चीनको कडा चेतावनी लत्त्याउँदै अमेरिका पुगिन् ताइवान राष्ट्रपति वेङ – Nepal Press

चीनको कडा चेतावनी लत्त्याउँदै अमेरिका पुगिन् ताइवान राष्ट्रपति वेङ

काठमाडौं । चीनको कडा चेतावनी लत्त्याउँदै ताइवानकी राष्ट्रपति साइ इन वेङ अमेरिकी शहर न्युयोर्क पुगेकी छन् । सेन्ट्रल अमेरिकाको भ्रमणको क्रममा साइले अमेरिकी शहर न्युयोर्कलाई ट्रान्जिटको रुपमा प्रयोग गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सेन्ट्रल अमेरिकाको भ्रमणपश्चात उनले अमेरिकी संसदका सभामुख केभिन मेकक्यार्थीसँग भेटवार्ता गर्ने सम्भावना छ । सोही सम्भावनालाई मध्यनजर गर्दै बुधबार वेङ र मेकक्यार्थीको भेटवार्ता भएमा चीन कडा प्रतिकारमा उत्रने चीनको ताइवान मामिला कार्यालयका प्रवक्ता झू फेंग्लियनले चेतावनी दिएका थिए ।

चीनको उक्त चेतावनीपश्चात अमेरिकाले वेङको अमेरिका अवतरण सामान्य रहेको र यसलाई गम्भीर विषय बनाउन नपर्ने धारणा व्यक्त गरेको थियो । अमेरिकाले वेङको अवतरणलाई ‘नर्मल अनइभेन्टफुल ट्रान्जिट’ अर्थात सामान्य र अन्य प्रायोजनरहित ट्रान्जिटको रुपमा व्याख्या गरेको बीबीसीले जनाएको छ ।

बुधबार न्युयोर्क पुगेकी वेङलाई अमेरिकामा समर्थकहरुले भव्य स्वागत गरेका थिए । अमेरिकी सञ्चारमाध्यमहरुले वेङको सेन्ट्रल अमेरिका भ्रमणपश्चात लस एन्जलसमा अमेरिकी राजनीतिक नेतासँग भेटवार्ता हुनसक्ने जनाएका छन् ।

ताइवानलाई आफ्नो क्षेत्रको रूपमा दाबी गर्ने चीनले बारम्बार अमेरिकी अधिकारीहरूलाई वेङसँग भेटवार्ता नगर्न चेतावनी दिँदै आएको छ । ताइवान राष्ट्रपति र अमेरिकी अधिकारीहरुको भेटवार्ताले चीनको एक चीन नीतिमा गम्भीर आघात पुग्ने चीनको मान्यता छ ।

गतवर्ष म्याकार्थीको पूर्ववर्ती न्यान्सी पेलोसीले ताइवान पुगेर वेङसँग भेटवार्ता गरेसँगै ताइवान मामिलामा चीन र अमेरिकाबीचको विवाद चरम विन्दुमा पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *