शिक्षा नीति परिमार्जन गर्न अब चुक्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

शिक्षा नीति परिमार्जन गर्न अब चुक्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको लागि कृषि, वन तथा पशुपालनसम्बन्धी विज्ञको आवश्यकता दिन-प्रतिदिन बढ्दो भएपनि विद्यार्थीको संख्या क्रमिक रूपमा घट्दै जानु गम्भीर चिन्ता बनेको बताएका छन्।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै एक विश्वविद्यालयको मात्र नभई यो समस्या अन्य विश्वविद्यालयहरूमा समेत देखिएकोले कारण पहिचान गरी समस्या निर्मुल गर्न नेपालको शिक्षा नीतिमा नै परिमार्जन गर्नुपर्ने बताए ।

उनले भने, ‘अहिलेको समय उद्यमशीलताको भएको हुँदा अनुसन्धानहरूबाट नविनतम् प्रविधिको विकास गरेर उत्पादन र उत्पादकत्व वृद्धि गरी किसानको जीवनस्तर सुधार गर्नुपर्ने अहिलेको टट्कारो आवश्यकतालाई विश्वविद्यालयले विशेष ध्यान दिनु पर्ने भएको छ र त्यसमा विश्वविद्यालय कुनै पनि हालतमा चुक्नु हुँदैन ।’

विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय बीचमा रहेको जग्गासम्बन्धी विवाद करिब टुङ्गोमा पुगेको स्थिति रहेकोले सरकारबाट आवश्यक पर्ने थप सहयोग विश्वविद्यालयलाई पुर्‍याउने बताए ।

उनले भने, ‘समायोजनमा आउनु भएका शिक्षक तथा कर्मचारीको दायित्वका सम्बन्धमा बहुपक्षीय छलफल गरी समाधान गर्नुपर्ने हुन्छ । थप आंगिक क्याम्पसहरूको संख्यामा वृद्धि भएसँगै दरबन्दी व्यवस्थापनमा चाप परेका मैले बुझेको छु । यस सम्बन्धमा विगतमा गरिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण अध्ययनलाई आधार मानेर के कति दरबन्दी आवश्यक पर्ने त्यसको यकिन गरी पहल गर्न आवश्यक रहेको छ ।’

देशको कृषि उत्पादनमा देखिएका चुनौतीलाई विश्वविद्यालयले आवश्यक अध्ययन गरी यसका वैज्ञानिक, सामाजिक एवं आर्थिक पक्षहरुको विश्लेषण गरी मुलुकमा जनतालाई कृषि पेशा र व्यवसायमा सुदृढीकरण गर्ने जिम्मेवारी विश्वविद्यालयमा रहेको प्रधानमन्त्रीको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर