर्वाचनका क्रममा पार्टीको घोषणपत्र तयार गर्न उनी सक्रिय थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर