८ मध्ये तीन मन्त्रीको अडानमा शेखर-गगन समूह – Nepal Press

८ मध्ये तीन मन्त्रीको अडानमा शेखर-गगन समूह

काठमाडौं । गठबन्धनको भागबन्डामा कांग्रेसले पाएको ८ मन्त्रालयमध्ये इतर समूहले ३ मन्त्री दाबी गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकपछि शेखर-गगन समूहको छुट्टै छलफलपछि तीन मन्त्रीको अडान राखेको हो ।

बिहीबार बिहान सानेपामा बसेको कार्यसम्पादन बैठकले मन्त्री छान्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । बैठकपछि प्रवक्ता प्रकाशरण महतले भने, ‘सभापतिजीले सबैसँग छलफल र सुझाव लिनुभएको छ । त्यहीअनुसार निर्णय लिनुहुन्छ ।’

सोही अनुसार पार्टी सभापति देउवाले आफूनिकट नेताहरूसँग आन्तरिक छलफल गरिरहेका छन् । देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा पठाउने लगभग सहमति बनिसकेको छ ।

यस्तै, आफ्नो पक्षलाई तीन मन्त्रीको बटमलाइनसहित छलफलको निष्कर्षबारे डा. शेखर कोइरालाले सभापति देउवासँग पनि छलफल गर्ने भएका छन् ।

इतर समूहको बैठकमा कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे, अर्जुननसिंह केसीलगायत नेता सहभागी थिए । कोइराला आफैं सरकारमा जान इच्छुक भएपनि पार्टीबाट नेतृत्व गरेर जान नपाउने भएपछि उनी ब्याक भएको बताइएको छ ।

पार्टीका अधिकांश शीर्ष नेता मन्त्रीको आकांक्षी भएकाले देउवालाई मन्त्री छान्न सकस परिरहेको छ । गठबन्धन दलहरूले पार्टीभित्र आन्तरिक समस्या समाधान गरेर मन्त्रीको नाम पठाए आजै सरकारलाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर