जनगणनामा हिन्दू धर्मावलम्बी ह्वात्तै घटेर क्रिश्चियन बढेकै हुन् त ? – Nepal Press

जनगणनामा हिन्दू धर्मावलम्बी ह्वात्तै घटेर क्रिश्चियन बढेकै हुन् त ?

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले गत शुक्रबार जनगणना २०७८ को राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्‍यो । तर, जनगणनाको पूर्ण तथ्यांक भने सार्वजनिक गरिएको छैन । जातजाति, भाषा र धर्मसँग सम्बन्धित तथ्यांकहरु उल्लेख नहुँदा प्रतिवेदन नै अधुरो बनेको टिप्पणीहरु भइरहेका छन् ।

केही उजुरी परेको कारण जातजाति, भाषा र धर्मको तथ्यांक अहिले सार्वजनिक नगरिएको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख डा. हेमराज रेग्मीले नेपालप्रेसलाई बताए ।

उनले भने, ‘प्रमाणीकरणको काम सकिसकेपछि सबै सार्वजनिक हुन्छ । विवाद त होइन, तर केही सरोकारवालाहरुको उजुरी परेका छन् । उजुरी सल्टाएरमात्र निकाल्छौं ।’

रेग्मीका अनुसार आफ्नो संस्कृति, भाषा, धर्म फरक भएकाले सच्याइ पाउँ भनेर ७० निवेदन परेका छन् ।

कार्यालयले प्रारम्भिक नतिजा सार्वजनिक गरेको एक वर्षपछि आधिकारिक जनगणनाको तथ्यांक सार्वजनिक गरेको कार्यालयले अझै पनि नेपालमा कुन धर्म मान्ने कति छन् भन्ने तथ्यांक सार्वजनिक गर्न नगर्दा भ्रम फैलिएको छ ।

यसै साता नेपालमा आएका भारतको हिन्दूवादी संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का प्रचार विभाग प्रमुख सुनिल अम्बेडकरले नेपालका केही प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँगको अनौपचारिक भेटघाटमा नेपालमा हिन्दूको जनसंख्या ८१ प्रतिशतबाट घटेर ६३ मा झरेको सूचना आफूहरुले पाएको सुनाएका थिए ।

उनले क्रिश्चियन बढेर १४ प्रतिशत पुगेको र बुद्धिष्ट घटेर ६ प्रतिशत पुगेको सूचना आफूहरुले पाएको बताए पनि यसको आधिकारिकता पुष्टि नभएको भनेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समेत विज्ञप्ति नै जारी गरेर हिन्दू, बौद्ध र किराँत धर्म मान्नेहरुको संख्या निकै घटेको सुनेको भन्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । के उनले भने जस्तै भएको हो त ?

नेपालमा हिन्दू, बौद्ध, मुस्लिम, किराँत, किश्चियन, जैनलगायत विविध धर्म मान्नेहरु बसोबास गर्छन् । २०६८ को जनगणनाअनुसार नेपालमा सबैभन्दा बढी हिन्दू ८१.३ प्रतिशत थिए । यस्तै बौद्ध ९.४ प्रतिशत, इस्लाम ४.३, किराँत ३.० प्रतिशत र ईसाई धर्म मान्ने १.४ प्रतिशत रहेको त्यसबेलाको जनगणना प्रतिवेदनले देखाएको थियो ।

तर, पछिल्लो समयमा नेपालमा पैसाको आडमा धर्म परिवर्तनको लहर चलेको र इसाइ धर्म मान्नेहरु निकै बढेको चर्चा हुने गरेको छ ।

यस विषयमा हामीले राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेलाई सोध्यौं । उनले अहिले हिन्दू धर्म मान्ने जनसंख्या ह्वात्तै घटेको र ईसाई धर्म मान्ने जनसंख्या ह्वात्तै बढेको भन्ने चर्चा पूरै भ्रामक र गलत रहेको बताए । यस्तो भ्रमलाई चिर्न चाँडै तथ्यांक सार्वजनिक गर्ने तयारीमा लाग्ने उनको भनाइ छ ।

लामिछानेले नेपालप्रेससँग भने, ‘ढिलो भए पनि अब केही उजुरी सल्टाउने वित्तिकै निकालिहाल्छौं । गणना गर्दा अलिकति घटबढ त भइहाल्छ । तर, त्यस्तो ठूलो परिवर्तन छैन । धर्म, जाति, भाषा भनेको त्यसरी ह्वात्तै घटबढ हुने विषय नै होइन ।’

हल्ला चलेअनुसार आमूल परिवर्तन हुने तथ्यांक नआउने उनको भनाइ छ । २०६८ सालको जनगणनामा ईसाई धर्मावलम्बी १.४ प्रतिशत थिए । त्यसलाई १४ प्रतिशत भनेर हल्ला फिँजाइएको लामिछानेले बताए ।

उनी भन्छन्, ‘राप्रपा नेपालले विज्ञप्ति निकालेर के हो आधिकारिक धारणा भन्नु ठीकै हो । अब निकाल्न ढिलो भएको कारण जातजाति धर्मसँग जोडिएको कुरा भयो । एकैचोटी निकालौं भनेर राखेको हो हामीले ।’

उनले उदाहरण दिँदै थपे, ‘विदेश गएको जनसंख्या ८० लाख छ भन्छन् । तर, तथ्यांकमा त देखिएन । २२ लाखमात्र आयो । वास्तविक त त्यही हो नि ! प्रत्येक घरबाट गएको छ भनेर एउटाले हल्ला गर्दिन्छन् । अर्कोले ५० लाख भन्दिछ । अनि आएको त कसैले हिसाब गर्दैन । जाने-आउने बराबर हुन्छ ।’

मान्छेले अनुमान गरेर सुनियोजित रुपमा हल्ला फिजाइएको निर्देशक लामिछाने बताउँछन् ।

लामिछानेका अनुसार अब नतिजा निकाल्न बाँकी तीनवटा विषय छन् । अब बढीमा दुई-अढाई महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यालयको तयारी छ ।

‘छलफल टुंगियो भने त छिटो पनि हुन्छ, हामी द्रुत गतिमा सुरु गरिहाल्छौं’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *