रोचक बन्दै बारा-२, उपेन्द्रविरुद्ध राजेन्द्र अघि सार्दै लोसपा – Nepal Press

रोचक बन्दै बारा-२, उपेन्द्रविरुद्ध राजेन्द्र अघि सार्दै लोसपा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले वैशाख १० मा हुने उपनिर्वाचनमा बारा २ वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने भएको छ।

मंसिर ४ मा भएको निर्वाचनमा सर्लाही २ बाट पराजित भएका महतोलाई लोसपाले उम्मेदवार बनाउने तयारी गरेको हो। लोसपा एक नेताले भने, ‘हामीले महतोजीलाई उम्मेदवार बन्नुपर्‍यो भनेका छौँ। उहाँ उपनिर्वाचन लड्न तयार हुनुहुन्छ।’

बारा २ मा रोचक चुनावी प्रतिस्पर्धा हुने देखिएको ती नेताले बताए। उनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई टक्कर दिन महतो त्यहाँ चुनाव लड्न लागेको बताए।

जसपा अध्यक्ष यादव सत्ता गठबन्धनको साथ लिने प्रयासमा छन्। उनले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीको साथ पाउने सम्भावना छ।

तर, सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले पूर्वमन्त्री तथा माओवादी नेता शिवचन्द्र कुशवाहलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कुशवाह पनि गत निर्वाचनमा जसपाका रामसहाय यादवसँग करिब तीन सय मतले मात्रै परिजित भएका थिए।

एमाले नेता बलवीर चौधरी र पुरुषोत्तम पाैडेल सो क्षेत्रका सम्भावित उम्मेदवार हुन् । बलवीर गत चुनावमा प्रदेशसभामा सोही क्षेत्रमा स्वतन्त्र उम्मेदवारसँग पराजित भएका थिए ।

पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पौडेल पनि मुख्य दाबेदार मानिएका छन् । उनलाई उम्मेदवार बनाउन स्थानीय नेताहरूले शीर्ष नेतृत्वलाई सुझाव दिएका छन् ।

पौडेलले साबिक क्षेत्र नम्बर ३ बाट जितेका थिए । पछिल्लो पटक उनी क्षेत्र नम्बर १ मा दाबेदार रहे पनि अच्युत मैनालीले टिकट पाएका कारण चुनाव लड्न पाएनन् । दक्षिण क्षेत्रमा परिचित र मधेसी समुदायले मन पराउने नेता भएका कारण पौडेललाई उम्मेदवार बनाएर परिणाम निकाल्न सकिने स्थानीय नेताहरूको भनाइ छ ।

एमालेले उम्मेवार टुंग्याउन सचिवालय बैठक बोलाएको छ।

एमालेले उपनिर्वाचन हुने तीनै क्षेत्रमा एक्लै प्रतिस्पर्धा गर्ने तयारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर