आउँदा दिनमा खराब कर्जा अझै बढ्न सक्ने बैंकर्स संघको चेतावनी – Nepal Press

आउँदा दिनमा खराब कर्जा अझै बढ्न सक्ने बैंकर्स संघको चेतावनी

काठमाडौं । बाणिज्य बैंकहरूमा आगामी वर्ष खराब कर्जा बढ्नसक्नेतर्फ बैंकर्स संघले चेतावनी दिएको छ ।

बैंकर्स संघका अध्यक्ष सुनिल केसीले केही क्षेत्रको लगानी उठाउन समस्या देखिएकाले अहिलेको तुलनामा आगामी वर्ष खराब कर्जा बढ्ने संकेत गरे । बिहीबार बैंकर्स संघद्वारा आयोजित पत्रकार भेटघाटमा उनले कित्ताकाट रोकिँदा घरजग्गा कारोबार कम भएको र यसले खराब कर्जामा दबाब सिर्जना गरेको बताएका छन् ।

अहिले खराब कर्जा औसत २.४९ प्रतिशत छ । यस्तै पोखरा र लुम्बिनीमा एयरपोर्ट बनेकै कारण पर्यटन क्षेत्रको लगानी फस्टाउने आशले लगानी गरेपनि अहिले त्यही क्षेत्रको लगानीमा समस्या भएको केसीको भनाई छ ।

साना तथा मझौला उद्योग, निर्माण क्षेत्र, पोल्ट्रिफार्मलगायतको ऋण डिफल्ट हुने सम्भावना देखाउँदै नोक्सानको सम्भावना भने कम रहेको उनले बताए । अहिले बैंकहरूले दिएको ऋणको ७० प्रतिशत धितो भएकाले बैंक नोक्सानमा नजाने पत्रकार भेटघाटमा जानकारी गराइयो ।

एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले अहिले सबैभन्दा बढी मारमा निर्माण क्षेत्र भएकाले निर्माण क्षेत्रको भुक्तानी नहुँदा बैंकको खराब कर्जा बढ्ने सुनाए ।

उनले भने, ‘चौथो त्रैमाससम्म असहज अवस्थामा रह्यौ भने सरकारले अहिले दिएको सहुलियतलाई निरन्तरता दिनुपर्छ । निर्माण क्षेत्रको भुक्तानी सरकारले समयमै गर्‍यो भने त्यो रकम बजारमा आउने र खराब कर्जाको व्यवस्थापनमा सजिलो हुन्छ ।’

यस्तै बैकर्स संघले अहिलेको ब्याजदर उच्च नभएको दाबी पनि गरेको छ । नेपालमा सामान्यतया संकटको बेलामा (माहामारी, प्राकृतिका प्रकोप) मात्र व्याजदर एकल अंकमा हुने गरेको संघको प्रष्टोक्ति छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर